यी हुन डब्लुएचओले लकडाउन हटाउन तोकेका ६ वटा सुचक, नेपालले पनि पुरा गरेर खोल्ला त ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रबन्ध निर्देशक टेड्रोस अधनोम घब्रेससले धेरै देशहरुले लकडाउनको चपेटाबाट बाहिर निश्कन चाहेको बताएका छन् । डब्लुएचओले तोकेका विभिन्न ६ ओटा सुचकहरु पुरा गरेर मात्रै लकडाउनको चपेटाबाट बाहिर निश्कन सकिने जानकारी दिएको छ । नेपालमा पनि लकडाउन भएको आज २८ दिन भइसकेको छ । डब्लुएचओको लकडाउन हटाउन यस्ता छन् ६ वटा सुचक –कोरोना भाईरस संक्रमणको फैलावट रोकेको हुनुपर्ने । –सार्वजनिक स्वास्थ्यमा विशेष ख्याल राखी यसको क्षमतामा विस्तार हुनुपर्ने । –आईसोलेसन, क्वारेन्टाइनलगायत प्रत्येक केशलाई ट्रेस गर्न सक्ने अस्पतालको क्षमता भएको हुनुपर्ने । –नर्सिङ होमलगायत संवेदनशिल क्षेत्रमा भाईरस फैलन सक्ने चुनौतिको सामना गर्न सक्ने अवस्था भएको हुनुपर्ने । –काम गर्ने स्थानमा सामाजिक दूरी र विभिन्न सरसफाईका सुचकहरु पुरा गरेको हुनुपर्ने । –विदेशी पर्यटक तथा बाहिरबाट आउने यात्रुहरुमार्फत आउने ईम्पोर्ट केशलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने क्षमता बनाउनुपर्ने, जनताहरुलाई यसको चुनौतिको घडी अन्त्य भएको अनुभव गराएको हुनुपर्ने।

काेराेनाकाे संक्रमण देखिएसँगै गुर्जाे खानेको संख्या ह्वात्तै बढ्याे, यस्ता रहेछन् फाइदा

काठमाडाैं । कोभिड-१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ । नर्सरीमा फालाफाल पाइने गुर्जाे यतिखेर अभाव हुन थालेपछि कतिपयले मूल्य तिरेर ल्याउन थालेका छन् । यहाँ उद्योगी, प्राध्यापक, स्वास्थ्यकर्मी र योगसाधकले मात्र नभई यतिखेर सर्वसाधारणले गुर्जाे खान थालेका छन् । कसैले दिनमा एकपटक त कसैले सांँझबिहान दुई पटक खाने गरेका छन् । गुर्जाे, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको उनीहरुको भनाइ छ । ‘गुर्जाे, मरीच, घोडताप्रे र बेसार मिसाएर पकाइएको एक चिया गिलास झोल साँझबिहान खाइरहेको छु’, उद्योगपति सुरतबहादुर विष्टले भने- ‘गुर्जाेको झोल हाम्रो परिवारले एक वर्षदेखि खाइरहेको छ । हामीलाई फाइदा भएको महसुस भएको छ ।’ उनले आफ्नो प्रयोगका लागि बारीमा गुर्जाे रोपिएको बताए । ‘लकडाउनपछि गुर्जाे माग्न धेरै आउंँछन्, औषधि हो, सङ्कटका बेला दिनुपर्छ भनेर अलिअलि सबैलाई दिने गरेका छौँ’, विष्टले भने, ‘गुर्जाे खानेको संख्या ह्वात्तै बढेको छ ।’ गुर्जाे खोज्न महिलाहरु यतिखेर नर्सरीमा जाने गरेका छन् । ‘कोरोना भाइरस संक्रमणबाट बच्न गुर्जाे प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जाे खान थालेका छन्’, स्थानीयवासी सीताकुमारी खनालले भने, ‘पहिले सजिलै पाइने गुर्जाे यतिखेर पाउन गाह्रो भएको छ ।’ गुर्जो कैलालीका सबैजसो सामुदायिक वन तथा नर्सरीमा पाइन्छ । ‘यो लहराजस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ’, खनाल भन्छन्, ‘यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।’ पछिल्लो समय आयुर्वेद स्वास्थ्यकर्मीले पनि गुर्जाेको प्रयोग गर्न सुझाव दिन थालेका छन् । ‘मानिसमा प्रतिरोधात्मक शक्ति बढाउने भएकाले गुर्जाेको नियमित प्रयोगले लाभ मिल्छ’, टीकापुर आयुर्वेद अस्पतालका प्रमुख अशोककुमार मिश्रले भने, ‘सुत्केरीले बाहेक सबैले गुर्जाे प्रयोग गर्न सक्छन् । नेपालमा जहाँ पनि पाइने गुर्जाे जडिबुटीको रुपमा प्रयोग गर्ने बानी बसाल्न हो भने स्वस्थ रहन सकिन्छ ।’ भागीरथी पोलिक्लिनिक टीकापुरका आयुर्वेदिक चिकित्सक बमबहादुर सिंह नेपाली गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई फाइदा गर्ने बताउँछन् । ‘प्रतिरोधात्मक शक्ति बढाउने भएकोले धेरैले सेवन गर्न थालेका छन्’, डा नेपाली भन्छन्, ‘गुर्जोसँगै अन्य औषधि पनि आवश्यक हुन्छ । यसको सेवनले घाटा भने गर्दैन ।’

काम नहुँदा सामल सकियो, राहत पाइएला त ?

सर, म नेपाली नागरिक होइन र ? मलाई नागरिकता नभएको भन्दै राहत दिएनन् । मलाई भोक लाग्दैन र ? यो पीडा मिश्रित भनाइ हो कमानसिंह लामाको । नुवाकोटको रानीपौवा घर भएका ५२ वर्षीय लामा विगत एक वर्षदेखि कीर्तिपुर नगरपालिका वडा नं ६ मा ज्यामी मजदूरी गर्दै आएका छन् । स्थानीय उपभोक्ता समितिले निर्माण गर्न लागेको सडकमा काम गर्न नुवाकोटबाट कीर्तिपुर पुगेका लामासँग नागरिकता छैन । नागरिकता घरमै छाडेर आएको उनी बताउँछन् । मलाई नागरिकता नभएका कारण वडाले बाँडेको राहत पाउन सकिन । स्थानीय नागदह नजिकैको लप्सीबोटमा भेटिएका लामा आफूलाई वडा (स्थानीय सरकार)ले राहत नदिएर सौतिने व्यवहार गरेको बताउँछन् । लामासँग नाति उमेरको कुमार लामा पनि बस्नुहुन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलने डरले सरकारले ‘लकडाउन’ घोषणा गरेको पनि लामो समय भयो । काम नहुँदा खाने सामल सकियो लामाको । स्थानीय वडाले केही दिन खाना पकाएर खुवायो । व्यवस्थापन मिल्न नसकेको भन्दै खाना पकाउने काम पनि बन्द भयो । त्यसो त के कतिलाई खाना खुवाउने भन्ने स्पष्ट तथ्याङ्क नहुँदा सो कार्य बन्द भएको नागदह आसपासमा बस्ने दैनिक ज्यालादारी गर्ने श्रमिक बताउँछन् । स्थानीय समाजसेवीले सो क्षेत्र आसपासमा बस्नेलाई आफ्नै पहलमा गाँस काटेर भए पनि बचाइराखेका छन् । सधैँ उनीहरु पनि सेवा गर्न सक्ने अवस्थामा छैनन् । समस्यामा परेका दैनिक ज्यालादारी, श्रमिक तथा विद्यार्थीका लागि व्यवस्थापन गर्ने दायित्व स्थानीय जनप्रतिनिधिको हो । उनीहरु पनि जिम्मेवार नदेखिएको स्थानीयवासी गुनासो छ । स्थानीय तहले भने आफूहरु निरन्तर व्यवस्थापनमा लागिपरेको बताउँदै आएको छ । लामा भन्छन्, ‘दाल, चामल भए हुन्थ्यो । नून त एक महिनालाई पुग्नेछ ।’ उनी भन्छन्, ‘ज्यामी काम गरेर कमाएको पैसा ‘लकडाउन’ हुनुभन्दा पहिल्यै घर पठाए । अहिले पैसा पनि छैन, खाने सामल पनि छैन ।’ उनीसँगै आश्रय लिएका कुमार पनि आफूहरुलाई केही चामल पाएहुन्थ्यो जस्तो लागेको बताउनुहुन्छ । सोह्र वर्षका लामा पनि कमानसिंहसँगै ज्याबेल चलाउन आएका हुन् । यस्तै फिरोज मिया पर्सा नग्वाबाट काठमाडौं आएका हुन् । मिस्त्रीको काम गर्न आउनुभएका मियाको परिवारमा चार जना छन् । दश महिनाको छोरी पनि छ । लकडाउनका कारण दैनिक गर्दै आएको काम रोकिएपछि के खाने भन्ने चिन्ताले सताएको छ । रु चार हजार भाडा तिरेर हिमाल सिमेन्टको कारखाना नजिकै बस्दै आएका मियालाई पनि अरु सहयोग नभए पनि खाने चामल र दाल भए हुन्थ्यो भन्ने लागेको छ । ऋण धन गरेर भए पनि बस्ने इच्छा भए पनि सबैतिर उस्तै समस्या रहेकाले कसले आफूलाई सहयोग गर्ला र भन्ने चिन्ताले सताएको छ उनलाई । ‘घर जान मन थियो, सवारी साधन चलेका छैनन, यी लाला बाबा भोकै पर्लान् कि भन्ने ठूलो चिन्ता छ, केही सहयोग पाइन्छ र सर’, मियाले भने । पर्साकै दीपेन्द्र कुमाल पनि पाँच जनाको परिवारका साथमा सोही स्थानमा बस्दै आएका छन् । आठ, छ र चार वर्षका तीन वटा बच्चा छन् । “भोक लाग्यो भन्छन्, हामीले कही कतैबाट सहयोग पाएनाैं । कि त हामीलाई घर जाने वातावरण बनाइदिनुप¥यो होइन भने केही खाने सामल उपलब्ध गराइदिनुपर्यो”, उनी पीडा पोख्छन्। स्थानीय वडाबाट राहत नपाएको बताउँदै उनी समाजसेवी महिला समूहले भने आफूहरुलाई पाँच किलो चामल, दाललगायतका सामग्री उपलब्ध गराएको बताउनुहुन्छ । उहाँले राहत दिने महिला समूहलाई भने धन्यवाद दिए । यस्तै भारतको मोतीहारीका साहिल मिया पनि उनीहरुसँगै बस्छन् । विपद्को समयमा सबै नागरिकलाई सेवा र सुरक्षा प्रदान गर्नुपर्ने भए पनि आफूले कुनै राहत नपाएको गुनासो गर्नुभयो । एक वर्षको बच्चा र श्रीमतीसहित बस्दै आएका मियाको परिवारलाई स्थानीय समाजसेवी मनोज रानालगायतले केही राहत उठाएर दिएका छन् । स्थानीय समाजसेवी राना समस्यामा परेका, दैनिक ज्यालादारी गर्ने श्रमिकलाई आफूहरुले पहल गरेर केही राहत दिए पनि त्यो पुग्दो नभएको बताउँछन् । स्थानीय महिला समूह तथा समाजसेवीको पहलमा राहत दिइए पनि कोही सहृदयी मनले राहत प्रदान गर्ने इच्छा राखेको र त्यसको आफूहरुले सहजीकरण गरिदिएको उनी बताउँछन् । नागरिकता नभएका तथा कुनै परिचयपत्र नभएका नागरिकले राहत नपाएको र राहत वितरणमा विभेद गरेको गुनासो आइरहेका बेला कीर्तिपुर नगरपालिका– ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन भने आफूहरुले सबैलाई राहत प्रदान गरेको बताउँछन् । उनी भन्छन् , ‘हामीले नागरिकता नभएकालाई पनि राहत दिएका छौँ । कोही कसैले राहत नपाएको भए वडा कार्यालयमा सम्पर्क गर्न म आग्रह गर्दछु ।’ वडाअध्यक्ष महर्जन कोही कसैले पनि वडाभित्र भोकै बस्नु नपरोस् भनेर लागिपरेको बताउँछन् । कोही समस्यामा परेको भए आफूलाई सोझै सम्पर्कसमेत गर्न उनको आग्रह छ । रासस