फुटबलमा राष्ट्रसेवक टोली विजयी
सुर्खेत । चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ । आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो । जनप्रतिनिधिहरुको नेतृत्व गरेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्वको टोलीलाई राष्ट्रसेवकहरुको नेतृत्व गरेका प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीको टोली ३–७ गोल हानेर विजयी भएको थियो । जनप्रतिनिधि टोली भने ३ गोलमै सीमित भएको थियो । त्यसैबीच, कुर्ची दौड प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । संविधान दिवसको अवसरमा कर्णालीका ७९ स्थानीय तहमा पनि घैँटोफोड, रस्सी तानातान, कपर्दी, भलिबल, बाघचाल, बुद्धिचाल, ब्याडमिन्टनजस्ता विभिन्न खेल आयोजना गरेर खुशी मनाइएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताएकी हुन् । “दिवसको पूर्वसन्ध्यामा आज प्रदेशभरि हरेकको घरआँगनमा दिपावली गरिएको छ”, मन्त्री केसीले भने, “यसले नेपाली जनताको त्याग, साहस र बलिदानको उपलब्धिस्वरुप प्राप्त भएको नेपालको संविधान २०७२, को महत्व र खुशीलाई दर्शाएको छ ।” भोलि बिहान ७ः०० बजे प्रदेशभरि एकैचोटी सांस्कृतिक झाँकीसहित र्याली गर्नुका साथै विविध कार्यक्रम गरेर संविधान दिवस भव्यताका साथ मनाउने कार्यक्रम रहेको उनले बताए । रासस
संविधान दिवसको अवसरमा कामना सेवाको सरसफाई अभियान
काठमाडौँ । कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान,२०७६ आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने बैंकले विश्वास लिएको छ । संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रंगोली प्रतियोगिता समेत आयोजना गरिएको जनाएको छ ।
भाटभटेनीले प्रहरी प्रभाव कोटेश्वरलाई उपलब्ध गरायो सीसी क्यामरा
काठमाडौँ । भाटभटेनी सुपर मार्केटले काठमाडौँ प्रहरी परिसरलाई अत्याधुनिक पीटीजेड र फोरके क्यामरा उपलब्ध गराएको छ । भाटभटेनी सुपरमार्केटका निर्देशक कल्याण गुरुङले ती क्यामरा हस्तान्तरण गरेका हुन् । भाटभटेनीले उपलब्ध गराएको क्यामरा मध्ये नौ लाख बराबरको ९ वटा क्यामरा प्रहरी प्रभाग कोटेश्वरलाई उपलब्ध गराइएको छ । ती क्यामरा बिगटेक अफिस सिस्टमले प्रहरीसँगको समन्वयमा जडान गरेको छ । बिगटेक अफिस सिस्टमका चेयरम्यान हरिराम रिमालका अनुसार कोटेश्वरदेखि पेप्सीकोटातर्फ काठमाडौँ महानगर ३२ नम्बर वडा कार्यालयसम्म, काटेश्वरदेखि तीनकुने चोकसम्म र कोटेश्वर देखि बालकुमारी पुलसम्म अत्याधुनिक सीसी क्यामरा जडान गरिएको छ । सीसी क्यामरा जडानपछि सवारी दुर्घटना न्यूनीकरण र घटनाको अनुसन्धानमा प्रहरीलाई सहज हुने काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जनाएका छन् ।