काभ्रेपलाञ्चोककाे भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए । “भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्”, उनले भने । उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हनेछ । इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथो प्रोटेबल सेटहरू निर्माण गरिने अध्यक्ष दाहालले बताए । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ । ‘मिनी फिल्मी सिटी’ को अवधारणा लिइएको यस योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने काम अघि बढाइएको हो । स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरिएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । “बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो”, उनले भने । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाई काम शुरु गरिने जनाइएको छ । “नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ”, अध्यक्ष दाहालले भने । रासस

सरकारले चलचित्र उद्योगलाई अनुदान दिने, माघ १ गतेबाट सिनेमा घर खुल्ने

काठमाडाैं । सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुनेभएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल सरकारले बीमा, भिपिसी कस्ट, इन्कोडिग कस्ट, प्रचारप्रसार तथा पब्लिसिटिमा आर्थिक अनुदान दिने निर्णय भएको बताए । नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर फिल्म उद्याेगका सबै गतिविधिहरु गर्न पनि अनुमति दिएको छ । आगामी माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शनसँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको अध्यक्ष अधिकारीले बताए  । चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताए । उनले यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने वातावरण बनेको बताए ।

पल्सर स्पोर्टस् अवार्ड: गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

काठमाडाैं । पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जितेका छन् । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित भएका हुन् । गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् । गौरीकाले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक गरी नौ पदक जितेकी थिइन् । उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी थिइन् । गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जितेकी थिइन् । गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाएकी थिइन् । उनले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ । मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जितेका हुन् । यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक जितेका थिए । उक्त प्रतियोगितामा मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण पदक जितेका थिए । उनले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जितेका थिए । महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो । गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । बङ्गलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । उक्त टोलीको प्रशिक्षक जगदीशप्रसाद भट्ट रहनुभएको थियो । सो प्रतियोगितामा नेपालले खेलेका सबै छ खेलमा विजयी भएको थियो । यस्तै गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो । महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली महिला टोलीले सागमा पहिलोपटक रजत पदक प्राप्त गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारसँग ३–२ सेटले हार व्योहोर्न पुगेको थियो । पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जितिन् । उनले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जितेकी हुन् । अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गरिन् । उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ रहे । उनले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गरे । तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहिन् । उनले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गरिन् । चौथो स्थानमा रहनुभएकी पौडीकी गौरीका सिंहले १३ दशमलव तीन प्रतिशत तथा पाँचौँ स्थानमा रहेकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सात दशमलव दुई प्रतिशत मत प्राप्त गरिन् । अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो । पोखरामा पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सागमा नेपालले रजत पदक जित्दा शाहीले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि उनले नै कप्तानी गरेकी थिइन् । यसैगरी उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जिते । उनले सागमा दुई स्वर्ण पदक जितेका थिए । सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बू, भारत्तोलनकी सञ्जु चौधरी तथा जुडोकी पुनम श्रेष्ठलाई पछि पारेका हुन् । यसैगरी एउटै खेलबाट सर्वाधिक १२ स्वर्ण पदक दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्कीलाई उछिन्दै उक्त अवार्ड जितेका हुन् । टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । दुवै जना सन् १९९१ मा आयोजित पाँचौँ दक्षिण एशियाली खेलकूदका स्वर्ण विजेता हुन् । नेपाली महिला खेलाडीले सागमा जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो । यस वर्षको स्पेसल अवार्ड एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा तेक्वान्दोकी आयशा शाक्यले संयुक्तरूपमा प्राप्त गरिन् । दुवै जना १३औँ सागका स्वर्ण विजेता हुन् । उनीहरु आ–आफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन् । यस्तै आयशाले १३औँ सागमा दुई स्वर्ण पदक जितेकी थिइन् । उनले तेक्वान्दोको पुम्सेतर्फ एकल तथा टिम स्पर्धामा स्वर्ण जितेकी हुन् । पारा एथ्लिट अवार्डबाट यस वर्ष ह्वीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरिएको छ । हरेक वर्षको विश्व खेलकूद पत्रकार दिवस, जुलाइ २ मा आयोजना गरिँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष छ महिनापछि धकेलिएको हो । हंशराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी तथा वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरेका छन् । अन्य विधाका विजेताले भने जनही ५० हजार पुरस्कार प्राप्त गरेका छन् । दश विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथलिट सम्मान, टिम अफ द इयर तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो । ललितपुरको सातदोबोटोस्थित कराते हलमा कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रूपमा आयोजना गरिएको थियो । रासस