चेस वर्ल्ड कपमा सहभागि हुँदै राष्ट्रिय चेस खेलाडी जैसवाल

काठमाडौं । नेपालका राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कप २०२३मा सहभागी हुने भएका छन् । स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवद्र्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित एफआईठीई चेस वर्ल्ड कप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो । एफआईठीई चेस वल्र्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाईदेखि २४ अगस्टसम्म हुँदै छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्र्तराष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने अवसरको रुपमा लिएको छ । कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोष मार्फत एफआईठीइ चेस विश्व कप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्ने छ । कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउन विश्वास लिएको छ ।

साउन २४ गते २९ औं विश्व आदिवासी दिवस मनाइने

काठमाडौं, ४ साउन । आगामी साउन २४ गते २९ औं विश्व आदिवासी दिवस मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगस्ट ९ का दिन मनाइने विश्व आदिवासी दिवस यस वर्ष पनि सोही दिन मनाउने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए । महासंघको बैठकले साउन २४ गते २९ औं विश्व आदिवासी दिवस मनाउन महासंघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारीहरू सदस्य रहनेगरी मूल समारोह समिति समेत गठन गरेको छ । बैठकले विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गर्ने निर्णय समेत गरिएको महासंघका महासचिव दिवश राईले जानकारी दिए । उक्त समारोहका सन्दर्भमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्‍याली प्रदर्शन गरिने, फुड फेस्टिभलहरू आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने बताइएको छ । विश्व आदिवासी दिवसको सन्दर्भमा अन्य विभिन्न जातीय संघसंस्थाहरूसँग मिलेर साताव्यापी विभिन्न कार्यक्रम गरिने समेत महासंघले जनाएको छ । तर त्यसका लागि पछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने महासचिव राईले बताए । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

कान्तिपुर टेलिभिजनद्वारा सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

काठमाडौं । कान्तिपुर टेलिभिजनमा सन्दीप क्षेत्रीले प्रस्तुत गर्दै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रम रोकिएको छ । महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण रोकिएको टेलिभिजनले बिहीबार सूचना जारी गर्दै बताएको छ । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्ता विवादास्पद बनेको थियो । उक्त अन्तर्वार्ताको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत् व्यापक आलोचना भएको थियो । त्यसपछि टेलिभिजनले उक्त कार्यक्रमलाई युट्युवबाट पनि हटाएको थियो ।