जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता

टोकियो । जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्र बनाएका छन् । जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भिषण वर्षाका कारण बाढीले व्यापक जनधनको क्षति गरेको अधिकारीहरुले बताएका छन् । मौसम पूर्वानुमान विभागका अनुसार क्युसुलाई केन्द्रविन्दु बनाएर अझै ठूलो वर्षा हुने देखिएको छ । जापानको पश्चिमी आधाजसो भागलाई प्रभावित तुल्याएको वर्षा पूर्वी क्षेत्रतर्फ अघि बढेको देखिएको छ । फुकुओकामा जापानी सेनाले मानिसलाई निकै जोखिमका साथ घरघरबाट उद्धार गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनले प्रशारण गरिरहेका छन् । फुकुओकामा एक अधवैंसे महिला आफ्ना परिवारजनको उद्धारका लागि गए पनि बाढीको पानी उनको घाँटीसम्म पुगेको थियो । विपद व्यवस्थापन विभागले कुमामोतोको नदी किनारा क्षेत्रबाट मात्र ४९ जनाको शव निकालिएको जनाएको छ । अर्की एक वृद्धा भने घरभित्रै मृत अवस्थामा भेटिएकी थिइन् । जापानको तेस्रो ठूलो द्वीपको रुपमा रहेको क्युसुबाट करिब ३० लाख मानिसलाई अन्यत्र सुरक्षित स्थलमा जान सरकारले आदेश दिएको छ । हाल उद्धार कार्यमा दशौं हजार सेना, प्रहरी र अरु उद्धार कार्यकर्ता अहोरात्र खटिएका छन् । खासगरी कुमा नदीको आसपासमा बाढी र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । उद्धारकार्यमा निरन्तरको वर्षासँगैको बाढीले अबरोध गरिरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।   रासस–एपी

इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प

जकार्ता । भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् । सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । रासस–एएनआई

क्रिकेट खेलाडी सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडाैं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा १ करोड ५६ लाख रूपैयाँमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो । ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सिपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपसँगै अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियाका बेन डंक पनि सिपीएलका लागि एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । सन्दीप सिपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् । यसअघि उनी सिपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । यस वर्षको सिपीएल ट्रिनिडाड एण्ड टोबागोमा आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म आयोजना गरिने भएको छ । कोरोना भाइरसका कारण उक्त समयमा प्रतियोगिता हुने नहुनेबारे भने अन्योल नै छ ।  रासस