चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै

  धनुषा । तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । तराई–मधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि सुरू भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ । चापाकल सुक्ने समस्या पछिल्ला दिन बढ्दै गएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहले बढी सङ्कट देखिएका स्थानमा ट्याङ्करबाट पानी बाँडिरहेका छन् । मोटर जडान गरिएर खानेपानीका लागि पर्याप्त पानी उपलब्ध हुने दक्षिणी भेगमा देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयहरूले चिन्ता जाहेर गरेका हुन् । यता मधेस प्रदेशको राजधानी जनकपुरधाममा नै खानेपानीको अभाव देखिन थालेको  छ । जनकपुरधाम नगर क्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि खानेपानी संस्थान जनकपुरधामले पाइपमार्फत वितरण गर्ने दैनिक ३० लाख लिटर पानी मात्र आपूर्ति गर्दै आएको छ । यसरी संस्थानले १२ प्रतिशत घरमा मात्र पाइपमार्फत पानी आपूर्ति गर्दै आइरहेको र ८८ प्रतिशत घरधुरी अहिले पनि खानेपानीको पहुँच बाहिर रहेको देखिन्छ । सुक्खायामा यहाँका चपाकलहरु सुख्ने गरेका गर्छन् भने खानेपानी संस्थानले सबै ठाउँमा पानीसमेत पु¥याउन नसकिरहेको अवस्थामा जनकपुरधाममा निकट भविष्यमै खानेपानीको गम्भीर समस्या उत्पन्न हुने सर्वसाधारणको भनाइ छ । मधेश प्रदेशको राजधानीमै खानेपानीमा समस्या देखिए पनि यस विषयमा प्रदेश सरकार गम्भीर नदेखिएको स्थानीयवासीको गुनासो छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार मधेश प्रदेशको राजधानी जनकपुरधाममा ४० हजार चार सय नौ घर परिवारमध्ये खानेपानी सस्थानले हालसम्म चार हजार छ सय ८५ घरमा मात्र धारा जडान गरेको छ । जडान गरेको धारामध्ये ४४ प्रतिशत जति घरमा आंशिक रुपमा मात्र पानी आउने गरेको छ । संस्थानले जनकपुरधाम उपमहानगरपालिकामा रहेका २५ वटा वडामध्ये १४ वटा वडामा चार हजार छ सय ८५ घरमा मात्रै धारा जडान गरेको र जडान भएको धारामध्ये ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा पानी आउने गरेको संस्थानका प्रमुख विष्णुदेव साहले बताए । संस्थानले जनकपुरधाम–१० र रामानन्द चोकमा निर्माण भएको चार लाख ५० हजार क्षमताका दुईवटा ओभरहेड ट्याङ्कीमा छ वटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण गरिरहेको छ । तर ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण ठाउँठाउँमा पाइप फुटेको, चर्केको र जीर्ण रहेकोले धेरै ठाउँमा खानेपानी पुर्याउन नसकिएको प्रमुख साहले बताए । सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपका कारण सबै वडामा खानेपानीको आपूर्ति गर्न सकेको छैन । करिब ५० प्रतिशत मात्रै नियमित रुपमा पानी आपूर्ति हुने गरेको छ । संस्थानले चालु आर्थिक वर्षमा कार्यालयभित्र रु एक करोड ३० लाख मूल्य बराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की, चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीदेखि वडा नंं ८ स्थित होटल सियाशरणसम्म छ लेन सडक छेउमा सात किलोमिटर लामो सडकको दायाँबायाँ ८/८ इन्चको पाइप