बल्ने ढुङ्गाको आशले गुमेको त्यो ५० लाख रुपैयाँ, जुन रुपैयाँले ६ जनालाई प्रहरी खोरमा पुर्यायो

काठमाडाैं । गत बिहिबार एउटा समूहले काठमाडौं महानगरपालिका वडा न. १५ भगवानपाउँका ६३ वर्षीय बच्चुराम गुरूङलाई अनेकन प्रलोभन देखाएर उनीबाट ५० लाख रुपैयाँ लुटे । लुटपाटमा संलग्न मध्येका एक हुन् भीमबहादुर घर्तीमगर । उनले गुरुङलाई ‘मेरो बाजेसँग बल्ने ढुङ्गा छ’ भन्दै प्रलोभनमा पारे ।  त्यही प्रलोभनमा परेर गुरुङले पनि ५० लाख रुपैयाँ ल्याएर त्यहीँ पुगे । उनको हातमा त्यो पैसा देख्ने बित्तिकै उनीहरुले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरी त्यहाँबाट भागे । गुरूङले उनीहरु विरुद्ध उजुरी गरेसँगै लुटपाटमा संलग्न ६ जनाको समूहलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न. ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिका वडा न. ५, गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँका ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगया गाउँपालिका–२ खड्कुका ३६ वर्षीय तेञ्जिङबहादुर तामाङ र सोही ठाउँका २८ वर्षीय सञ्जित वाईबा रहेका छन्। महानगरीय अपराध अनुसन्धान टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले लुटेराहरूले काठमाडौं उपत्यकाभित्र अलौकिक वस्तुहरू बल्ने ढुङ्गा, वन झाँक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक सामान आफूसँग छ भनेर खरिदका लागि एकान्तमा बोलाई मिलेर लुटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको बताए । सिंहले लुटपाटमा संलग्नहरूलाई उपत्यकाको विभिन्न स्थानदेखि पक्राउ गरिएको बताए । लुटपाटमा संलग्नमध्येका मगरले गुरूङले उक्त रकम आफ्नै घर बैंकमा धरौटी राखेर लगेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सञ्जितको साथबाट २३ हजार ५ o रूपैयाँ, तेञ्जिङको साथबाट ५ लाख ८० हजार रूपैयाँ, भीमबहादुरको साथबाट ३ लाख ५ हजार रूपैयाँ, नकुरको साथबाट ४ लाख ३१ हजार रूपैयाँ, कुमारको साथबाट २ लाख २ हजार रूपैयाँ र दावाछिरिङको साथबाट ३ लाख ३१ हजार रूपैयाँ बरामद गरिएको छ। लुटपाटपछि पाएको ५ लाखमध्ये सञ्जितले २ लाख ११ हजार सानिमा विकास बैंकमा बचत गरेको, ७७ हजारमा सुनको औंठी बनाएको, ओप्पो मोबाइल १९ हजारमा खरिद गरेको र घर बनाएको ऋण तिर्न दिदीलाई १ लाख रूपैयाँ पठाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। भीमबहादुरले भने लुटपाटपछि पाएको ७ लाखमध्ये लु ५९ प २१३५ न. को २२० सिसीको पल्सर मोटरसाइकल ३ लाख ३० हजार रूपैयाँमा किनेको र नगरकोटमा एकरात बसी होटलमा खर्च गरेको पाइएको छ। दावाछिरिङले भने पाएको ५ लाखमध्ये १ लाख ५० हजार रूपैयाँ ऋण तिरेको, कुमारले पाएको ४ लाख ५० हजारमध्ये ७५ हजार रूपैयाँ घरभाडा तिरेको, १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको र नकुरले भने पाएको ५ लाखमध्ये ३० हजार फाइनान्समा किस्ता तिरेको र अन्य खाएर मासेको सिंहले बताए। उनीहरूबाट १८ लाख ७५ हजार ५ सय रूपैयाँ, लुटपाटमा प्रयोग गरिएका ३ थान मोटरसाइकल, लुटिएको पैसाले किनेको १ थान मोटरसाइकल, लुटिएकै पैसाले किनेको सुनको औंठी १ थान, नागरिकता, मोबाइल, खुकुरी, फोल्डिङ हुने रड पनि बरामद गरिएको बताए ।

सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले श्री रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यायो कपडा हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमा स्थित उक्त विद्यालयका ११० विद्यार्थीलाई सो सहयोग गरेको हो । उक्त न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

कुष्ठरोगबारे ३३ भ्रम र यथार्थ

१। कुष्ठरोग भनेको के हो ? कुष्ठरोग म्याकोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । यो रोगका किटाणुहरु विस्तारै फैलिन्छन् । यो रोगको सरायु अवधि २ देखि ५ वर्ष रहेको छ । यस रोगका किटाणुले खास गरेर छाला र स्नायुमा असर गर्दछ । २। कुष्ठरोग कसरी सर्छ ? उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समय (हप्तामा २० घण्टा भन्दा बढि समय)सम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ । ३। कुष्ठरोगका चिन्ह र लक्षणहरु के–के हुन् ? ‍‌ शरीरको कुनै भागमा छुंदा थाहा नपाउने, रातो, फुस्रो दागहरु देखा पर्नु । हात खुट्टा झम–झम गर्नु । बाहिरी सतहका स्नायु सुन्निनु । हात खुट्टामा नदुख्ने घाउहरु देखा पर्नु । ४। कुष्ठरोग कति प्रकारका हुन्छन् ? उपचारको दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गरिएको छ । – (पउसी ब्यासिलरी) कम किटाणु भएको – (मल्टी ब्यासिलरी) धेरै किटाणु भएको ५। कुष्ठरोग लागे पछि उपचार कसरी गरिन्छ ? बहु–औषधी उपचार विधिबाट गरिन्छ । बहु–औषधी उपचार विधि भनेको एक भन्दा बढी प्रकारका औषधीबाट कुष्ठरोगको उपचार गर्नु हो । यसमा पउसी ब्यासिलरी ६ पत्ता अर्थात ६ महिनासम्म खानु पर्छ र मल्टी ब्यासिलरी विरामीले १२ पत्ता अर्थात १२ महिनासम्म औषधी खानु पर्छ । ६। कुष्ठरोग कसरी पत्ता लगाइन्छ ? कुष्ठरोगको चिन्ह र लक्षणको आधारमा र विरामीको सिल्ट स्किन स्मेयर जाँच गरेर । ७। कुष्ठरोग जस्तै लक्षण देखिने अरु रोग के–के हुन् ? दाद, दिनाइ, दुबी, जन्मजात दाग, छालाको क्षयरोग आदिले पनि कुष्ठरोगको जस्तो लक्षण देखाउन सक्छन् । ८। कुष्ठरोगले कसरी अपांगता/असमर्थता गराउँछ ? यस रोगका किटाणुले बाहिरी सतहका स्नायुहरुमा असर गर्दछ जसले गर्दा स्नायुहरुको कार्यक्षमतामा ह्रास आउँछ । हात÷गोडामा छुँदा थाहा नपाउने वा केही वस्तुले घाउ, चोटपटक लाग्दा समेत थाहा पाउँदैनन् र संक्रमण हुन थाल्छ । यदि समयमा उपचार नगरेमा मांशपेशीहरुमा समेत पक्षघात हुन्छ । विस्तारै हात÷गोडाका औँलाहरु बांगिने÷टेढों हुने र कडापन आउँछ । यस किटाणुले अनुहारको स्नायुमा पारेको छ भने आँखाको ढकनी बन्द गर्न नमिल्ने भई संक्रमणका कारण विस्तारै आँखा नदेख्ने समेत हुन सक्छ । ९। कुष्ठरोग लाग्यो भने हात खुट्टाका औलाहरु झर्छन् ? कुष्ठरोग लाग्दैमा हात खुट्टाका औलाहरु झर्दैन्न । कुष्ठरोगको किटाणुले स्नायुमा असर गरेर दुखाई र चोटपटकको अनुभुती हराउँछ । यसरी तातो समाउदा वा चोटपटक लाग्दा नदुख्ने घाँउ बन्दछन् र त्यस घाँउमा संक्रमण भई हड्डीमा असर पुग्छ र हात खुट्टाका औलाहरु छोटा हुन्छन् वा झर्न थाल्छन् । १०। कुष्ठरोग लागेको विरामीलाई छुट्टै ठाँउमा राखेर उपचार गर्नुपर्छ ? कुष्ठरोग लागेको विरामीलाई कुनै विशेष क्लिनिक वा अस्पतालमा उपचार गर्नु पर्छ भन्ने हुंदैन । आफ्नै घरमा