सुन्दरता के हो ?

काठमाडौं । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चर्चा गरे । विश्वमै फरक फरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ (सुन्दरता एउटा जाल हो) विषयमा चर्चा गर्दै आफ्नो बुझाइ राखे । जेठ ५ गतेबाट प्रदर्शनरत चलचित्र ‘डाकिनी’ को नेपाल प्रदर्शनका लागि उनी नेपालमा छन् । चलचित्र ‘द कप’,‘ट्राभल्स एन्ड म्याजिसियन्स’, ‘हिमा हिमा ः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’ लगायतका उनी निर्देशित चलचित्र विश्वभर प्रख्यात छन् । त्यसैले पनि उनको नेपाल आगमन चलचित्र प्रेमीका निमित्त खास छ । विश्वभरका चलचित्रकर्मीसँग काम गरेका निर्देशक नोर्बुले ‘चलचित्रको सुन्दरता’ के बुझेका छन् त ? उनको सरल जफाव छ,’जे तटस्थ छ, त्यहीँ सुन्दर छ ।’ उनले चलचित्रलाई बुझ्ने तरिका र शैली अन्यभन्दा फरक छ । अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ मार्फत विश्वभर प्रदर्शन भएको चलचित्र ‘डाकिनी’मा बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन् । देवी खोजिने चलचित्रमा बौद्ध ग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ । काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही संकेत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्रको कथा बगेको छ । सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र संघर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई निर्माण गर्दा तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ । उनले भने झैँ चलचित्रमा प्रस्तुत हुने चरित्र सकारात्मक होस् या नकारात्मक हामीले यस्तो होला ? भन्ने अनुमान गरिहाल्छौँ । चलचित्रमा गीत हुनुपर्छ, द्वन्द्व हुनुपर्छ भन्ने हाम्रो मानसिकता नै छ । अभिनेताले नकारात्मक चरित्र निर्वाह गरेका सयौँलाई पिट्न सक्छ । यो हामीले देख्दै आएको चलचित्रको शैली वा प्रस्तुतीकरण हो । तर, पर्दा भन्दा बाहिर सम्भव छ त ? छैन भने समाजसँग कसरी जोडिएको छ ? वा समाजको कथालाई पर्दामा न्याय गरेको छ त ? निर्देशक नोर्बु भन्छन्, ‘चलचित्र बनाउँदा चरित्रलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याउनु पर्छ । तर, चलचित्रहरूमा निर्देशकको स्वार्थअनुसार चरित्र निर्माण भइरहेका छन् । ती स्वतन्त्र छैनन् ।’ उनले निर्देशन गरेको ‘डाकिनी’ सरल छ । ‘प्रयास गर्नुपर्छ । पात्रलाई चरित्र अनुसार छोड्नु पर्छ । ऊ पर्दामा नभई दैनिकीमा हिरो बन्न सक्नुपर्छ’, उनले भने, ‘चलचित्र भन्ने बित्तिकै तयार हुने वा बुझिने चित्रलाई भत्काउनु जरुरी छ । अनिमात्र चलचित्र बनाउन सकिन्छ ।’ चलचित्रलाई निर्देशकले निर्देशन गरेता पनि आफ्नो रोजाइलाई प्रस्तुत गर्न नहुने उनी बताउँछन् । निर्देशक चरित्र बाँचिरहेका पात्रलाई सोही अनुरुप पर्दामा ल्याउने माध्यम मात्र बन्नुपर्ने उनको बुझाइ छ । चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सकेमात्र फरकपन महसुस हुने उनको भनाइको तात्पर्य थियो । ‘हाम्रो शैलीमा भिन्नता आए कथा फरक हुन्छ । म चलचित्रमा नदेखिउँ (निर्देशककै स्वार्थमा मात्र नबनोस्) भन्ने लाग्छ । अनिमात्र म कथा भन्न सफल हुन्छु । नत्र त्यो मेरोअनुसार चल्ने चित्र बन्छ’, उनले भने । लगभग तीन सय चलचित्रकर्मी र प्रेमीमाझ उनले आफूले गरेको काम र आफ्नो बुझाइलाई प्रस्तुत गरिरहेका थिए । सुन्दरताको स्थापित मान्यता वा खोजिन सक्ने तथ्यलाई महसुस गर्न उनले सुझाए । चलचित्रलाई उनी माध्यमका रुपमा बुझ्छन् । उनको चलचित्रमा ठूला घटना क्रम हुँदैनन्, छैनन् पनि । किनकि उनी समाज वा वास्तविकताभन्दा बाहिरका चित्रमार्फत दर्शकलाई प्रभावित पार्न चाहन्न । वास्तविकतासँग नजिक रहेर पात्रलाई यात्रा गराउन चाहन्छन् । उनले चलचित्र निर्देशन गर्ने तय गरेपछि अनुसन्धान गरे । आम मानिस भेला हुने, बस्ने शैलीलाई नियाले । चलचित्रभित्र एउटा चिया पसल देखाइएको छ । जहाँ बज्ने गीतसङ्गीतका विषयमा उनले सोही ठाउँमा पुगेर अध्ययन गरेका रहेछन् ।  ‘चिया पसलमा नेपाली साथीहरुसँग पुगेँ । त्यहाँको माहोल बुझ्ने कोसिस गरेँ । रेकर्ड गरेँ । नबुझेका कुरा नेपाली साथीलाई सोध्थेँ’, उनले भने । त्यसो त यो चलचित्र बन्ने तय एक ट्रेकिङको समयमा भएको रहेछ । नेपाली कथालाई पर्दामा ल्याउने तय भएपछि ‘डाकिनी’ तयार भयो । झन्डै १० करोड बजेटको यो नेपाली निर्माता संलग्न भएको संवत् अहिलेसम्म कै महँगो चलचित्र हो । तर, यसको व्यापारको विषयमा कहिले चर्चा भएन । यसको निर्माणमा षट्कोण आर्टससमेत रहेको छ । यसले जात्रा, जात्रै जात्रा र महापुरुष जस्ता समीक्षात्मक र व्यावसायिक रूपमा सफल चलचित्र निर्माण गरिसकेको छ । “यो एउटा कला हो । किनकि यो स्वतन्त्र रहेर निर्माण गरियो । अहिले प्रदर्शनमा पनि कति चलचित्र भवन ? सो सङ्ख्या ? यो विषयमा चर्चा नै हुँदैन । यसको प्रभाव वा कस्तो बनेको छ भन्ने विषयमा मात्र हामी छलफल गरिरहेका छौँ”, निर्माता मध्येका एक रवीन्द्रसिंह बानियाँले भने । चलचित्र निर्माण हुँदा र अहिले प्रदर्शन हुँदासम्म उनको बुझाई फरक भइसकेको छ । आफू निर्मित पछिल्ला चलचित्र कही कतैबाट निर्देशित त होइनन् ? भन्ने सोच उनमा आउँछ । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायांकन पनौती र पाटनमा भएको छ । चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव लगायतले अभिनय गरेका छन् । रासस

