भाषाविज्ञ पोखरेलको ८६ वर्षको उमेरमा निधन

विराटनगर । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महिनादेखि अस्वथ्य पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उनको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए । खस जातिको इतिहास, १०० वर्ष र नेपाली वृहत् शव्दकोष आदि उनका चर्चित कृतिहरु रहेका छन् । बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा मकवानपुर चिसापानीगढीमा विसं १९९० भाद्र कृष्णाष्टमीका दिन स्व पोखरेलको जन्म भएको हो । रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास, पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदिजस्ता उपनामबाट पनि उहाँलाई नेपाली साहित्यका क्षेत्रमा चिन्ने गरिएको छ । स्व पोखरेल कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी विसं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न थिए । विसं २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गर्नु भएका पोखरेलले विसं २०४६ मा अवकाश लिएका थिए । उनी विसं २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएका थिए । पोखरेल विभिन्न भाषिक तथा साहित्यिक संस्थामा आबद्ध रहेका थिए । उनको पार्थिव शरीरमा स्थानीय साहित्यकार, कवि, पत्रकार, समाजसेवीले श्रद्धा अपर्ण गरिरहेका छन् । उनको एक छोरा र दुई छोरी रहेका छन् । उनको आजै स्थानीय परोपकार घाटमा दाहसंस्कार गरिने बताइएको छ ।

चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ । सितोरियो कराँते संघ रौतहटको आयोजनामा फागुन १७ र १८ गते चन्द्रनिगाहपुरको तुलसीलाल स्मृती रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । नेपालका सातै प्रदेश, भारतका बिभिन्न प्रान्त, भुटान र बंगलादेशका खेलाडीले बिभिन्न तौल समुहमा प्रतिष्पर्धा गर्ने सितोरियो कराँते संघ रौतहटले जनाएको छ । । २४ स्वर्ण, २४ रजत र ४८ कास्य पदकका लागि चार देशका खेलाडी बीच प्रतिष्पर्धा हुनेछ । सातै प्रदेश, भारत, भुटान र बंगलादेशका खेलाडीको लागि आवास र खानाको ब्यवस्था भईसकेको आयोजकले जानकारी दिएको छ । प्रदेश नं २ मै पहिलो पटक आयोजना हुन लागेको अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगितामा आयोजक टिम सहित नेपालका ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा चन्द्रपुर नगरपालिका मुख्य सहयोगीका रुपमा रहेको छ भने टेन्सवर्ग बियर सह प्रायोजक रहेको आयोजक संस्थाले जानकारी दिएको छ । १७ गते बिहानबाट सुरु हुने र १८ गते साँझ सम्पन्न हुने प्रतियोगिताम चार देशका खेलाडी तथा निर्णायक गरेर करिव चार सय जनाको सहभागिता रहने छ । प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट हुने एक–एक जनालाई नगद पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजक नेपाल सितोरियो कराँते संघ रौतहटले जनाएको छ ।

काठमाडौँ महानगरले थाल्यो अनुगमन, बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी कार्वाहीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो । कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेका छन् । ती सहकारीलाई कार्वाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय तोकिएको छ । लिखित सहमति गर्दा पनि रकम फिर्ता नगर्ने सहकारीका विवरणसहित प्रहरीसमक्ष उजुरी गरी थप कार्वाहीका लागि प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले जानकारी गराए । न्युरोड, पुतलिसडक र बानेश्वर क्षेत्रका कम पूँजी भएका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको पाइएको पनि उनको भनाइ थियो । न्युनमत १० हजारदेखि एक करोडसम्म बचतकर्ताको रकम फिर्ता नगरेको अनुगमनको क्रममा पाइएको पनि विभागले जनाएको छ । कामपामा रहेका सहकारी धेरैले विवरण समेत नबुझाएकाले अनुगमन गरी कानूनी प्रक्रियामा शुरु गरिएको हो । हाल कामपा भित्र एक हजार ८५६ सहकारी संस्था छन् । पहिलो छ महीनामा सहकारी संस्थालाई वार्षिक साधारणसभा समयमै गर्न र विवरण अद्यावधिक गर्न सूचित गरिएको र विभिन्न सूचनामार्फत सहकारी, कानून, प्रचलित मूल्य–मान्यता र सिद्धान्तलाई कार्यान्वयन गर्न पटक÷पटक सूचना समेत सार्वजनिक गरे पनि धेरैले अझै विवरणसमेत बुझाएका छैनन् । कामपाअन्तर्गतका सहकारीमध्ये ४८० सहकारीले मात्र विवरण बुझाएका छन् । प्रमुख ढकालका अनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानुनी व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो । अनुगमनका क्रममा सहकारीका पाँच वर्षसम्मका सबै हिसाबकिताब हेरिनाका साथै आवश्यकताअनुसार निर्देशन दिने, सुधार नभए सञ्चालकलाई कार्वाही गर्ने र सहकारी खारेजीसम्मको कदम चालिने विभागको योजना छ । ‘सहकारी संस्था ठगी गर्ने संस्था हो र बचत फिर्ता दिन सक्दैन’ भन्ने जुन छाप परेको छ त्यसलाई चिर्न प्रभावकारी अनुगमन गरिएको हो, उनले भने । अनुगमनकै क्रममा साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि कामपाकोे छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो । एक हजार ८५६ सहकारीलाई घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारण ठगी गरेको भन्दै सहकारी विरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट भइसकेको विभागले जनाएको छ । निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाइने प्रमुख ढकालले बताए । हाल कामपामा रहेका सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ । कामपाका सहकारीमा करीब दुई लाख सदस्य जस्मा आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब सात अर्ब शेयर, करीब ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ । सबै सहकारीलाई दैनिकरुपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरुपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्ने छ । रासस