राहत वितरणमा गएका एकको मृत्यु
काठमाडौं । राहत वितरण गर्न गएका १ जनाको मूत्यु भएको छ । मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिका वडा नंबर ६ को सिलिङमा राहत वितरण गर्न गएका खडकबहादुर कटुवालको मृत्यु भएको हो । राहत वितरणका क्रममा हिडेका धनकुटा प्रखिबासका अन्दाजी वर्ष ५०/५५ खडकबहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दिगो विकासका लागि एकता नेपाल नामको संस्थाबाट राहत वितरणका लागि राक्सिराङ पुगेका कटुवाल एक्कासी लडेर बेहोस भए पछि उपचारको लागि अस्पाताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पञ्चकन्या समुहमा कार्यरत कर्मचारीद्वारा एक सय २० जनालाई राहत
काठमाडौं । पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले एक सय २० जनालाई राहत प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको हो । लकडाउनमा मजदुरलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै उद्योगमा कार्यरत ६० जना मजदुरलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का ६० जना राहत प्रदान गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । मजदुर तथा विपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्धेश्यले ५ लाख रुपैया सहयोग गरेका हुन् । टोल विकास सस्था र वडा कार्यालयको सिफारिषमा वडाका विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले प्रतिव्यक्ति १० केजी चामल, ५ केजी आटा, ५ केजी आलु, २ केजी चिउरा, २ केजी दाल, नुन, तेल, सावुन लगाएतका सामाग्री प्रदान गरिएको हो । पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, वडा सदस्यहरु, टोल बिकास सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागितामा राहत बितरण गरिएको हो । उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमिकबाट केहि दिनको रकमकट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् ।
राहत पनि पाइएन र काम गर्न पनि पाइएन : वादी समुदाय
काठमाडौं । दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान पाएका छैनन् । कतिपयले छिमेकीसँग सरसापट गरेर गुजारा गरेको पीडा पोखे । एक महिनासम्म काम गर्न नपाएपछि छिमेकी तथा आफन्तले पनि सहयोग गर्न नसक्दा छाक टार्न मुस्किल भएको उनीहरुको गुनासो छ । “राहत पनि पाएनौँ, ज्यालादारी गर्न बाहिरी जिल्ला गएका छोराहरु पनि उतै अलपत्र परेका छन्”, टीकापुर–८ सूर्यपुरकी रेखा वादीले भने, “म एकल महिला हुँ, राहत नपाएपछि सरकारले दोस्रो किस्ताको भत्ता दिएको भए किनेर खान्थ्यौँ ।” उनले अनुसार वडा कार्यालयले पाँच कठ्ठा जमिन छ भन्दै राहत दिन मानेन । “सात जनाको परिवार छ, पाँच कठ्ठाको अन्न दुई महिना मात्र पुग्छ”, रेखा भने, “घरमा अन्न छैन, न त ऋण पाइन्छ न सापटी पाइन्छ ।” वादी समुदायका धेरै नागरिक ज्यालादारीको काम गर्छन् । लकडाउनका कारण काम गर्न जान नपाएपछि सबैको घरमा समस्या हुन थालेको छ । सूर्यपुरकै नीतु वादीको चार जनाको परिवार छ । “आजभोलि एक छाक मात्र खाएर बाँच्नुपरेको छ”, उनले भने, “सरकारले राहत नदिए पनि काम दिएको भए हुन्थ्यो, काम गर्न नपाए हामी के खानु ?” अमृता नेपालीका चार सन्तान छन् । “छोराछोरी भोक लाग्यो भन्छन्, घरमा अन्न छैन”, उनले भने, “के खुवाउनु, कसलाई भन्नु ? हामीलाई त लकडाउनको एक महिना एक वर्षजस्तै लागेको छ ।” सुदूरपश्चिम प्रदेशका सांसद तथा वादी अभियन्ता उमादेवी वादीले कैलालीमा रहेका ९० प्रतिशत वादी परिवार समस्यामा रहेको जानकारी दिए । “राहत केही सीमितले पाएका छन् । यो पर्याप्त छैन”, उनले भने, “लकडाउन लम्बिने हो भने खाद्य सङ्कट पर्छ । यसबारेमा सरकारको ध्यान जानुपर्छ ।” उनका अनुसार कैलालीमा एक हजार पाँच सय परिवार वादी छन् । कैलालीको टीकापुर, लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा वादी समुदायको बसोबास बाक्लो छ । वादी बस्ती रहेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जग्गा नभएका परिवारलाई मात्र राहत उपलब्ध गराएको जानकारी दिए । रासस