बसेर कुष्ठरोगको बहु–औषधी उपचार विधिबाट उपचार गर्न सकिन्छ । ११। कुष्ठरोग लागेपछि औषधी जीवनभर खानुपर्छ ? पर्दैन । पउसी ब्यासिलरी विरामीले ६ महिना र मल्टी ब्यासिलरी विरामीले १२ महिना औषधी खाए पछि कुष्ठरोग निको हुन्छ । १२। के कुष्ठरोग निको हुन्छ ? बहुऔषधी उपचार पद्धतिबाट यो रोग निको हुन्छ । यस पद्धतिमा तीनवटा औषधी संयुक्त रुपमा खुवाइन्छ । यस औषधीको सेवनले किटाणुलाई नष्ट गरी रोग निको पार्छ । सुरुको अवस्थामा नै उपचार गरेमा अपांगता÷असमर्थता हुदैंन । १३। कुष्ठरोग वंशानुगत वा कुष्ठरोग भएका बुबा–आमाको सन्तानलाई पनि हुन्छ ? कुष्ठरोग वंषाणुगत रोग होइन । यो रोग उपचार नगरेको विरामीसंग धेरै समय संगै बस्दा मुख्यतः स्वास प्रस्वासबाट सर्न सक्छ । १४। कुन उमेरका बालवालिकाहरुमा यो रोगको चिन्ह तथा लक्षणहरु देखा पर्न सक्छन् ? प्राय १० देखि १४ वर्षका उमेर समुहका बालबालिकाहरुमा यो रोगको चिन्ह तथा लक्षण देखा पर्न सक्छन् । १५। कुष्ठरोग लागेको विरामीसँग एउटै घर/कोठामा बस्न सकिन्छ ? कुष्ठरोग एक प्रकारको कम सर्ने रोग हो । बहु–औषधी उपचार विधि शुरु गर्ने वित्तिकै ९९ प्रतिशत भन्दा बढि किटाणुहरु निष्क्रिय हुन्छन् । त्यस कारण कुष्ठरोग लागेर उपचार शुरु गरेको विरामीसँग एउटै घर÷कोठामा बस्न सकिन्छ । १६। कुष्ठरोग लागेका विरामीले सामाजिक क्रियाकलापमा भाग लिन सक्छन् ? अरु व्यक्ति सरह कुष्ठरोग लागेका विरामी पनि समाजको हरेक क्रियाकलापमा सहभागी हुन सक्छन् । १७। कुष्ठरोग लागेको विरामीसंग घरायसी सामानहरु जस्तै चम्चा, थाल, शौचालय, खाट, भान्छा, आदि उपयोग गर्न सकिन्छ ? कुष्ठरोग घरायसी सामानहरुबाट नसर्ने भएकाले घरायसी उपभोग्य वस्तुहरु समान रुपमा उपभोग गर्न सकिन्छ । १८। कुष्ठरोग प्रभावित व्यक्तिले विवाह गर्न मिल्छ कि मिल्दैन ? कुष्ठरोग प्रभावित व्यक्तिले अरु व्यक्ति सरह जीवन यापन गर्न, विवाह गर्न र बच्चा जन्माउन सक्छन् । १९। कुष्ठरोग प्रभावित व्यक्तिले रोजगार पाउँछन् ? कुष्ठरोग प्रभावित व्यक्ति अन्य सामान्य नागरिक सरह रोजगारबाट बन्चित हुनु हुंदैन । २०। परिवारमा केही एक जनामा कुष्ठरोग देखियो भने अरु सदस्यलाई जांच गराउनु पर्छ ? कुष्ठरोग सर्न सक्ने तर कम सर्ने रोग हो । कुष्ठरोेग लागेको विरामीको परिवारको अन्य सदस्यलाई सरेको हुन सक्ने सम्भावना भएकोले उक्त व्यक्तिको परिवार तथा संगै वस्ने अरु सदस्यलाई पनि कुष्ठरोगको जाँच गराउनु पर्दछ । २१। कुष्ठरोगको औषधी शुरु गरे पछि शरीर किन रातो÷खैरो हुन्छ ? मल्टी ब्यासिलरी विरामीले खाने रातो पत्तामा क्लोफाजिमिन नामक औषधीले गर्दा शरीरको छाला रातो हुन्छ । औषधी पुरा गरेको ६–१२ महिना पछि त्यो रातोपन हराई पहिलेको जस्तै हुन्छ । २२। कुष्ठरोगबाट हुने अपाङ्गताबाट कसरी बच्न सकिन्छ ? कुष्ठरोग शुरुमै पत्ता लगाई तुरुन्त बहु–औषधी उपचार विधीबाट उपचार गरेर कुष्ठरोगबाट हुने अपा¨ताबाट बच्न सकिन्छ । २३। बहु–औषधी उपचार विधिमा हुने औषधीले के–के असर पु¥याउँदछ ? बहु–औषधी उपचार विधिका प्राय जसो औषधी असर नगर्ने खालका छन् । कुनै–कुनै औषधीले सामान्य असर गर्न सक्छन् । गम्भिर असर पु¥याउने सम्भावना न्यून छ । सामान्य असरहरुः – रिफाम्पीसीन ः रातो पिसाव – ड्याप्सोन ः शरीरमा