कैलालीमा अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

कैलाली । डिभिजन वन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको हो । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा राजमार्ग छेउमा बनाइएका दुईसयभन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसँगै आसपासको वनक्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउने कार्य सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । उनका अनुसार विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन सूचना जारी गरिएको छ । उनले कैलालीको सबैभन्दा ठूलो वसन्ता वन क्षेत्रमा व्यापक अतिक्रमण भएकाले सो स्थानमा अतिक्रमण खाली गर्न पत्राचार गरिएको बताए । यसैगरी कैलालीको चुरे गाउँपालिका–४ पनेरुवा र टाकगडामा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइएको छ । डिभिजन वन कार्यालयले एक सय पाँच हेक्टर वन क्षेत्र खाली गराइएको जनाएको छ । टाकगडाका एक सय ३५ टहरा डोजर लगाएर भत्काइएको डिभिजन वन कार्यालयका अधिकृत डबल बोहराले जानकारी दिए । उनले चुरे–४ पैनेरुवामा समेत तीन सय ५० टहरा भत्काइएको बताए । सो क्षेत्रमा ४७ हेक्टर अतिक्रमण गरिएको वन खाली गराएको जनाइएको छ । चुरे फेदीको टाकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका थिए । बोहराले भने, ‘पहिलेदेखि नै हामीले पटकपटक गोदावरी र चुरेका डाँडामा भइरहेको वन अतिक्रमण हटाएका थियौँ, तर हटाएको भोलिपल्ट नै आएर बसिहाल्छन्, यसअघि पनि वन कार्यालयले सोही स्थानमा पटकपटक भौतिक संरचना भत्काउँदै आएको थियो ।’ सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते गोदावरीको तेघरीमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्नेक्रम बढेको स्थानीयको भनाइ छ । सो क्षेत्रमा बाढीपीडित तथा सुकुम्बासीका नाममा जङ्गल छेउमा बस्दै आएका पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । डिभिजन वन कार्यालयका अनुसार कैलालीमा अहिलेसम्म २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको बताइएको छ । यो तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीमा वन अतिक्रमण भएको देखिएको छ । रासस

सुकुम्बासी भन्छन् : ‘भूमि आयोगले लगत उठाउन ढिलो किन ?’

झापा । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तक्र्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा गुनासो गरेका हुन् । कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको सुकुम्बासीसम्बन्धी कार्य प्रगतिबारे जिज्ञासा राखे । उनले जिल्लाका अन्य पालिकामा काम भइरहे पनि बिर्तामोडमा आयोगले काम गर्न र लगत उठाउन ढिलो किन ? गरेको जनाउँदै प्रश्न गरे । अर्का सहभागी बिर्तामोड–१० का मानबहादुर श्रेष्ठले सुकुम्बासीलाई नगरवासी बनाइदिन आयोगका सदस्यलाई आग्रह गरे । पूर्व–पश्चिम रेलमार्गले धेरै सुकुम्बासीको उठिबास हुनलागेको जनाउँदै उनले चिन्ता व्यक्त गरे । ‘मुआब्जाका लागि हामीसँग धनीपुर्जा छैन’, उनले भने, ‘घरबास नै उठ्ने अवस्था छ, धनीपुर्जा छैन, हाम्रो उठीबास हुने भयो ।’ कम्युनिष्ट पार्टीले सर्वहाराको पक्षमा काम गर्ने भन्ने गरिए पनि बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै जना कम्युनिष्ट भए पनि सुकुम्बासीको समस्या समाधानमा चासो नदिएको उनको गुनासो छ । सहभागीको प्रश्नको जवाफ दिँदै राष्ट्रिय भूमि आयोग झापाका सदस्य सानुकुमार लामाले बिर्तामोड नगरपालिकाले आयोगमा सुकुम्बासीको सूची नै नपठाएको बताए । समस्या लिएर नगरपालिका जाने सुकुम्बासीलाई आयोगमा जानु भनेर पठाउने तर आयोगमा कुनै कागजात नपठाउँदा धेरै मानिसले दुःख पाइरहेको उनको भनाइ छ । साविकमा वन जनिएको जग्गा एकपटकलाई भए पनि जो बसेको छ उसलाई धनीपुर्जा दिनु भन्ने नियमावलीमा उल्लेख भएको उनले बताए । ‘स्थानीय पालिकाले निस्सा नबाँडी अन्य प्रक्रिया नै सुरु हुँदैन’, उनले भने । कार्यक्रममा उपस्थित अधिकांशले बिर्तामोडमा निस्सा नपाएको बताएका छन् । कार्यक्रमका नेकपा माओवादी केन्द्रीका केन्द्रीय सदस्य धर्मशीला चापागाईँले सुकुम्बासीको समस्या जटिल भएको जनाउँदै आफूले २०४८ सालदेखि समस्या समाधान गर्न पहल गरिरहेको बताए । रासस