आठौं वार्षिकोत्सवको अवसरमा सिभिल बैंकद्धारा विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लामा सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै, धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ-क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ, बेशीशहर, गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरुबाट सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई जनही ५००० रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ । साथै, बैंकले वार्षिकोत्सवकै दिनमा पशुपति क्षेत्रमा ३०० वटा बृक्षारोपण गरी उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी पनि वहन गरेको थियो । साथै कमलादी शाखा, काठमाडाैंमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताए ।

मुक्तिनाथ विकास बैंकद्धारा कुमारीटोल सुधार समितिलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई सहयोग गरेको छ । कुमारी मन्दिर परिसरमा सिसिटिभी जडानका लागि ७५ हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो । उक्त चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीलाई प्रदान गरेको छ । हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित रहेको छ ।

नगरपालिकाले चलायो नगर बस, अरु यातायातभन्दा २५ प्रतिशत सस्तो

डोटी । शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले शुभारम्भ गरे । नगरपालिकाले खरिद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ । नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल ५६ लाख ६० हजारको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावली अनुसार ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरिद गरिएको छ । यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । रासस