आजबाट श्रीस्वस्थानी व्रतकथा मेला शुरु

साँखु  । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बस्ने तथा उनको कथा भन्रे र  सुन्ने गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गत शनिबार (पुस १९) गते पत्रकार सम्मेलन गरी पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिएका थिए । पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए । समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै यो वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभावी रूपमा पैसा लिने गरेकाले समितिले यस वर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापनको अनुगमन अनुगमन गर्ने भएको छ । महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको तथा ट्राफिकको उचित व्यवस्थापन गरेको जानकारी दिएको छ । साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले सुरक्षाका लागि मेलामा ७० जना युनिर्फम तथा अन्य सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको बताए । तीर्थयात्रीको सुरक्षालाई थप मजबुत बनाउनका सिसीटिभी फुटेजबाट पनि अवलोकन गरिने पन्थीले जानकारी दिए । यस्तो छ स्वस्थानीको महिमा राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेकाे कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ । राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणी बहालभित्र पनि छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय पवन श्रेष्ठले बताए । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ । “मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतबन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो”, श्रेष्ठले भने । मेला मूल आयोजक समितिका अनुसार यस वर्ष भक्तजनको सुविधा तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनुका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्यवस्थित बनाउने तयारी भएको छ । रासस

साढे ६ अर्ब लागतमा बुटवलमा खानेपानी आयोजना बन्दै, चार वर्षमा सक्ने लक्ष्य

काठमाडौं । खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्सा खोलामा बाँध तथा ईन्टेक निर्माण गरी उक्त खोलाको पानीलाई प्रशोधन (ट्रिटमेन्ट) गरेर बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा खानेपानी सेवा विस्तार गर्न लागेको हो । संस्थानले पुरै बुटवल शहरका लागि खानेपानी पुर्याउने उद्देश्यले आयोजनाको ठेक्का आव्हान गरेको छ । पहिलो प्याकेज अन्तर्गत १० र २० इन्चको डि.आई. पाइप खरिद कार्य भईसकेको छ भने दोस्रो प्याकेज अन्तर्गत खोलाको बाँध निर्माण र पाइप जडानको ठेक्का सम्झौता कार्य हुँदैछ । तेस्रो प्याकेजमा पाईप जडान गरी बिछ्याउने र ट्रस पुल बनाउने कार्यको ठेक्का आव्हान भएको छ । झुम्सा खोलाबाट प्रतिदिन ३ करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी आयोजना प्रमुख बुद्धरत्न महर्जनले जानकारी दिए । बुटवल खानेपानी शुद्धीकरण आयोजनाको नामबाट दुईवटा मुख्य कामहरु अघि बढाईएको छ । यो आयोजनाको कूल लागत ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ रहेको आयोजना प्रमुख महर्जनले बताएका छन् । पहिलो काम अन्तर्गत झुम्सा खोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाईप बिछ्याएर पानी ल्याउने त्यस्तै दोस्रो आयोजनाको काम अन्तर्गत बुटवल उप महानगरपालिका वडा नं. ३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने, रिजर्भवायर पानी ट्यांकी बनाउने र पानी वितरणका कामहरु गर्ने रहेको छ । बुटवल शहरमा करिब ६ सय १२ किलोमिटर डिआई पाईप तथा एचडिपीईं पाईप विस्तार गर्ने र नौ वटा ओभरहेड ट्यांकी निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए । अबको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजनाको काम अघि बढाईएको छ । बुटवल उपमहानगरपालिकाका सबै वडाहरुमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजनाको डिजाईन तयार गरिएको छ । करिब ३ लाख जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संस्थानले जनाएको छ । संस्थानको बुटवल खानेपानी शुद्धीकरण आयोजना पहिलो ठूलो आयोजना हो भने दोस्रोमा पोखराको मर्दी खोला खानेपानी आयोजना रहेको छ । पोखरामा मर्दी खोला आयोजनाको निर्माण कार्य धमाधम चलिरहेको छ । यसअघि मर्दी खोला आयोजनाको शिलान्यास खानेपानी मन्त्री बिना मगरले गरेकी थिइन् । सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र शत प्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य छ । सोही लक्ष्य हासिल गर्न खानेपानी मन्त्रालयले देशैभरि साना ठूला गरी खानेपानीका आयोजनाहरुलाई अघि बढाउँदैछ । के हो झुम्सा खानेपानी आयोजना ? वि.सं २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै बिलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । बुटवल बासीहरुलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार आयोजना अघि सारिएको थियो । बुटवलको खानेपानी समस्या समाधान गर्न भन्दै २२ वर्षअघि झुम्सा खानेपानी आयोजना सुरु गरिएको थियो । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ । २२ वर्षअघि तत्कालीन मेयर सुर्यप्रसाद प्रधानको पालामा यसबारे छलफल सुरु भएको थियो । तर दुई दशक बित्यो यसअघि कसैले सुरु गरेनन् झुम्सा खानेपानी आयोजनाको काम । अहिले खानेपानी मन्त्री बिना मगरले यो आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी छन् । दुई वर्षअघि झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलो मिटर पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । इन्टेक बगाएपछि आयोजनाको काम रोकिएको थियो । सुरुमा १९ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिईएको थियो । बुटवलको मेलम्चीको रुपमा व्याख्या गर्दै आएको झुम्सा खानेपानी आयोजना बुटवल शहरबासीका लागि गौरवको कुरा हो । हाल बुटवलमा दैनिक ३ करोड ५० लाख लिटर पानीको माग रहेको छ । जुन माग यो आयोजनाले पुरा गर्नेछ । रासस

महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले अछामस्थित वैद्यनाथ वेद विद्याश्रमलाई एक लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग  गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुन् । बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको हो । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।