मकवानपुरका तीन जनालाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
बागमती । कृषि क्षेत्रको उत्पादन र विकासमा उल्लेखनीय कार्य गरेबापत मकवानपुरका तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट हेटौंडामा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको छ । पशुसेवा कार्यालय मकवानपुर हेटौंडाद्वारा मंगलबार आयोजित सो कार्यक्रममा थाहा नगरपालिका–७ डाँडावासका इमानसिंह थिङ, मनहरी गाउँपालिका–७ रमौलकी मुना अर्याल तथा हेटौंडा वडा नं–१७ का झम्कनाथ सुवेदीलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । उक्त पुरस्कारको राशि जनही रु २५ हजार नगद तथा प्रशंसापत्र रहेको छ । सम्मानित थिङले डाँडावास कृषि प्रालिमार्फत बाख्रा तथा तरकारी खेती, अर्यालले रवि व्यावसायिक कृषि फार्ममा कागती तथा ड्रागन खेती तथा सुवेदीले विविआर एग्रो प्रालिबाट बोयर जातको बाख्राको पालन गर्दै आएका हुन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले संयुक्तरुपमा सो पुरस्कारबाट उनीहरूलाई सम्मानित गरेका थिए । मकवानपुर जिल्लाका विभिन्न स्थानबाट प्राप्त भएका ११ वटा प्रस्तावमध्येबाट छनोट गरी तीन जना कृषकलाई सम्मानित गरिएको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए ।
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव
काठमाडौं । पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ । हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १९ रहेको छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना तथा चितवन राष्ट्रिय निकुञ्जमा ६/६, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक/एक बाघ खोरमा राखिएका छन् । बर्दिया र पर्सामा यस्ता दुई बाघ केही समय अघि मात्रै खोरमै मरेका थिए । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ । विगत दश वर्षमा नेपालमा बाघको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई उपहारस्वरूप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणीउद्यानमा राख्नुपर्ने, केही उपाय नलागे मार्नुपर्र्नेलगायत विकल्पमाथि बहस सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना वातावरणीय क्षमताका हिसाबले नेपालमा समग्रमा बाघको सङ्ख्या बढी भएको आंकलन गर्दै अटाउने निश्चित क्षेत्रभन्दा बढी भएपछि बाघ आहाराको खोजीमा जंगल बाहिर आउने गरेको बताउँछन् । जंगल बाहिर निस्केको र मानव तथा वन्यजन्तुलाई आक्रमण गरेको बाघलाई पुनः जङ्गलमा फर्काउँदा खतरा कायमै रहने उल्लेख गर्दै उनी भन्छन्, ‘समस्याग्रस्त बाघलाई ठूलो खोर बनाएर ‘टाइगर सेन्चुरी’ अवधारणामा वरपर जालीबाट मानिसले हेर्न सक्ने गरी राख्ने कि भन्ने योजनामा छौं, तर यसका लागि नियमितभन्दा थप धेरै बजेट आवश्यक पर्छ ।’ यसबाहेक समस्याग्रस्त बाघको तत्काल व्यवस्थापनका लागि कोशी टप्पुतिर पनि खोर बनाएर सार्ने, प्राणी उद्यानमा उद्धार केन्द्र बनाएर राख्ने, मित्रराष्ट्रलाई उपहार दिनेलगायत विभिन्न विकल्पका बारेमा छलफल भइरहेको महानिर्देशक डा. ढुंगानाको भनाइ छ । यसरी खोरमा राखेका प्रत्येक बाघलाई आहाराका रूपमा दैनिक पाँच किलो मासु दिने गरिएको छ । साथै व्यवस्थापन र घाइते बाघको उपचारका लागि थप जनशक्तिको समेत परिचालन हुँदै आएको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल बाघको सङ्ख्या बढेसँगै अब दायित्व पनि थपिएको बताउँछन् । मानव बस्तीबाट उद्धार गरेको बाघ स्वस्थ छभने तत्काल पुनः वन क्षेत्रमा नै पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक ‘टाइगर जु’ बनाएर व्यवस्थापन गर्नुपर्ने, प्रदेशका चिडियाखानामा व्यवस्थापन गर्नुपर्ने र मित्रराष्ट्रलाई उपहार दिर्नुपर्ने उनको सुझाव छ । ‘उपरोक्त कुनै पनि उपाय लागेन भने समस्याग्रस्त तथा घाइते बाघलाई मार्नुपर्ने अवस्था पनि हुनसक्छ, जुन अन्तरराष्ट्रिय अभ्यासमा पनि छ,’ सहसचिव डा. ढकाल भन्छन् । समस्याग्रस्त बाघलाई पुनः जंगलमा छाड्दा खतरा कायमै यस्तै बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन