झापाको एउटै पालिकामा २५ सय बिघामा तोरी खेती

बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका ६ वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् । हल्दीबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे । ‘अरु बालीमा जस्तो झन्झट छैन’, उनले भने, ‘मूल्य पनि राम्रो छ ।’ गत वर्ष प्रतिमन छ हजारमा तोरी बिक्री भएको उनले बताए । यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ । तोरी मिल सञ्चालन गर्दै सहकारी यता, हल्दीबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन सुरु गरेको छ । कृषकले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए । ‘किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन गरिरहेका छौं’, उनले भने, ‘सहुलियतमा किसानलाई कृषि सामग्री र मल–बीउ पनि उपलब्ध गराउने गरेका छौं ।’ कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उनको भनाइ छ । सुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आव २०७९र८० मा सहकारीलाई तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि १५ लाख अनुदानसमेत उपलब्ध गराएको छ । ‘खाद्य गुणस्तरको अनुमति लिएपछि ब्राण्डिङ गरेर बजारमा लान्छौं’, उनले भने । सहकारीले हाल खुद्रा खरिद गर्नेलाई रु चार सय २० प्रतिलिटर तेल बिक्री गरिरहेको छ भने ५० लिटरभन्दा बढी खरिद गर्नेलाई चार सय प्रतिलिटर दिने गरेको संस्थाकी व्यवस्थापक उमा राईले बताए । बजारमा पाइने अन्य तेलको तुलनामा महँगो भएकाले जिल्लाका सुपरमार्केट र डिपार्टमेन्ट स्टोरमा तेल बिक्रीका लागि राखिएको उनको भनाइ छ । हल्दीबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालनको तयारी थालेको छ । प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि रु १५ लाख अनुदान उपलब्ध गराएको छ । ‘तेल उत्पादनका लागि ५० प्रतिशत लागत सहभागितामा अनुदान दिइएको थियो’, निमित्त प्रमुख विष्टले भने, ‘अघिल्लो वर्ष अनुदान दिए पनि यो वर्षदेखि कार्यान्वयनको चरण आउँदैछ ।’ सहकारीले स्थानीयस्तरमै तोरीको तेल उत्पादन गरेर बिक्री गरिरहेका छन् । सहकारीले प्याकेजिङ गरेर बजारमा पुर्‍याउन प्रज्ञापन पत्र लिने तयारीसमेत गरिरहेका छन् । सहकारीद्वारा उत्पादित तेल तुलनात्मक रुपमा महँगो भए पनि गुणस्तर राम्रो भएकाले बजार राम्रो रहेको निमित्त प्रमुख विष्ट बताउँछन् । रासस

खै ! म के खोजिरहेको छु ?

यदाकदा हारिरहेको छु । खोजौं, कसलाई खोजौं ? नखोजौं शताब्दीदेखि, कसलाई खोजिरहेको छु । कहिले पहाडको सुसाहटमा, आफैंलाई  हराइरहेको छु । कहिले तराईका फाँटहरूमा, गौँथली बनी आफ्नै अस्तित्व खोजिरहेको छु । प्रेमको अर्थलाई शिव खोज्दै धर्तीमा आएँ, म खोइ के कुराको खोजीमा शताब्दीदेखि खोजिरहेको छु । आफू अनगिन्ती यात्रामा हिँडिरहेको छु । शब्दले शब्दको अर्थ खोजिरहेको छ, प्रश्नले उत्तर खोजिरहेको छ । यहाँ मान्छे मान्छेबिच फाटा छन्, धर्म त यहाँ त्यतिकै  बदनाम भइरहेको छ । जातको निर्माण खोइ कसले गर्यो ? धर्मको स्थापना खोइ कसले गर्यो ? यहाँ मान्छे धर्म र जातका नाममा, एकले अर्कोलाई काटिरहेको छ । संकल्प  र संकल्पका  यात्रीहरू, आफ्नै  संकल्पमा  हिँडिरहेका थिए । खोइ  म  के संकल्प लिएर हिँडिरहेको  थिए ? आफैं अलमलमा अल्झिरहेको छु । भगवानहरू भगवान्त्वको खोजीमा हिँडिरहेका बेला, म आफूभित्रको आत्मज्ञानलाई खोजिरहेको छु । दिब्यदृष्टीमा सबैले आफ्नो अस्तित्व खोजिरहेका छन् । म त्यही दिब्यदृष्टीमा संसारको अस्तित्व खोजिरहेको छु ।

आइएमई पे टिकेटिङ पार्टनर रहेको ‘कन्दरा’ को कन्सर्टमा १० हजार सहभागी

काठमाडौं । कन्दरा ब्यान्डले पोखरामा ‘कन्दरा- लाइभ इन पोखरा’मा प्रस्तुती गरेको छ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई सम्पन्न गरेको छ । संगीत, उर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’को नारा लिएर आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पुस २७ गते शुक्रबार प्रस्तुत गरेको कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम समापन गरेको हो । ‘पहिला घरदेश, अनि परदेश’ को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनि एल्फा स्क्वायर (ए.एस.क्यु) ले जनाए अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यस कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै भने, ‘सबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा हर्षित बनेको जनाउनु साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण हो ।’