रगतको कमी – क्लोफाजिमिन ः शरीरको छाला खैरो २४। बहु–औषधी उपचार विधिका औषधीले एलर्जी वा गम्भिर असर ग¥यो भने के गर्ने ? यदि बहु–औषधी उपचार विधिका औषधीले एलर्जी ग¥यो भने औषधी खान बन्द गरी विशेषज्ञ चिकित्सकसंग परामर्श गरी अरु औषधी उपचार गर्न सकिन्छ । ड्याप्सोन एलर्जी ः औषधी खाएको तिन महिना भित्र छालामा दादुरा जस्तो विविरा देखा परेमा, ज्वरो आएमा वा जन्डिस भएमा तुरन्तै औषधी सेवन बन्द गरी नजिकैको स्वास्थ्य केन्द्रमा जचाउँनुपर्छ । २५। बहु–औषधी उपचार विधि गर्भवती÷स्तनपान गराउने महिलालाई दिन सकिन्छ ? सकिन्छ । बहु–औषधी उपचारले गर्भवती÷स्तनपान गराउने महिलालाई केही हानी पु¥याउँदैन । २६। मैले कुष्ठरोग लागेको व्यक्तिलाई छोएँ । अब मैले कुष्ठरोगको औषधी शुरु गर्नु पर्छ ? छुंदैमा कुष्ठरोग सर्ने सम्भावना अत्यन्त न्यून रहेकोले कुष्ठरोग लागेको व्यक्तिलाई छुदैमा कुष्ठरोगको औषधी शुरु गर्नु पर्दैन । २७। कुष्ठरोगमा प्रतिक्रिया भनेको के हो ? कुष्ठरोग लागेको व्यक्तिलाई एक्कासी छालामा रातोपना, सुन्निने, दुख्ने, चिलाउने दाग, नयाँ दाग देखा परेमा, स्नायु सुन्निएमा, दुखेमा औषधीबाट प्रतिक्रिया भएको शंका गर्नु पर्छ । प्रतिक्रिया बहु–औषधी विधि शुरु गर्नु भन्दा पहिले, औषधी सेवन गरेको बखत या औषधी उपचार सकिए पछि, जहिले पनि देखा पर्न सक्छ । २८। कुष्ठरोगको औषधी कहाँ पाइन्छ ? सरकारी अस्पताल, प्रेषण केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कुष्ठरोगको औषधी निःशुल्क पाइन्छ । २९। कुष्ठरोगका विरामी तथा प्रभावितहरुले अपनाउनु पर्ने सावधानीहरु के–के छन् ? – छुँदा थाहा नहुने हातलाई चोटपटक तथा तातोबाट बचाउने । – गोडामा छुँदा थाहा नहुने विरामीले नरम तथा सुरक्षित जुत्ता लगाउने । – हातखुट्टा सुख्खा भएमा पानीमा भिजाएर कडा छाला खुर्कने र चिल्लो लगाई छालालाई नरम बनाउने । – औषधीको सेवन गर्दा साधारण या गम्भिर असर देखा परेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने । ३०। कुष्ठरोग नियन्त्रण कार्यक्रमको दृष्टिकोण के हो ? कुनै नयाँ कुष्ठरोग लागेको विरामी नभएको र हाल भएका कुष्ठ प्रभावितहरुको सबै आवश्यकता पुरा भएको कुष्ठरोग मुक्त समाज नै कुष्ठरोग नियन्त्रण कार्यक्रमको दृष्टिकोण हो । ३१। कुष्ठरोग नियन्त्रण कार्यक्रमको लक्ष्य के हो ? कुष्ठरोग मुक्त नेपाल बनाउने । ३२।‍ कुष्ठरोग निवारण भनेको के हो ? विश्व स्वास्थ्य संगठनले सन् २००० सम्ममा विश्वव्यापी रुपमा कुष्ठरोग निवारण गरी जनस्वास्थ्य समस्याबाट हटाउने निर्णय गरेको थियो । निवारण भन्नाले प्रति दश हजार जनसंख्यामा १ भन्दा कम कुष्ठरोगको विरामी संख्या भनेर विश्व स्वास्थ्य संगठनले परिभाषा गरेको छ । कहिले काही निवारण भन्नाले कुष्ठरोग उन्मुलन भन्ने बुझेको पाइन्छ । तर उन्मुलन भन्नाले संसारबाट कुष्ठरोगको किटाणु नै निर्मुल हुनु भन्ने बुझ्नुपर्दछ । नेपालले सन् २००९ को तथ्यांकको आधारमा सो उपलब्धि हासिल ग¥यो र सो को घोषणा सन् २०१० जनवरी १९ मा गरेको थियो । ३३। मलाई कुष्ठरोग लाग्यो कि भन्ने शंका छ, म के गरु ? नजिकको स्वास्थ्य केन्द्रमा गएर परिक्षण् गरी परामर्श लिनु पर्छ । ( स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा )