स्वालम्बन लघुवित्तले गर्यो महिला कर्मचारीको व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिम
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीहरुका लागि एक दिने महिला कर्मचारी व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिमको आयोजना गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न तालिममा वित्तीय संस्थाबाट संचालित लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी एवं गुणस्तरीय कायम गरी दीगो रुपमा कार्यक्रम संचालन गर्न महिला कर्मचारीको विशिष्ट भूमिका हुने भएको र कर्मचारीको व्यक्तिगत बृत्ति विकासमा समेत टेवा पुग्ने हेतुले तालिमको आयोजना गरिएको हो । तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाको अघिल्लो बर्षको प्रगति र आगामी बर्षको कार्ययोजना सम्बन्धमा जानकारी गराउँदै यस्ता किसिमका तालिमले संस्थाको लक्ष्य अनुरुप कार्यक्रमलाई अगाडि बढाउन सकारात्मक सोचको विकास हुने र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । तालिममा आफ्नो मन्तव्य राख्दै सहभागीले तालिमबाट सिकेका कुराले कार्यक्षेत्रमा गई कार्यक्रमलाई अगाडि बढाउन थप हौसला मिलेको बताउँदै संस्थाको लक्ष्य अनुरुप कार्य गर्न यस किसिमका उत्प्रेरणामूलक तालिमले ठूलो सहयोग पुग्ने बताए । तालिममा व्यक्तित्व विकास, सकारात्मक सोचको विकास र उत्प्रेरणा सम्बन्धी सीप सम्बन्धमा विभिन्न श्रोत व्यक्तिहरुबाट कक्षा संचालन गरिएको थियो । तालिममा केन्द्रीय कार्यालय लगायत विभिन्न शाखा/उपशाखा कार्यालयका ७४ जना महिला कर्मचारीको सहभागिता रहेको थियो ।
श्रीकृष्ण जन्माष्टमीमा जनता बैंकले बाँड्यो ग्लुकोज पानी
काठमाडौँ । जनता बैंकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते पाटन कृष्णमन्दिर र बुढानिलकण्ठस्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो । उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्धपानी र ग्लुकोज पानी उपलब्ध गराइएको बैंकले जनाएको छ । सोही अवसरमा बैंकले हरेकृष्णधाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाखनगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । हरेकृष्णधामले हरेक बर्ष कृष्ण जन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन(प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।
एक देशको प्रयोगशालामा गरेको परीक्षणलाई अर्को देशमा मान्यता दिने सहमतिको स्वागत
काठमाडौँ । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपालभारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरण बीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति गरेका हुन् । भारतीय सरकारको फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डियाको हालैको निर्णय अनुसार नेपालको नेशनल फुड एण्ड फिड ल्याब्रोटरी काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरी मान्यता दिने सम्बन्धी व्यवस्था नेपालबाट भारततर्फ निकासी भईरहेको वस्तुहरु मध्ये करिब २४ वस्तुहरु खाद्य पदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज सरल र सुविधायुक्त प्रवेश पाउने कदमको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । यसबाट गैर भन्सार अवरोध लगायत प्रकृयागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पुर्याउने आशा एवम् विश्वास छ-चेम्बरले विज्ञप्तीमा उल्लेख गरेको छ । सो निर्णय अनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, इन्स्त्याण्ड नुडल्स, विस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्डहोलमिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथामासुजन्यपदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजाफलफूल र तरकारी छन् । जारी गरिएको परिपत्रमा नेपालको ‘नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज’ काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एकवर्ष भित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनु पर्ने कुरा समेत उल्लेख गरेको छ । प्रत्येक भन्सार बिन्दुमा आधुनिक क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोशशालामा स्थानपनामा समेत जोड दिई सो सुद्धढ, व्यवस्थित र सरल हुने आशा एवम् विश्वास लिएको चेम्बरले जनाएको छ ।