गायिका सोना अमात्यको ‘आइ एम द सुपरस्टार’ सार्वजनिक

काठमाडौं । गायिका सोना अमात्यले चर्चित र्यापर गिरिश खतिवडा र तीव्र र्यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ एम द सुपरस्टार सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र संगीत दिँदा गिरिश र ओ२एमएल (पीग इ प्रोड)ले प्रतिध्वनी दिने ताल निकालेका छन् । मुम्बईमा कहलिएका निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा उनले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । छायाँकार आलोक शुक्लाले दृश्यलाई उत्कृष्ट रुपले खिच्दा त्यसको काँटछाटमा विशालले आफ्नो कला देखाएका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन मेनेज गरेको भिडियोको ग्रेडिङ सीएएच४ स्टुडियोले गरेको छ । गीतमा निर्माण डिजाइन, प्रकाश र मेकअपमा क्रमशः इश्वर बल्लभ उप्रेती, इन्द्रलाल श्रेष्ठ, विना पाण्डे तथा कोरियोग्राफर प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीलगायतको सहकार्य छ । सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् ।

इण्डियन आइडलबाट बाहिरिएपछि मेनुकाले भनिन्ः नसोचेको सफलता हात पारेँ

काठमाडौं । गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन् । आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृहजिल्ला झापा आइपुग्नुभएकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन् । उनले भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको बताइन् । आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताउँदै उनले यस्तो सफलता आफूले बिरलै पाउने समेत भनाई राखिन् । साथै, बलिउडमा धेरै गीतहरु गाउनका लागि आफूलाई अफर आइरहेको जानकारी गराइन् । गायिका पौडेललाई सोमबार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । उनले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गरेकी थिइन् ।

गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

बागलुङ । एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो । टाढाटाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै भएका छन् । स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । बागलुङको ढोरपाटनका स्थानीयले अहिले पनि खच्चडको प्रयोग गर्दै आएका छन् । भौगोलिक कठिनाइका कारण ढोरपाटन क्षेत्रको धेरै गाउँमा सडक पुग्न सकेको छैन । सडक नपुगेका ठाउँमा घोडा खच्चडबाटै समान ढुवानी गरिन्छ । सडक पुगेका ठाउँका स्थानीय मल र घाँस खच्चडमा ओसारपसार गर्छन् । ढोरपाटनसहित बोबाङ, निसेलढोरमा पनि खच्चडमा घाँस र मल बोकाउने प्रचलन बढेको छ । ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको स्थानीय वीरबहादुर सुनारले बताए । आफ्नो घर सडकभन्दा धेरैमाथि हुँदा घोडामै यात्रा गर्ने उनको भनाइ छ । सबैभन्दा बढी जङ्गलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पुर्याउन खच्चड प्रयोग हुने गरेको सुनारले बताए । गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक ४० हजार रुपैयाँ बढी कमाउने गरेको उनले सुनाए । ‘हाम्रो पालामा मोटर गाडी चल्दैनथे, बाटो पनि गतिलो थिएन, अहिले जहाँ पनि गाडी चल्छन्, त्यहीँ भएर बजारतिर जानै छाडियो, भएका घोडा बेच्न खोजे पनि कसैले किन्दैनन्, त्यही भएर केही काम त लगाउनुपर्यो भनेर मल र घाँस बोकाउने गरेको छु,’ उनले भने, ‘गाउँमा मेरोमात्रै होइन अरु धेरैका घोडा खच्चड छन्, पहिले त घोडा खच्चड हुने मान्छे धनीमानी मानिन्थे, अहिले केही महत्व छैन ।’ गाउँका टोलटोलमै सडक पुगेपछि घोडा, खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताए । अहिले पाँच घोडा पाल्दै आएको विकले बाउबाजेको पालादेखि नै घरमा घोडा खच्चड पाल्दै आएको हुँदा आफूले पनि त्यसलाई निरन्तरता दिएको जनाउँदै अहिले घाँस र दाना पुर्याउनै गाह्रो पर्ने बताए । पहिले सामान ढुवानी गर्ने काम पाउँदा दाना किनेर खुवाउने गरे पनि अहिले घाँससमेत खुवाउन नसक्ने स्थिति आएको विक बताउँछन् । उनले भने, ‘घाँस खुवाएर पाल्नै गाह्रो छ, उत्पादन केही छैन, त्यही भएर भारी बोक्ने काममा खच्चड लगाउने गरेको छु, टाढा जानुपर्यो भने एउटा घोडा पनि छ, त्यहीमा चढेर जान्छु, हाम्रो बाउबाजेले घोडा पालेर परिवार चलाउथे, अहिले हामीहरुलाई घोडा पाल्न गाह्रो छ ।