विदेशमा ठक्कर, स्वदेशमा अवसर

ढोरपाटन । समथर भू-भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका-४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका अधिकांश युवाशक्ति विदेशमा छन् । यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिकरूपमा प्रयोग गरेका छन् । युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकेको छ । गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन् । पौडेल र सुवेदी ज्वाइँ-जेठान छन् । पौडेल पनि विदेशमा हण्डर खाएर फर्किएपछि व्यावसायिक तरकारी खेती गर्ने सोच आएको हो । तेत्तीस वर्षीय प्रकाशसँग तीन वर्ष अफगानिस्तान र तीन वर्ष मलेसियामा पसिना बगाएको अनुभव छ । गोविन्द भने अहिलेसम्म विदेश गएका छैनन् । पौडेलसँग विदेशमा भोगेको भोगाइको फेहरिस्त छ । विदेशमा २० घण्टासम्म कडा परिश्रम गर्दासमेत आफूले सोचेजस्तो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएका पौडेललाई अहिले तरकारी खेतीबाट सन्तुष्टि मिलेको छ । चार वर्ष अगाडि ज्वाइँ-जेठानको संयुक्त लगानीबाट सुरु भएको तरकारी खेतीले अहिले खुसीसँगै आम्दानी पनि दिन थालेको छ । पाँच लाख रुपैयाँबाट सुरु गरेको व्यवसायमा हालसम्म ११ लाख रुपैयाँ बढी लगानी गरिसकेको पौडेलको भनाइ छ । कृषिसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका पौडेल र सुवेदीलाई सुरुआती चरणबाटै सफलता हात पर्न थालेको छ । परिवारसँगै पौडेल बिहानदेखि बेलुकासम्म बारीमै काम गर्छन् । तरकारीका बीच-बीचमा उम्रेका झारपात उखेल्नेदेखि भर्खर फल्न थालेका तरकारीलाई झाल हाल्ने र बारी खन्ने काम उनीहरूको दैनिकी हो । घर पर्वतमा भए पनि कुँडुलेमा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका उनीहरूले जग्गा भाडामात्रै वार्षिक करिब एक लाख तिर्ने बताउँछन् । ज्वाइँ-जेठानले ‘मुक्तिनाथ एकीकृत कृषि फार्म’ दर्ता गरी व्यवसाय अघि बढाएका छन् । व्यवसाय फस्टाउँदै गएपछि पौडेल र सुवेदीसँगै उनका परिवार पनि खुसी भएका छन् । पौडेल भन्छन्, ‘सुरुमा ठूलो पैसा कमाउने आशले विदेश गइयो, तर विदेशमा जति दुःख, सङ्घर्ष गर्ने हो भने यहाँ पनि राम्रो कमाइ गर्न सकिन्छ, अहिले यहाँ त त्यसरी मरिमेटी काम गर्न परेको छैन, सीमित समय काम गरे पुग्छ, विदेशमा निकै दुःख गरियो, न बिरामी हुँदा उपचार, न भोक लाग्दा समयमै खाना, अहिले आफ्नै परिवारसँगै काम गर्दा रमाइलो लाग्छ ।’ पौडेललाई विदेशमा छ वर्ष बिताएकामा अहिले पश्चताप लाग्छ । उनी स्वदेशमै व्यवसाय तथा अन्य काम गर्दा देश परिवर्तनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्छन् । विदेशमा बेच्ने श्रम आफ्नो गाउँठाउँमै गर्न सके समाज परिवर्तनसँगै आफ्नो परिवारको पनि जीविकोपार्जनमा सहजता आउने उनको भनाइ छ । व्यवसायलाई थप प्रवद्र्धनका लागि लगानी बढाइराखेको उनी बताउँछन् । कृषकका लागि धेरै अनुदान तथा कार्यक्रम आए पनि वास्तविक कृषकले नपाएको गोविन्दप्रसाद बताउँछन् । अहिलेसम्म कृषि ज्ञान केन्द्रले एक लाख ५० हजार रुपैयाँको टेनलबाहेक सहयोग नभएको भन्दै नगरपालिकाबाट कुनै पनि सहयोग पाउन नसकेको गुनासो गर्छन् । कृषकलाई प्राविधिक, समय-समयमा तालिम, मल, उन्नत जातका बीउबिजन र किटनाशक औषधि उलब्ध गराउन सके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने सुवेदीको भनाइ छ । ‘यहाँ कृषिमा ठूलो सम्भावना छ, अहिले हामीहरूले सा-सानो फार्म चलाएर पनि जीविकोपार्जन गरेका छौँ, खाडी मुलुकमा जानुपरेको छैन, साउदी, कतारमा कमाउने दाम यही पनि कमाइन्छ,’ उनले भने, ‘तर राज्यले दिने सेवा सुविधा निर्वाहमुखी कृषकलाई र व्यावसायिक कृषक एउटै भएको छ, राज्यले व्यावसायिक कृषकलाई प्राथमिकता दिनुपर्छ, अहिले अनुदान पाउनेमा व्यावसायिक कृषकभन्दा बढी निर्वाहमुखी कृषक छन् ।’ सुवेदीले बाहिरबाट विषादी प्रयोग भएर आउने तरकारीले गर्दा आफूहरूले उत्पादन गरेका तरकारीले बजार नपाउने समस्या भएको बताए । बजार पाए पनि निकै कम मूल्यमा बेच्न बाध्य भएको उनले सुनाए । उनीहरूले आधुनिकतालाई पनि आत्मसाथ गर्दै, नयाँ प्रविधिबाट सिँचाइ र तरकारी खेतीको सुरुआत गरेका छन् । बारीमा आधुनिक प्रविधिको थोपा सिँचाइमार्फत तरकारीमा पानी लगाउने र मिनी टेलरमार्फत बारी खनजोत गर्दै आएका छन् । उनीहरूले मल, बीउलगायतका आवश्यक सामग्री बाहिरबाट लिएर तरकारीका बिरुवा आफैँ उत्पादन गर्ने गर्छन् । पौडेल र सुवेदीले आम्दानी गरेको अधिकांश रकम व्यवसायमै लगाउँदै आएको बताउँछन् । लागानी गरेर पनि वार्षिक तीन लाख रुपैयाँभन्दा बढी नाफा कमाउँदै आएको उनीहरूको भनाइ छ । व्यवसायलाई थप व्यवस्थित र ठूलो बनाउने योजनामा रहेका उनीहरूले आगामी वर्षमा अहिलेको भन्दा दोब्बर आम्दानी गर्ने गरी योजना बनाएका छन् । विदेशमा हण्डर खाएर फर्किएका युवा बागलुङमा धेरै छन् तर, पौडेल र सुवेदी जसरी व्यवसाय कमैले मात्रै गरेका छन् । कृषि ज्ञान केन्द्र बागलुङमा हरेक वर्ष करोडौंका बजेट आउने गरेका छन् । त्यो बजेटलाई कृषकसम्म सहजरूपमा पुर्याउने गरी काम गरिरहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । जिल्लामा पछिल्लो समय व्यावसायिक कृषिमा लाग्ने युवाहरू बढेको भन्दै उनीहरूलाई आधुनिकतासँगै जोड्न थालेको उनी बताउँछन् । ‘कृषकका हरेक समस्यालाई समाधान गर्दै जाने चरणमा छौं, सबैका समस्या एकैपटक समाधान हुनसकेका छैनन्, अहिले जिल्लामा कृषकले उत्पादन गर्ने तरकारीहरूले उचित बजार र मूल्य पाउन नसकेको सत्य हो,’ उनले भने, ‘जिल्लामा खपत भइरहेको छ, टाढा-टाढा पुर्याउनुपरेको छैन, बाहिरबाट आउने तरकारीलाई रोक्न सक्ने हो भने यहाँका कृषकलाई ठूलो राहत मिल्छ ।’ रासस

कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा ४ कार्यकाल महासचिव र ३ कार्यकाल उपाध्यक्ष रहिसकेका छन् । ‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ, आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु, मैले घोषणा गरेका अधिकांश काम गर्नेछु, कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष निरौलाले भन्ने । उपाध्यक्षमा कविता गेलालले १५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले १४० मत तथा महासचिवमा सविन श्रेष्ठले ११२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले २२३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक ३०२ मत ल्याएर विजयी भए । अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ २८७, उद्धवप्रसाद भट्टराई २११, पवन केसी २०२, नम्रता खरेल १८७, पुकार भट्टराई १८२, खुश्बु खड्का १७७, सरिता राधोपाध्याय १४६, रोशन श्रेष्ठ १३५ र समीर लामा १३३ मत प्राप्त गरेर विजयी भएका हुन् । झन्डै ७ सय सदस्य रहेको सङ्घको निर्वाचनमा ४६८ मत मात्र खसेको थियो ।

ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकिय सचिव धीरेन्द्र शाहीले जानकारी दिए । यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई रु एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही रु ५० हजार पुरस्कार दिने निर्णय भएको शाहीले बताए । एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ । प्रदेश सरकारको पुरस्कार घोषणाप्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको घोषणा निकै प्रसंसनीय रहेको उल्लेख गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहलाई धन्यवाद दिए । ‘अन्य प्रदेश सरकारबाट पनि खेलाडीलाई प्रोत्साहन मिल्ने हामीले आशा गरेका छौँ’, उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तह सबैबाट खेलाडीको भविष्य सुनिश्चितका लागि सक्दो सहयोगको आवश्यकता छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका सुदुरपश्चिमका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू–१९ टोली हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपाल सन् २०२४ मा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका सुदूरपश्चिमका पाँच खेलाडीलाई जनही रु एक लाख तथा प्रशिक्षक र व्यवस्थापकसहित चार जनालाई जनही रु ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमबाट दीपक बोहरा, दीपक बोहरा ९बी०, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द सहभागी थिए । यस्तै टोलीमा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए ।