विवाहका लागि पास नपाएर तनावमा हुनुहुन्छ ? अब पास बिनै गर्न पाइन्छ

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधानका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ । जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ । विवाहमा सहभागी हुने दुबै तर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार हालसम्म सवारी साधनको इ-पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ । अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन् । विचाराधीन अवस्थामा रहेका निवेदनको सङ्ख्या २९ रहेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका ६१ गुनासोको सुनवाइ गरी समस्या समाधान गरिएको छ । रासस

उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न र घुम्नका लागि हिँडिरहेको भेटिन्छ । शनिबार प्रहरीले पसल बन्द गराउन हिँडिरहँदा जडीबुटी, पेप्सीकोला, लोकञ्थली, इमाडोललगायतका स्थानमा प्रहरीको आँखा छलेर पसल खोलिरहेको देखिन्थ्यो । स्थानीय तहले कुन समयमा पसल खोल्ने भनेर तोके पनि यी स्थानमा पुग्दा दिनभरजसो नै भित्री भागमा पसल खुला पाइएको छ । अधिकांश पसलमा आधा सटर खोलेर व्यापार गरिरहेको देखिन्थ्यो । व्यापारीले प्रहरी र मिडियाका प्रतिनिधि आएको देख्नासाथ बन्द गर्ने र उनीहरु जानासाथ खोल्ने गरेका छन् । कतिपय व्यक्ति मोटरसाइकल र स्कुटरमा पानी, ग्यास किन्न हिँड्ने गरेको दृश्य विभिन्न स्थानमा दैनिक देखिन्छ । तरकारी र खाद्यान्नका ती पसलमध्ये कतिपयले घरभित्रबाट दिनभर बिक्री गरेको देखिन्थ्यो । ती पसमा बिहान तोकिएको अवधिमा सामाजिक दूरी कायम गरेको भए पनि दिउँसोको समयमा एकै पटक भीडभाड देखिन्छ र धेरै उपभोक्ता एकैपटक पसलभित्र सामान किनिरहेका दृश्य भित्री सडक छेउमा पसलमा देखियो । नरेफाँटकी सन्ध्या चापागाईँ दिउँसो झण्डै १२ बजेतिर चाउचाउ किन्न जाँदै गर्दा भेटियो । उनी बिहान आफूलाई याद नभएकाले अहिले किन्न हिँडको भन्दै थिए । प्रहरीको आँखा छलेर सामान किन्न जान उनी हतारमा थिए। उनले भने, “छोराछोरीले लकडाउन भने पनि भनेको कुरा नभइ मान्दैनन् अनि जानैपर्छ ।” खाद्यान्न किन्नका लागि मात्रै नभएर हावा खान वा खुट्टा तन्काउन हिँडेको भन्ने व्यक्ति पनि धेरै भेटिन्छन् । तीमध्ये कतिपय मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायतका दीर्घरोगका बिरामी छन् । घरमै बसिरहँदा गाह्रो हुने भन्दै दैनिक पाँच/दश मिनेट हिँड्ने गरेको लोकञ्थलीका भीम मगरले बताए । झण्डै एक दशकदेखि मधुमेहको नियमित औषधि खाँदै आएका उनी पहिले बिहान–बिहान हिँड्ने गरेका थिए । लकडाउनका समयमा बिहान जतासुकै भीड भएकाले खाना खानासाथ हिँड्ने गरेको उनले बताए । उनले भने, “खोला छेउमा कोही नभेटिने हुँदा मनोहरा किनारैकिनार हिँड्ने गरेको छु ।” लकडाउनको कार्यान्वयन गराउन प्रहरी मुख्य सडक र भित्री सडकमा समेत खटिएका देखिन्छ । बिहान पसल बन्द गराउनेदेखि दिउँसो छड्के हेर्नका लागि प्रहरी खटिइरहेका छन् । प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा हिँड्ने झण्डै तीन हजार ६ सयलाई सडकमै तीन घण्टा उभ्याएर मात्रै पठाइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लकडाउन अझै कडाइ गर्ने सरकारको निर्णयसँगै यस्तो कारवाहीमा पर्नेको