कर्पोरेट सुपर सिक्सेस : क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेल लिजेण्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणका खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन् । एसएस इभेण्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार क्वार्टरफाइनल समीकरण पूरा भएको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल दुवै ३र३ खेल जित्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन्। माछापुच्छ्रेले सोमवार समूहमा क्लाउड फ्याक्ट्रीलाई १ रन र एनआईसी एशिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो। हारका बाबजुद एनआईसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो । एनआईसी एशियाले आइतबार नै २ खेल जितेको थियो । ५ ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार १२ खेल भएका थिए । एनसेल लिजेण्ड्सले सोमवार सूर्य नेपाललाई ५ विकेटले र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो । समूह ‘सी’ मा ३ खेलको सकिँदा सूर्य नेपाल, आईएमई ग्रुप र नेपाल बैंक तीनवटैले १र१ खेल जिते । नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो। सूर्य नेपालले सोमवार आईएमई ग्रुपलाई ११ रनले जितेको थियो । यो जित नै उसलाई दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो । समूह ‘बी’ बाट आईसीएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगे । आईसीएफसी फाइनान्सले सोमवार मूलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो। यससँगै समूहमा तीनै खेल जित्दै आईसीएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो । सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो। सिप्रदीले एक खेलमात्र गुमाउन पुग्यो । समूह ‘डी’ मा ३ टोलीले मात्र प्रतिष्पर्धा गरेका थिए। तीमध्ये सुबिसु २ खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि ३ विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो। यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो । वाणिज्य बैंकले पनि सोमवार एनसेल इलाट्सलाई १३ रनले पराजित गर्‍यो। यो जित नै वाणिज्य बैंकलाई क्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो । सोमवार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आईएमईले नेपाल बैंकलाई १८ रनले, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रीलाई ३० रनले जित्यो । यद्यपि, यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन । तीनदिने प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलबार हुँदैछन् । १५ वटा कर्पोरेट हाउसले प्रतिष्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले बताए ।

प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे । काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो । सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनी आफै मुख्य पात्रका रुपमा देखिँदै छन् । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताए । चलचित्र निर्देशनलाई उनले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याए । गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाए । गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रुचाएका थिए । ‘अभिनेताका रुपमा ‘परदेशी २’लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो’, सपुतले भने, ‘पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।’ चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उनले सुनाए । ‘चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ’, सपुतले भने, ‘चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।’ चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ । सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताए । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाए । ‘मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ’, उनले भने, ‘यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ ।’ कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ । चलचित्रमा ‘वसन्त’ पात्रका रुपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ । अर्को मुख्य पात्र ‘शान्ति’का रुपमा अभिनेत्री स्वस्तिमा खड्का छिन् । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने उक्त चलचित्र आउँदो वसन्त याममा प्रदर्शनमा आउने सपुतले जानकारी दिए । ‘आउँदो चतै दसैँ र नयाँ वर्षको छेको पारेर चलचित्र प्रदर्शन ल्याउने तयारीमा छौँ’, उनले भने । चलचित्रको कथा र सङ्गीत पनि सपुत आफैले तयार पारेका हुन् । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् । सपुतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ । विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक यात्रा तय गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिन्छन् । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ पाएका छन् । साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ नहुने सपुतलाई चलचित्र लेखन, निर्माण तथा निर्देशन कत्तिको फाप्ने हो त्यसका लागि भने आउँदो वसन्तु ऋतु कुर्नैपर्छ । रासस

भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको शहीद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको ३४ लाख ५९ हजार रुपैयाँको लागतमा उक्त मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर पूर्णरूपमा क्षति भएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको बजेटबाट मन्दिर जीर्णोद्धार गरिएको हो । मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले भक्तपुरको ‘एमबी एण्ड सन्स कन्स्ट्रक्सन’ सँग ठेक्का सम्झौता गरेको थियो । ‘पुरातत्व विभागले विनियोजन गरेको बजेटबाट मूल मन्दिरको साविकको स्वरूप नै कायम रहने गरी जीर्णोद्धारको काम सकिएको छ, त्यसबाहेक मन्दिर वरपरको व्यवस्थापनलगायतका काम भने मन्दिर संरक्षण समितिले आफँ गरिरहेको छ’, संयोजक खनालले भने । अर्लाङ्दी मन्दिर त्यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो । प्रसिद्ध मनकामना मन्दिरको दिदीबहिनी रहेको विश्वास गरिने अर्लाङ्दी मन्दिर सयौँ वर्ष पुरानो रहेको मानिन्छ । ‘पुरातत्व विभागले गर्ने काम सबै सकिएको छ, मन्दिर बाहिर पहिरोले क्षति पु¥याएको थियो, अहिले पहिरो उकास्नेलगायतका काम धमाधम संरक्षण समितिले गर्दैछ’, उनले भने । संरक्षण समितिले चन्दा संकलन गरी मन्दिरको संरक्षणका साथै बाटो र धारा निर्माणको काम गरिरहेको छ । मन्दिर जीर्णोद्धार सम्पन्न भएसँगै ताक्लुङमा धार्मिक पर्यटकलाई जोड्न सकिने वडाध्यक्ष यामबहादुर थापाले विश्वास व्यक्त गरे ।