आयुर्वेदिक औषधिको काम गर्ने तुलसीको दल मठमा राखियो
काठमाडौं । आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरका मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । भगवान् विष्ण क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्ध आदि गर्नु नहुने शास्त्रीय विधि छ । यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आजका दिन सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । पानी पनि नपिई गरिने एकादशी व्रत भएकाले आजको एकादशीलाई निर्जला एकादशी भनिएको हो । आयुर्वेदिकरुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजा आराधना गर्ने परम्परा बसालेको जनाइएको छ । रासस
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाईने
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ । चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार पाँच सय १६ थान नागरिकता वितरण भएको प्रजिअ पाण्डेले दिइन् । यो अवधिमा तीन सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने दुई सय ४४ मुद्दा फर्छ्योट भएको उनले जानकारी दिइन् । प्रशासनले जारी गरेको प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो नौ महिनाको अवधिमा ११ हजार तीन सय नौ वटा राहदानी वितरण गरेको छ । त्यसै गरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ । त्यसै गरी सोही अवधिमा प्रशासनमार्फत जम्मा २० लाख १३ हजार सात सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवं विपन्न परिवारका पाँच सय ३५ जनालाई कम्बल वितरण गरेको उनले बताए । सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको प्रजिअ पाण्डेले बताइन् । यता विकास आयोजनातर्फको अनुगमन शून्य छ भने सुरक्षा निकायको ३९ पटक अनुगमन गरिएको छ । यही अवधिमा जिल्लामा जम्मा एक सय १२ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २६ वटा संस्था नवीकरण भएको प्रजिअ पाण्डेले बताइन् । रासस