सङ्ख्या बढिरहेको छ । अझै पनि धेरै नागरिकले लकडाउन मेरा लागि भन्दा पनि नेपाल प्रहरीका लागि भन्ने बुझ्दा यसको अवज्ञा भइरहेको चोकचोकमा खटिने प्रहरी बताउँछन् । कतिपय व्यक्ति हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गरेको पाइएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सरकारले अत्यावश्यक कामका लागि उपलब्ध गराएको ‘सवारी पास’ पनि दुरुपयोग भइरहेको छ । कतिपय व्यापारीको त्यही सटरमा पसल र त्यहीभित्र पकाउने, खाने र त्यही सुत्ने भएकाले पनि सटर आधा खोलिएको पाइएको छ । प्रहरीले कारवाही नगर्दा पनि गरेन भन्ने र गर्दा पनि त्यसको विरोध हुने गरेको उनको भनाइ छ । विभिन्न बहानामा छोटो दूरीमा हिँडिरहेका पैदलयात्रु हुन् वा काठमाडौं हुँदै काठमाडौं बाहिर घरसम्म जान लागेका नागरिकलाई रोक्दा र नरोक्दा दुवै अप्ठ्यारो भएको उनले बताए । अत्यावश्यक सामग्री किन्न जाँदा पनि प्रहरीले माक्स लगाउन, समूहमा नहिँड्न भन्ने गरेको छ । उनले भने, “उल्टै प्रहरीलाई जे गरे के मतलब भन्दै झगडा गर्ने र एर्काथरि सामाजिक सञ्जालमा भिडियो हाल्ने गर्छन् ।” आम नागरिकलाई सरकारले सामाजिक दूरी कायम गर्न भने पनि नेपाल प्रहरीमा लागु हुनसकेको छैन । प्रहरीले लामो समयसम्म र धेरै दिनदेखि कोरोना ड्युटी गरिरहेकाले छन् । उनीहरुले स्वास्थ्य सुरक्षाका लागि माक्स र स्यानिटाइजरको प्रयोग गर्दै लामो समयसम्म ड्युटीमा खटिरहेको उनले बताए । अरु नियमित ड्युटीसँगै लकडाउन कार्यान्वयनका लागि सडकमा खटिएका प्रहरीलाई काममा उत्साह जगाउन जरुरी छ । प्रहरीलाई एकातिर कामको चाप र अर्कातिर चुनौती दुवै भएको उनले भने । नागरिकले मेरो लागि लकडाउन गरिएको हो भनी बुझेर घरमै बस्दा उनीहरु र प्रहरी दुवैलाई राम्रो हुन्छ । उनले भने, “नेपाल प्रहरी अहिले पनि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नियमित ड्युटीमा खटिइरहेका छन् ।” रासस

लकडाउनमा तनाब बढ्यो ? कम गर्न यस्ता छन् विज्ञका ५ टिप्स

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न विश्वभरका सरकारले लकडाउन गरेको कारण मानिसको सामान्य मानवीय गतिविधिलाई नै असामान्य बनाइ दिएको छ । हरेक दिन लाखौं संक्रमित भएको र हजारौं मरेको समाचारले धेरैको मन अत्तिएको छ । अहिलेको अवस्थामा घरमा बसेका धेरैले आफूलाई सुरक्षित महसुस गरेका छन् । किनभने यो रोगको एउटा मात्र बच्ने उपाय हो अरु मासिनसँगको शारीरिक दुरी । मानिसको थुकको छिट्टाबाट पनि सर्ने र हालसम्म कुनै पनि उपचार पत्ता नलागेको कारण मासिनहरु यो रोगसँग अत्तालिएका छन् । सारा दुनियाँ घरभित्र बस्दा फ्रन्ट लाइनमा बसेर ड्युटीमा खटिरहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी होस वा अरु पेश व्यवसायका व्यक्तिहरु, उनीहरु सबैले आफूलाई सबैभन्दा धेरै असुरक्षित महसुस गरेका छन् । कोभिड–१९ को डरले धेरैले काम पनि त्यागेका छन् । तर अत्यावश्यक सेवामा संलग्न धेरैले काममा आउँदिन भनेर भन्न सकेका छैनन् । किनभने उनीहरुलाई अत्यावश्यक सेवा प्रवाह गर्नै पर्ने दायित्व छ । त्यस्ता अत्यावश्यक पेशामा संगलग्न धेरै व्यक्तिहरु अहिलेको अवस्थामा सबैभन्दा बढि तनावमा छन् । प्रस्तुत छ यस्ता अत्यावश्यक पेशामा संलग्न तथा घरमा बसिरहेका मानिसका लागि तनाव कम गर्ने उपाय के कस्ता हुन सक्छन् भनेर हामीले त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख मनोचिकित्सक प्राध्यापक डा. सरोज ओझासँग कुराकानी गरेर यो सामग्री तयार पारेका छौं । यो समय हरेक मानिसहरुको लागि एउटा निकै नै ठूलो चुनौती हो । त्यसमा पनि अत्यावश्यक सेवामा संलग्न जो कोहीको लागि यो समय निकै तनावपूर्ण रहेको छ । यो समयमा हामीलाई सबैभन्दा पहिला आफ्नो र आफ्नो परिवारको धेरै माया लागेको छ । तर, हामी कदापि नबिर्सौ कि हाम्रो यो सेवालाई इतिहासले पनि बिर्सने छैन । सारा संसार घरभित्र बसेको अवस्थामा हामीले गर्न पाएको पुण्यको कामलाई कसैले पनि चानचुने नसोचौं । सर्वप्रथम आफूले गरेको कामप्रति आफै गर्व गर्नुपर्छ । हामी आफूलाई सुरक्षित राख्दै अरुलाई पनि सुरक्षित राख्न सक्षम छौं । यो समयमा आफुमा भएको तनावलाई यसरी कम गर्न सकिन्छः १. सन्तुलित भोजन तनाव कम गर्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय हो सन्तुलित भोजन । तपाईहरु धेरैलाई थाहा नहुन सक्छ तर सन्तुलित भोजनले तनावलाई कम गर्न निकै नै मद्दत गर्दछ । हामी हामीले खाएका खानेकुरा हौं । अर्थात हामी जस्तो खानेकुरा खान्छौं, हामी त्यस्तै बन्छौं भन्ने एउटा प्रख्यात भनाई रहेको छ । पर्याप्त पानी, फलफूल, स्वस्थ खानाले दिमागलाई शान्त राख्नको लागि धेरै मद्दत गर्दछ । यस्तो समयमा तनाव कम गर्न भन्दै रक्सी, सुर्ती, चुरोटको सेवनले झनै तनाव बढाउन सक्छ । त्यसैले सर्वप्रथम सन्तुलित आहारमा सबैभन्दा बढी ध्यान दिनुहोस् । २. शारीरिक व्यायम तनाव कम गर्ने अर्काे उपाय हो शारीरिक व्यायम । यसको लागि तपाईलाई घर बाहिरै गएर दौडिनु पर्छ भन्ने छैन । जिम जानुपर्छ भन्ने पनि होइन । तपाईले घरमा बिहानै उठेर घरभित्रै गीत बजाएर नाच्ने, बिहान समयमा उठ्ने, आफूलाई मन लागेको गीत सुन्दै मनपर्ने खानेकुरा बनाउने, घर सरसफाई गर्ने जस्ता काम गर्न सक्नुहुन्छ । यसलाई अन्य सामान्य दिन जस्तो सोचेर काममा जानुहोस् । काममा पनि सकेसम्म एकैठाउँमा लामो समयसँग नबस्नुहोस् । किनभने लामो समय एकैठाउँमा एउटै काम घोरिएर गर्दा झनै तनाव बढ्छ । ३. २४सैं घण्टा समाचारको पछि नदौडिनुहोस् अहिलेको अवस्थाको बारेमा जानकार भएको राम्रो हो । तर, जतिबेला पनि कति जनाको मृत्यु भयो, कति संक्रमित भए, नेपालमा कति जनामा कोरोना देखियो भन्ने जस्ता समाचारहरुबाट टाढा बस्नुहोस् । कार्यालयमा हुँदा पनि कोभिड–१९ को बाहेक अन्य कुरा गर्नुहोस् । साथीहरुसँग अन्य समयको भन्दा धेरै हाँसिमजाक गर्नुहोस् । एकअर्काेको आत्माबल बढाउने प्रयास गर्नुहोस् । ४. केही समय विश्राम गर्नुहोस् यदि तपाई काममा हुनुहुन्छ र धेरै तनाव महसुुस गरिरहनु भएको छ भने केही समय कानमा एयरफोन हालेर केही आनन्द लाग्ने धुनहरु सुन्नुहोस् । र, केही समय शान्त भएर बस्नुहोस् । आँखा बन्द गरेर लामो लामो सास फेर्नुहोस् । धेरै पानी पिउनुहोस् । अनि एकैपटकमा धेरै काम गर्ने प्रयास नगर्नुहोस् । ५. समयमा सुत्ने, उठ्ने गर्नुहोस् दिमागलाई स्थिर अवस्थामा राख्नलाई मद्दत गर्ने अर्को उपाय हो समयमा सुत्ने र समयमा उठ्ने । समयमा सुत्ने र उठ्ने बानीले तपाईलाई तनाव मुक्त हुने धेरै सहयोग गर्छ । एउटा तालिका बनाएर समयमा उठ्ने, खाने, रमाईलो गर्ने र समयमा सुत्ने बानी बसाल्नुहोस् ।