सन् २०२२ को विश्वकपमा ३२ टिम सहभागी हुने, ‘फिफाले ३६ करोड डलर कमाउने’
लुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ । टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ । कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको छ । फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्केटिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ । रासस/एएफपी
नवलपुरका हुरी पीडितलाई सांसद विनोद चौधरीद्वारा सय बण्डल जस्तापाता सहयोग
काठमाडौं । नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपालीकाँग्रेसका सांसद एवम् चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले हुरी र असिना पानीले क्षति पुर्याएको क्षेत्रमा सहयोग उपलब्ध गराएको हो । देवचुली क्षेत्रमा जेठ ७ र ८ गतेको हुरी तथा असिनापानीले दुई सयभन्दा धेरै घरको छानो उडाएर पुर्याएको छ । ‘नवलपुरमा आएको हुरी तथा असिनापानीले आमनागरिकमा पु¥याएको असरबाट मर्माहत भएको छु । नवलपुरका वासिन्दा र जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु’ सांसद चौधरीले पठाएको सन्देशमा उल्लेख छ । विहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको हो । नगरपालिकाको अध्ययन टोलीले हुरीपीडितका लागि तत्काल सबैभन्दा आवश्यक जस्तापाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीकालागि जस्तापाताको व्यवस्था मिलाएका हुन् ।
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक,जेठ २४ गतेदेखि देशभर प्रदर्शन हुने
काठमाडौं । चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै जादा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यही जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको चलचित्र ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ । चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ । किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ । चलचित्रका मुख्य निर्माता हस्त लिबांग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् । यतिवेला चलचित्रका मुख्य निर्माता हस्त लिबांग र किशोर सुब्बा पूर्वाञ्चलका विभिन्न स्थानहरुमा चलचित्र प्रमोशनका लागि पुगेका छन् । सुब्बाले यसअघि चलचित्र खुर्पा, खुकुरी, मिसन नेपाल लगायतका चलचित्र निर्देशन गरीसकेका छन् ।