ट्राफिक प्रहरीद्वारा सहायताकक्ष सञ्चालन गरिने
बाँके । महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी रूपमै यात्रु सहायता केन्द्र रहनेछन् । यस्तै, चप्परगौडी, पुष्पलालचोक र कोहलपुर चौराहामा अस्थायी यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । ट्राफिक प्रहरी, सामुदायिक तथा जनपद प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधि ट्राफिक भोलियन्टरका रूपमा नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा खटिने प्रहरी निरीक्षक बमले बताएका छन् । “चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि यात्रु सहायताकक्ष सञ्चालन गर्न लागिएको हो”, प्रहरी निरीक्षक बमले भने, “भीडभाड हुनेस्थल र टिकट काउन्टरमा हुनसक्ने ठगी नियन्त्रण गर्न सहायताकक्ष सञ्चालन गर्न लागेका हौँ ।” जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने पनि उनले बताए । ट्राफिक सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य रुपमा भए÷नभएको समेत जाँच गरिने प्रहरी निरीक्षक बमको भनाइ छ । “दुई चालक भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिनेछ”, उनले भने । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट अनिवार्य टाँस गर्न लगाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले बताएका छन् । उनका अनुसार विभिन्न नाका तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिनेछ । रासस
सनराइज बैंकको १२औं वार्षिकोत्सवमा सरसफाई कार्यक्रम
काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । “सफा रहौं सफा राखौं-हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का, कावाश्वती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाहरुबाट सरसफाइ कार्यक्रम गरिएको हो । बंैकले असोज महिनालाई १२ औं वार्षिक उत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।
सप्तरीको तिलाठी कोइलाडीको बस्ती निर्माणमा जनता बैंकको सहयोग
काठमाडौँ । बि.संं. २०७४ साउनमा तराईमा बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी हस्तान्तरण गरिएको छ । उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रालि (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् । उक्त मुसहर बस्तिका जनताहरुको आबास पुनःनिर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’ खाता संचालन गरिएको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।