संस्कृति जगेर्ना र पहिचान खोज्दै जनजाति

महोत्तरी । बर्दिबासमा आदिवासी जनजातिको चौथो महोत्सव जारी छ । गत बिहीबारदेखि सुरु भएको १२ दिने महोत्सवमा आफ्नो जातीय पहिचान र संस्कृतिको जगेर्ना नै मुख्य रुपमा यहाँका जनजातिले उठाएका छन् । आगामी चैत ५ गतेसम्म रहने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा भएको महोत्सवमा यहाँका नौ जनजाति समुदाय सरिक छन् । त्यसमा मधेसका रैथाने दनुवार, थारू, धानुक तथा पर्वते मूलका भए पनि यहाँ पुस्तौँदेखि बसोबास गर्दै आएका मगर, तामाङ, घर्ती, नेवार, राई किरात र माझी सम्मिलित छन् । पाका उमेरका दनुवारको अहिले पनि कम्मरमा ‘डेली’ (माछा समातेर राखिने बाँसको चोयाले बनेको ढुङ्ग्रो) भिरेर छिपछिपे पानी देख्नासाथ ‘खौकी’ (माछा मार्ने सानो जाल) डुबाउनु दैनिकी छ । मधेसका आदिवासी दनुवारको विवाहमा अहिले पनि दुलहा (बेहुला) ले काँधमा तरबार भिरेर विधि सम्पन्न गर्ने चलन छ । दनुवार महाभारतकालका कौरव, पाण्डवका सशस्त्र शिक्षाका गुरु द्रोणाचार्यसँग पुख्र्यौली साइनो जोडछन् । द्रोणसँगको साइनोले ‘द्रोणवार’ भनिँदै पछि आफ्नो जाति ‘दनुवार’ भनिन लागेको बताउने यिनीहरु आफ्नो जातीय संस्कृति झल्काउने पहिरन र सामग्रीका साथ महोत्सवमा सरिक छन् । कृषि मुख्य पेसाका दनुवार, थारूले परम्परागत हलोजुवा, कोदालोसहितका कृषि ज्यावलको प्रदर्शनी र फरकफरक चाडपर्वको झलक दिने परिकार महोत्सवमा पस्कँदै छन् । महोत्सवमा जाडोयाममा खाइने चामलको पीठो बफ्याँएर पकाइने बगिया, तिलासक्रायतलाई र छठ पर्वका ठकुवाभुसुवा तथा दीपावली पर्वका विशिष्ट परिकार घुरियालो (सेलजस्तै) सहितका मिष्टान्न परिकार छन् । वेशभूषा, बोलीचाली, चाडबाड र परम्परागत व्यवसाय उस्तैउस्तै रहेका थारू, दनुवार जनजातिमात्र नभएर यहाँका मूल रैथाने आदिवासी मानिन्छन् । महोत्सवको मुख्य पक्ष नै जातीय परम्परा, संस्कृति परम्परा र रीतिथिति देखाउनु, बुझाउनु र सम्झाउनु रहेको दनुवार जागरण समाज महोत्तरीका सदस्य गौशाला–९ बिसरपुरका बासिन्दा पविसिंह दनुवार बताउँछन् । महोत्सवमा थारूले ‘घुँगी’ (शङ्खे कीराजस्तै सानो आकारको जीव) का परिकार, सिद्रा र कोदोका रोटीको स्वाद अवलोकनकर्तालाई चखाएका छन्  । यसैगरी, हातमा माछा मार्ने खौकी (जालजस्तै) र कम्मरमा ‘डेली’ (खौकीमा परेका माछा राख्ने बाँसको चोयाले बनेको एक प्रकारको भाँडो) भिरेर थारू र दनुवार युवाले महोत्सवमा सांस्कृतिक कार्यक्रम पस्कँदैछन् । यसैगरी, जातीय पहिरनमा सजिएका तामाङ, मगर, राई किरात, घर्ती, नेवार र माझी युवायुवती सबैको आँखामा पर्ने गरेका महोत्सव अवलोकनकर्ताको प्रतिक्रिया हुने गरेको छ । महोत्सवमा नेवारले १३ परिकार रहने नेवारी खाजा पस्कँदै छन् । महोत्सवले  पर्यटन र कृषि प्रवर्द्धनमा जोड दिएको छ । ‘हाम्रो समृद्धिको आधार नै पर्यटन प्रवद्र्धन र आधुनिक कृषि प्रणालीको विकास हो,’ आयोजक संस्थामा आबद्ध दनुवार जागरण समाजका सुखासिंह दनुवार भन्छन्, ‘यो महोत्सवलाई यसै कुरामा केन्द्रित गर्दैछौँ ।’ महोत्सवमा विभिन्न जातीय परम्परा र संस्कृति झल्काउने कार्यक्रमसँगै स्थानीय कृषि उत्पादन तथा लघुउद्यममा निर्मित सामग्री  प्रदर्शनीमा राखिएका छन् । महोत्सवले स्थानीय उद्यम र कृषिबारे चासो बढाउने तथा राज्यका निकायलाई यिनको प्रवर्द्धनमा झकझक्याउने अपेक्षा राखिएको महासङ्घले जनाएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी तथा बेचबिखनका कक्षबारे दर्शकले चासोपूर्वक अवलोकन गरेका छन् । यी सामग्रीका एक सयभन्दा बढी प्रदर्शनी र बिक्री कक्ष सञ्चालन गरिएको छ । महोत्सवको १२ दिने अवधिमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मुलुकमा विभिन्न समयका राजनीतिक अधिकारका आन्दोलनले सफलता पाउँदै गए पनि पहिचानको आन्दोलन भने अझै निर्णायक बन्न नसकेको आदिवासी जनजातिको बुझाइ छ । महोत्सवमार्फत पहिचानसँग जोडिएका मुद्दाबारे थप बहसको वातावरण तयार गर्दै पछिल्लो पुस्तालाई आ–आफ्ना संस्कृति, परम्परा पछ्याउन (अनुसरण गर्न) प्रेरित गर्नु मुख्य ध्येय भएको आयोजक संस्थाका अध्यक्ष धननारायण श्रेष्ठको भनाइ छ । रासस

बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट टिकट काटेर हेर्न मिल्ने

काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ । फागुन २६ शनिबार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।

नदी कटान नियन्त्रण गर्न बजेट अभाव

कैलाली । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ का लागि कैलाली र कञ्चनपुरमा गरी ४० योजना कार्यान्वनको चरणमा छन् । कैलालीमा ३२ र कञ्चनपुरमा आठ गरी ४० नदी कटानका योजना कार्यान्वयनको चरणमा रहेको कार्यालयका सूचना अधिकारी गणेश त्रिपाठीले बताए । प्रदेश सरकारले रातो किताबमा ४० योजनाका लागि मात्र बजेट विनियोजन गरी पठाएको उनले बताए । सुदूरपश्चिमका दुई तराईका जिल्लामा नदी कटान निणन्त्रणका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको उनको भनाइ छ । कैलाली र कञ्चनपुरमा ४० वटा नदी कटान नियन्त्रणका लागि चालु आवमा कुल बजेट रु चार करोड रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । प्रत्येक योजनामा रु १० लाख बजेट रहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिए । कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा कार्यक्षेत्र रहेको सो कार्यालयले उपभोक्ता समिति मार्फत तटबन्धको काम गर्दै आएको जनाएको छ । ४० योजनामध्ये अधिकांश तटबन्धका योजना सम्झौता भई सञ्चालनमा रहेका छन् भने कतिपय योजनाको सम्झौता भइरहेको जनाइएको छ । कार्यालयले दिएको जानकारीअनुसार कैलालीको मोहन्याल गाउँपालिकाका वडा नं ३, ५, ६, गोदावरी नगरपालिका–४ हाटखोली, वडा नं ७ को बगरटोल, भजनी नगरपालिका वडा नं ४, ५, ६ कान्द्रा नदीमा तटबन्धको काम भइरहेको छ । धनगढी उपमहानगरपालिका वडा नं ५ सुकुटीखोला, वडा नं ३, १९, १२ स्थित मोहना नदी, वडा नं १७, १६ तथा घोडाघोडी नगरपालिका–५ र ९ स्थित कान्द्रा नदीमा तटबन्धको काम भइरहेको जनाइएको छ । यस्तै कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका नदी तथा खोलामा तटबन्धको काम भइरहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालयलले नदी खोला कटान संरक्षण, क्षतिग्रस्त पुनर्उत्थान, पोखरी निर्माण, सिँचाइ कुलो, मुहान संरक्षण, सिमसार क्षेत्र संरक्षणलगायतका क्षेत्रमा काम गर्दै आएको जनाइएको छ । कैलाली र कञ्चनपुरमा चुरे पहाड भएर बग्दै आएका नदीनाला र खहरे खोलाले बर्सेनि हजारौँ खेतीयोग्य जमिन कटान गर्दै आएको छ । नदी कटान रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न हरेक आर्थिक वर्षमा जनस्तरबाट माग बढ्दै आए पनि सम्बोधन हुन नसकेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको आर्थिक सर्वेक्षण २०७९/८० को तथ्याङ्कानुसार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयहरूले प्रदेशका नौवटै जिल्लामा एक सय ५७ किलोमिटर तटबन्ध गरेको छ । कैलालीमा खुटिया, मोहना, कान्द्रा, कर्णाली नदी र कञ्चनपुरमा दोदा, स्याली, महाकालीलगायतका नदीले सबैभन्दा बढी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । ती नदी तथा खोलामा सङ्घीय सरकारअन्तर्गतका कार्यालयले तटबन्ध गर्दै आएका छन् ।