डा अशोक राम मानिस र घरपालुवा जनावरलाई आक्रमण गरिसकेका तथा खोरमा तयारी आहारा खाने बानीले अल्छि भइसकेको हुँदा त्यस्ता बाघलाई खुला वनक्षेत्रमा पुनः छाड्न नसकिने तर्क गर्छन् । उनी प्राकृतिक रूपमा बाघको धान्ने क्षमता, मानव–बाघ द्वन्द्वका बारेमा यकिन गर्न गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकतासमेत औल्याउँछन् । चिफ वार्डेन डा. राम भन्छन्, ‘सङ्ख्या बढ्नु भनेको समस्या त होइन, तर सङ्ख्या बढेसँगै समस्याग्रस्त बाघ चुनौतीका रुपमा देखिएका छन्, यीलगायत बुढा र घाइते बाघलाई बाचुन्जेल खोरमै राख्नुपर्ने बाध्यता छ ।’ चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन दिलबहादुर पुन खोरमा रहेका बाघको आहार तथा व्यवस्थापन खर्चिलो भएको बताउँछन् । बाघको बासस्थानमा मानिस प्रवेश गर्दा र बाघ बासस्थान बाहिर निस्कदा मानवीय र अन्य क्षति हुने गरेको जानकारी दिँदै उनी भन्छन्, ‘हामी त्यस्ता वन्यजन्तुलाई ‘डार्ट’ गरेर उद्धार गरी खोरमा राख्छौँ ।’ सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का निर्देशक नरेश सुवेदी बाघलाई साँघुरो खोरमा राख्दा उसको जीवन कठिन भएको बताउँछन्। समस्याग्रस्त बाघलाई अलि ठूलो स्थानमा ‘बाघ पार्क’ जस्तो बनाएर प्रदर्शनमा राख्न सके बाघका लागि पनि राम्रो हुने र आय पनि हुने उनी सुझाउँछन् । समस्याग्रस्त बाघलाई खोरमा राख्दा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको आहारा र हेरचाह गर्न नसकिएको उनको भनाइ छ । मानव–बाघ द्वन्द्व बढेको भन्ने सन्दर्भमा निर्देशक सुवेदी भन्छन्, ‘बाघको सङ्ख्या बढेर द्वन्द्व बढेको होइन, त्यसबाहेक अन्य विभिन्न कारण पनि छन्, ९८ प्रतिशत मानव आक्रमणका घटना जंगल क्षेत्रमा भएका छन्, बाघले बासस्थान बाहिर आएर आक्रमण गरेका घटना ज्यादै न्यून छन्, केही घटना राति खोलामा माछा मार्न गएका बेला भएका उदाहरण छन् भने कुनै त क्षतिपूर्ति रकम पाइन्छ भनेर भारतमा भएका घटना पनि नेपालमा दाबी गर्ने गरिएको छ ।’ बाघमै विद्यावारिधि गरेका एनटिएनसीका अर्का निर्देशक डा. चिरिञ्जीवीप्रसाद पोखरेल पनि समस्याग्रस्त बाघलाई निश्चित ठूलो क्षेत्रफलमा प्राकृतिक खोर बनाई ‘टाइगर सेन्चुरी एप्रोच’को अवधारणामा लैजानुपर्नेमा जोड दिन्छन् । ‘त्यसमा बाघ बाहिर निस्कन पनि नमिल्ने र पर्यटन प्रवर्द्धन हुने गरी व्यवस्था गर्नुपर्छ, यसको लाभ भनेको समस्याग्रस्त बाघ स्वस्थ पनि हुने र व्यवस्थापन गर्न सहज भई द्वन्द्व न्यूनीकरण पनि हुन्छ,’ उनले भने । बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने भएको र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जंगलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण बासस्थानबाट बाघ बाहिर आउने गरेका छन् । बाघले आफ्नो आनीबानी परिवर्तन गर्न नसक्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले नै संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्ने निर्देशक डा. पोखरेलको सुझाव छ । सङ्ख्यामा वृद्धिसँगै मानव–बाघ द्वन्द्व बढ्दै पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । बाघ पाइने मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ र बर्दियामा एक सय २५ छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाघ पाइएको विभागको तथ्यांक छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ रहेको विभागको तथ्यांक छ । नेपालबाहेक भारत, चीन, भूटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । सन् २०१६ को तथ्यांकअनुसार विश्वमा सबैभन्दा धेरै भारतमा २ हजार २ सय २६ र सबैभन्दा कम लाओसमा दुई बाघ थिए । बाघ आक्रमणका ९८ प्रतिशत घटना संरक्षण क्षेत्रमा नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिस घाँस दाउरा, निगुुरो टिप्न र गाईभैँसी चराउन जंगल जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जंगल नजाने वातावरण बनाउन नेपाल सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रम पनि गर्दै आए पनि त्यो पर्याप्त छैन । वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने, बालीनाली, घर, गोठको क्षतिलगायत घटना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षमा बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्यांक छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा चार जनाको मृत्यु भएको थियो । विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जंगल वरपरका समुदायलाई जंगल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउँछन् । साथै, उनी वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जंगल जान बाध्य नहुने अवस्था बनाउन सबै लाग्नुपर्नेमा जोड दिन्छन् । जिओलोजीकल सोसाइटी अफ लन्डन (जेडएसएल) का राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहाल समस्याग्रस्त बाघलाई खोरमा राख्नुमात्र दिगो समाधान नभएको बताउँछन् । त्यसको कारणबारे गहिरो अध्ययन गरेर स्वस्थ्य बाघलाई पुनःस्थापना गर्न सकिने बारेमा सोच्नुपर्ने उनको भनाइ छ । उनी बाघलाई आफ्नो बासस्थानमै अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउन लाग्नुपर्नेमा जोड दिन्छन् । जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा दाहाल बाघको सङ्ख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्र्दै बासस्थानको गुणस्तरीयता बढाउनुपर्ने र बाघको सङ्ख्या बढेसँगै निकुञ्ज आसपास क्षेत्रमा प्राकृतिक खोर तथा होल्डिङ सेन्टर बनाएर समस्याग्रस्त बाघको व्यवस्थापन गर्नुपर्ने सुझाउँछन् । साथै उनी जंगल बाहिर आएका बुढा, रोगी र घाइते बाघको निक्र्योल गरेर मात्रै निगरानी गरेर खोरमा राख्नुपर्ने बताउँछन् । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य श्रङ्खलामा बाघ मुख्य सिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । बाघ स्वस्थ्य र सफा पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति हो । रासस
ट्रकमा लागेको आगोले कर्णाली पुलमा आवागमन बन्द, १४ ‘सपोट’ डोरीमा क्षति
कैलाली । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिएका छन् । उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ । आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ ।’ कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौं तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । काठमाडौं तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले बताए । कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक डाँगीले बताए । आगो नियन्त्रणपछि जलेको ट्रकसमेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरी हटाइएको छ । आइतबार अपराह्न वीरगञ्जबाट एक हजार एक सय कार्टुन लाइटर लिएर हिँडेको ट्रक सोमबार सोमबार अपराह्न कर्णाली पुलमा पुगेको कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशीले बताए । उनले भने, ‘हामी अपराह्न बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेकपोष्टमा पुगेका थियौँ । त्यहाँ चिट दिएर अगाडि बढ्यौं। गाडीमा लोड भएकाले हामी ४०–५० को गतिमा नै गाडी चलाइरहेका थियौँ । पुलको नजिक पुग्दा गाडीको गति ८ देखि १० को मात्र थियो ।’ चालक जोशीले भने, ‘चेकपोष्टबाट केही समयमा कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाइरहेका एक युवकले कराउँदै अंकल ट्रकमा आगो भन्दै चिच्याउँदा तल झरेर हेर्दा पछाडि आगो लागेको थाहा भयो, हामी आत्तियौँ ट्रक थोरै पछाडि लिए । पछाडि बस भएकाले पुल बाहिर निकाल्न सकिएन ।’ पर्साको न्यू बागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रकचालक जोशीले बताए । आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट एक करोड १५ लाख ६८ हजार रुपैयाँबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार रुपैयाँ पनि जलेको बताए । नगद र सामान गरी एक करोड १६ लाख २५ हजार रुपैयाँबराबरको क्षति भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको थियो । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताए । रासस