निर्माणधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा

डडेलधुरा । डडेलधुरामा निर्माणाधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको सो कभर्डहल बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत वर्ष साउन महिनामा वर्षातका कारण भत्किएको थियो । गत आवमा रु १० लाख बराबरको कर्भडहल निर्माणको काम भएको भए पनि चालू आवमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकूद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताएका छन् । कभर्डहलसँगै जोडिएको जिल्ला खेलकूद विकास समितिको कार्यालय पनि भत्किए पछि एक वर्ष यतादेखि भाडाको घरमा सञ्चालन भइरहेको छ । खेल मैदानबाट एक किलोमिटरको दूरीमा कार्यालय हुँदा खेल खेलाउनका लागि समस्या हुने गरेको जिल्ला खेलकूद विकास समितिका भलिबल प्रशिक्षक नरेश थापाले बताए । अहिले इन्डोरमै गेम सञ्चालन गर्ने समयमा डडेल्धुरामा कभर्डहल नहुँदा वर्षातको समयमा जिल्लामा खेलकूद गतिविधि शून्य रहेको उनले बताएका हुन् । कभर्डहल नहुँदा वर्षातको समयमा इन्डोरका साथै भलिबल गेम हुन सकेका छैनन् । नेपाली सेनाको स्वामित्वमा रहेको टँुडिखेलबाहेक अन्य खेलमैदान नहुँदा खेलकूद गतिविधिमा कमी आएको छ । त्यसैले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधारको विकास गर्नका लागि तीनवटै सरकारले पहल गर्नु पर्ने आवश्यकता रहेको छ । रासस

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको सानातथा लघुबैंकिङ्ग, पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । स्व. मगरका छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त ईटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा एक लाख त्रिचालिस हजार सात सय चौरासी रुपैंयाको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

हनुमानढोकामा ठड्याइयो लिङ्गोः शुरु भयो इन्द्रजात्रा

काठमाडौं । यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा (यँया) शुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको लिङ्गो आज बिहान ९ः१५ बजेको साइतमा ठड्याइएको सो कार्यमा संलग्न मानन्धर समुदायले जनाएको छ । आजैदेखि योसिँको मुनि सानो फलामको खोरमा ऐरावत हात्तीमा विराजमान स्वर्गका राजा देवराज इन्द्रलाई पनि प्रदर्शन गरिएको छ । किंवदन्तीअनुसार इन्द्रकी आमाले यँलागा तृतीयाका दिन वसुन्धरादेवीको व्रत बस्न नेपालमण्डलमा ‘पालिजा स्वाँ’ (पारिजातको फूल) र छिक्छिक बुँ (एक फूलको कोपिलां) लिएर आउन छोरा इन्द्रलाई अह्राइन् । सोअनुसार इन्द्रले नेपालमण्डलस्थित मरुहिटीको पश्चिमपट्टि एक घरको बगैँचामा घरधनीसँग नसोधी पारिजातको फूल चोरेर लैजान लाग्दा येँलाथ्व द्वादशीका दिन आज उपाकू यात्रामा रहेका मानिसले इन्द्रलाई पक्रेर तान्त्रिक विधिबाट पञ्चसूत्रले बाँधेर राखी सजाय दिएका थिए । यसरी, छोरा धेरै समयसम्म नफर्केको देखेर इन्द्रकी आमा स्वयं मत्र्यलोक अर्थात् नेपालमण्डलमा आइन् । काठमाडौँमा धान फलाउन हुुस्सु पठाइदिने र पितृहरुलाई स्वर्ग लगी तारिदिने वचन दिने शर्तमा उनलाई मुक्त गरिएको थियो । इन्द्रजात्राको प्रारम्भसँगै नेपालमण्डलका केही चोक र गल्लीका साथै लिङ्गो ठ्ड्याइएको स्थान तथा काष्ठमडपको दायाँ, वंघःमा उच्चस्थानमा सबैले देख्ने गरी इन्द्रलाई पञ्चसूत्रले बाँधेर खोरभित्र कैद गरी प्रदर्शन गरिराख्ने प्रचलन छ । काठमाडौँमा इन्द्रजात्रा शुरु भएसँगै कुमारी, गणेश तथा भैरवको रथयात्रा, मजिपातका रञ्जित समुदायबाट लाखे तथा झ्यालिन्चा नाच, सव भक्कु नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । देशका विभिन्न पर्व तथा जात्रामध्ये इन्द्रजात्रा बूढाबूढीदेखि केटाकेटीसम्मले रमाउने निकै रमाइलो जात्राका रुपमा लिइन्छ । लिङ्गो ठड्याउने जात्रा अर्थात् इन्द्रध्वजोत्थान हेर्न हनुमानढोका वरपर ठूलो सङ्ख्यामा मानिसको भीड लागेको थियो । त्यस अवसरमा गुरुजुको पल्टनले तोप पड्काउनाका साथै विशेष धून बजाएको थियो । रासस