धरहरा पुनर्निर्माणः ‘राफ्ट फाउन्डेसन’ को काम हुदै
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन् ।धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको हाे । श्रेष्ठले निर्माण कार्य तालिकाअनुसार नै अघि बढेको र निर्माणको क्रममा स्थानीय समुदायबाट अझ सहयोग प्राप्त भए कार्य गर्न सहज हुने उनकाे भनाइ रहेकाे छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अवलोनकनका क्रममा धरहरा पुनर्निर्माण कार्य सन्तोषजनक गतिमा अघि बढेको पाएको बताए। उनले प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि सबैभन्दा बेसी फाइदा स्थानीय समुदायलाई नै हुने भएकोले पुनर्निर्माणमा सहयोगको अपेक्षा रहेको जानकारी दिए ।
कोरिया सरकारद्वारा नेपाली युवा श्रमिक सम्मानित
काठमाडौँ । दक्षिण कोरियामा कार्यरत एक नेपाली श्रमिक कोरियाको छनान नगरपालिकाबाट सम्मानित भएका छन् । सामाजिक तथा परोपकारी कार्यमा उदाहरणीय कार्य गरेको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगर पालिकाले यम श्रेष्ठलाई सम्मान गरेको हो । इपिएस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका श्रेष्ठ करिब एक दशकदेखि दक्षिण कोरियामा कार्यरत छन् । धुलिखेल नपा शंखुका श्रेष्ठ कोरियामा रहेका बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनुका साथै साँस्कृतिक परोपकारी कार्यहरुमा कोरिया प्रवेश गरे देखिनै सकृय रूपमा लाग्दै आएका छन् । उनको संयोजकत्वमा २०७२ सालको महाभुकम्प, बाढी पहिरो, आगलागी तथा हावाहुरी जस्ता प्रकोपहरुमा आर्थिक सहयोग संकलन गरी पीडितलाई राहत उपलब्ध गराउने कार्य सम्पन्न भएका छन् । घातक रोगबाट पिडित गरीब असहायहरुलाई सहयोग उपलब्ध गराउने कार्यमा समेत उनको सक्रिय भूमिका रहेको छ । पछिल्लो पटक कालिकोटमा निर्माण भइरहेको रास्कोट सामुदायिक हस्पिटल निर्माणको लागि कोरियाबाट करिब ४४ लाख रुपैयाँ सहयोग संकलन गरेर हस्तान्तरण समेत गरेका थिए । वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिखका दिन कोरियाको छनान शहरमा छनान नगरपालिका र छनान माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रवासी बहुसाँस्कृतिक मेला तथा नवौँ छनान वैदेशिक महोत्सव २०१९ मा उनी सम्मानित भएका हुन् ।
हिमालयन बैंकद्धारा त्रिवि शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्य स्वरुप उक्त विश्राम कक्ष निर्माण गरेकोे हो । अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी यो कक्ष निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्तरुपमा आज एक समाहरोहका बीच उक्त विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे ।