‘टिभिएस दशैं दौड’ भव्य, सबै पुरस्कार नेपाल सेनाका खेलाडीकाे पाेल्टामा

काठमाडौं । ‘टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड’काठमाडौंमा सम्पन्न भएको छ । उक्त रमाइलो दौडको प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका गजेन्द्र राई विजयी भएका हुन् । रमाइलो दौड विहान ८ बजे नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो । दौडको प्रारम्भ गर्दैं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले भने छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ । चर्चित कलाकार निखिल उप्रेती र प्रदिप खड्का सहभागि रहेको उक्त दौडमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । रमाइलो दौड प्रतियोगितामा सहाभगी भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरिदमा एक हजार रुपैयाँ नगद छुट दिइने उपहार प्रदान गरिएको थियो भनें प्रथम, द्वितीय र तृतीय स्थानहासिल गरेका प्रतियोगीहरुलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । साे कार्यक्रममा बोल्दै शंकर ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको रमाइलो दौडलाई सफल बनाउनमा उपस्थिति सबैमा कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनका लागि थप हौसला प्रदान गर्दैं ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै अगाडी बढ्ने बताएका छन् । यस्तो भयो टिभिएसको 'दशैंको दौड' यस्तो भयो टिभिएसको 'दशैंको दौड' Publiée par Bikashnews.com sur Samedi 14 septembre 2019

बिहानैदेखि इन्द्रदह मेलामा दर्शनार्थीको घुइँचो

काठमाडौं । भक्तपुरको दूधपाटीस्थित इन्द्रदह अर्थात् सिद्ध पोखरीमा भव्य मेला लागेको छ । पूर्णिमाको दिन बिहानैदेखि इन्द्रदहमा स्थान गरी इन्द्रको पूजा गर्नेहरुको घुइँचो लागेको छ ।भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें’बाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई शुक्रबार साँझ खटमा राखेर नगर परिक्रमा गरी इन्द्रदह अर्थात् सिद्ध पोखरी पुर्याएपछि मेला सुरु भएको थियो । भाद्र शुक्ल चतुर्थीका साँझ दिपावली गरी रातभरी मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट स्नान गरी इन्द्रको पूजा गर्ने परम्परा रहेको छ । पूर्णिमाको दिन मेला लाग्ने र आजै साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी यात्रा गर्दै द्यों छेमा भित्राएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ । द्वापर युगमा इन्द्रले कृष्णसँग रिसाएर ग्वालालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा इन्द्रदहमा मेला लाग्ने गरेको भनाइ छ । स्थानीयवासी इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएकोे हो । रासस

आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आरधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।