नेपालगञ्जका सिनेमा हलमा करोडौँ लगानी

नेपालगञ्ज । नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन् । बागेश्वरी चलचित्र मन्दिरले क्युएफएक्ससँगको समन्वयमा हल आधुनिकीकरण गरेर आधुनिक प्रविधिअनुसार सञ्चालन गरिरहेको बेलामा २५ करोड रुपैयाँ बढीको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ थपिएको छ । ’यो एउटा सिनेमा हलमात्रै होइन, नेपालगञ्जमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो’, सिने रोयलका प्रबन्ध निर्देशक डा राहुल थापाले भने, ’समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट  मनोरञ्जन दिन खोजिएको हो ।’ उनले पश्चिम नेपालमा सिनेमा रुचाउनेहरुका लागि नेपालगञ्जसम्म आउने माध्यमका रुपमा सिने रोयल हुने अपेक्षासहित भारतीय सीमावर्ती जिल्लाका लाखौँ दर्शकलाई यसले आकर्षित गर्ने आशा व्यक्त गरे । पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउन्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित तीन स्क्रिनसहितको मल्टिप्लेक्स हल तयार गरिएको सञ्चालक डा थापाले जानकारी दिए । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशकसमेत रहेएका उनको योजना र लगानीमा नेपालगञ्जमा यो सुविधासम्पन्न हल निर्माण भएको हो । नेपालगञ्ज–१० आदर्शनगरमा हलसँगै तत्काललाई क्याफ्टेरिया पनि सुरु गरी यो स्थानमा बिस्तारै विभिन्न शपिङ आउटलेटसँगै एउटा डिपार्टमेन्टल स्टोर खोल्ने योजना रहेको डा थापाले जानकारी दिए । सिनेमा हल निर्माणका टोली नेता किरण ढकालले सिने रोयल नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउन्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्सन’मा आधारित रहेको बताए । सिनेरोयलमा तीनवटा स्क्रिन छन् । छ सय ५० दर्शक क्षमता भएको सिनेरोयलका दुईवटा प्रतिहल दुई सय ५० क्षमता तथा तेस्रो हल एक सय ५० सिट क्षमताका छन् । बेल्जियमबाट प्रोजेक्टर र हङकङबाट आयात गरिएका थ्रिडी प्रणाली जडान गरिएको उनको भनाइ थियो । प्रतिनिधिसभा सदस्य एवम् नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख डा धवलशम्शेर राणाले सिने रोयललाई नेपालगञ्जको गौरवका रुपमा लिनुपर्ने बताए । यसले नेपालगञ्जको पर्यटनलाई ठूलो टेवा दिनाका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सिने रोयलजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताए । सिने रोयल सञ्चालनमा आउनु नेपालगञ्जका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै उनले नेपाललगायत भारतबाट समेत यहाँ आउने दर्शकले नेपालगञ्ज बजारलाई चलायमान गराउने विश्वास गरे । रासस

त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाद्वारा यही साउन ८ सुरु भई १७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टीमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टिम हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

डिशहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला

काठमाडौं । विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ । ग्लोबीन, द लोनली एन्ड ग्रेट गड, माई लिटल बेबी, रिचमन, किङ इन द लभ, आदि जस्ता चर्चित कोरियन सिरिजहरु डिशहोमको गो एपमा उपलव्ध रहेको छ । यी कोरियन सिरिजहरुले नेपाली दर्शक लाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यस्तै, डिशहोमको गो एप मा १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु पनि हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिन्छ । ‘डिशहोम गो’ एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।