बिछ्याउने कार्य गरिरहेको छ । सीमित स्रोतसाधन भए पनि संस्थाले पाँच लाख लिटर पानी भण्डारण हुने र चालु आर्थिक वर्षमा थप एक हजार धारा जडान गर्ने लक्ष्य लिएको छ । यस सुक्दैछ हातेकल जलस्रोत विज्ञहरूले चुरेको दोहन र लामो समयदेखि पानी नपरेपछि भूमिगत पानी पुर्नभरण नहुनुले मधेश प्रदेशका केही जिल्लामा भूमिगत पानीको सतह घटेर हातेकलहरूमा पानी नआएपछि खानेपानीका लागि समस्या उत्पन्न भएको बताएका छन् । चुरेविज्ञ डा विजयसिंह दनुवारको अनुसार मधेस–प्रदेशमा हाल देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एक मात्र विकल्प प्राकृतिक पुनर्भरणका रुपमा रहेको चुरे क्षेत्र भएकाले यसको संरक्षण नै यसको दिगो समाधान हो । डा सिंहले पानीको समस्या समाधानका लागि राज्यले खास गरी मधेस प्रदेश सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्ने सुझाव दिए । मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धानविज्ञ नागदेव यादवले दीर्घकालीन समस्या समाधानका लागि जलस्रोत क्षेत्रका विज्ञहरूले वृक्षरोपण, चुरेक्षेत्रको संरक्षण र मधेश प्रदेशको हाइड्रो जियोलोजिक सर्भे गरी प्रदेश सरकारले कार्यक्रमहरू तयार गर्नुपर्ने सुझाव दिएका छन् । उनले वर्षाको पानी जम्मा गरी ग्राउन्ड वाटर रिचार्ज गर्ने जस्ता कार्यक्रम निर्माण गर्न मधेस सरकारलाई सुझाव दिए । चुरे विज्ञ विजयसिंह दनुवार बताउँछन्, ‘खोलामा जहाँसम्म राम्रो गिट्टी–बालुवा पाइन्छ, खोतल्ने रहेछन् । १०औँ ठाउँमा खन्दा पानी रिचार्ज हुन नपाई बहावलाई असर पार्दो रहेछ ।’ उनले पनि चुरे र भावर क्षेत्रमा पोखरी वा बाँध बनाएर तराईमा पानी सङ्कट टार्न सकिने सुझाव दिँदै भने, ‘जसरी भारतले कोशी, नारायणी, महाकाली र गण्डकीलाई बाँधेर आफूलाई चाहिएको ठाउँ र समयमा पानी लैजान्छ । चुरे र भावर क्षेत्रका नदी–खोलामा पनि ड्याम बनाएर पानी जमाउन सकिन्छ ।’ चुरे तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ अनुसार पूर्वदेखि पश्चिमसम्मकै तराईमा घरायसी प्रयोजन तथा सिँचाइमा जमिनमुनिको पानी प्रयोग हुँदै आएको छ । पानीको सतह घटबढ हुनुमा चुरे तथा भावर क्षेत्रमा हुने वर्षाको परिमाण, जमिनको सोस्ने क्षमता, गिटी–बालुवाको उत्खनन्को परिणाम र प्रक्रिया आदिको प्रभाव रहन्छ । चुरे क्षेत्रमा भइरहेको वन विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनको असर भावर र तराईमा परिरहेको छ । चुरेबाट बगेर आउने गिट्टी–बालुवाले खोलाको सतह उचो हुँदा भावर र तराईमा भूमिगत जल सतह गहिरिंदै छ । अव्यवस्थित शहरीकरण र उद्योगीकरण, पोखरी, कुवा, इनार मासिनु, नदी अतिक्रमण हुनु, जग्गाको जथाभावी चक्लाबन्दी, वृक्षरोपणका तुलनामा रूख काट्ने दर बढी हुनु, वर्षात्को पानी संरक्षण गर्न नसक्नु र जलवायु परिवर्तनलाई पनि विज्ञहरूले पानी सङ्कट बढ्नुको कारण औंल्याउँदै आएका छन् । चुरे र तराईबीचको करीब पाँच किमि समानान्तर क्षेत्रलाई भावर भनिन्छ । तराईमा भूमिगत रूपमा जाने पानीको पुनर्भरण यही क्षेत्रमा हुने गर्छ । भावर क्षेत्रमा शहरीकरण र उद्योगीकरण जस्ता मानवीय हस्तक्षेप बढ्दा पुनर्भरणको प्रक्रियामा असर परेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा दिनेशराज भुजु बताउँछन् । ‘पहिले त चुरे–भावर क्षेत्रका बस्ती हटाउनुपर्छ’, डा भुजु भन्छन्, ‘अर्कातिर परम्परागत इनार, कुवा, पोखरी मासेर ट्यूबवेलमा भर पर्न थालियो, ट्युबवेल कति दूरीमा गाड्ने भन्ने मापदण्ड पनि पालना गरिएको छैन ।’ भूगर्भविद् श्रीकमल दवाडी जमिनमुनिको पानी जति पनि झिके हुन्छ भन्ने सोचले समस्या निम्त्याएको बताउँछन् । ‘भूमिगत पानी भण्डारण हुने पनि चक्र हुन्छ, चुरेको पानी तराई पुग्न समय लाग्छ’, दवाडी भन्छन्, ‘यस्तोमा हामीले रिचार्जतिर सोचेनौँ । संरचना बनाउँदा पनि सतहमा कङ्क्रट बिछ्याएर जमिनमा पानी छिर्ने ठाउँ नै दिंदैनौँ ।’ वरिष्ठ पत्रकार मधेस मामिलाका जानकार चन्द्रकिशोरले समस्या समाधानको लागि तीन तहको सरकारको एकीकृत सोचाइ हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यो पालिकाले मात्र चाहेर समाधान हुने विषय होइन । नीति काठमाडौंबाटै बन्नुपर्छ । प्रदेशले सहजीकरण र पालिकाले कार्यान्वयन गर्नुपर्छ । चुरे मधेस प्रदेशमा मात्र पर्दैन । यस्तोमा सङ्घले दुई प्रदेशबीच समन्वय गराइदिनुपर्ने हुन सक्छ ।’ उनी भन्छन्, ‘पानीमा दैनिक जीवन, संस्कार र खेतीपातीसम्मका कुरा निर्भर हुन्छन् । अर्कातिर तराई मधेस ठूलो जनघनत्व भएको ठाउँ हो ।’ पानी नहुँदा मान्छेको बसाइँसराइ हुनेक्रम बढ्न थालेको छ । सिरहामा कमला नदीदेखि लहानसम्म राजमार्गभन्दा उत्तरतिरका बस्तीमा गाईबस्तु पाल्न कम भएको छ । आर्थिक स्रोत बलियो भएकाहरू पानी भएको ठाउँमा सर्न थालेका छन् भने विपन्न समुदायका मानिसको जनजीवन निकै कष्टकर बन्दै गएको छ । पानीकै कारण मानिसहरू ‘वातावरणीय शरणार्थी’ बन्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ । रासस

एक हजार युवालाई फेलोसिप, खेलाडीलाई भत्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका प्रतभिावान युवालाई फेलोसिप प्रदान गर्ने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले देशका १ हजार युवालाई छनोट गरेर फेलोसिुप प्रदान गर्ने बताएका हुन् । यस्तै, उनले खेलकुदको प्रोत्साहन गर्न खेलाडीलाई जिवन निर्वाह भत्ता प्रदान गरिने घोषणा गरेका छन् । उनले विभिन्न क्रिकेट रंगशाला निर्माण कार्यलाई प्राथमिकता दिने बताएका छन् ।

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल’ को लागि आवेदन खुलेको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा ‘मिस यूनिभर्स नेपाल २०२४’को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले भनिन्,  ‘मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ । म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरुलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरुको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।’ प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गते सम्म खुल्ला रहनेछ । इच्छुक महिलाहरुले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाईन फारम भरेर आवेदन पेश गर्न सक्छन् । आवेदन खुला हुने अवधि भर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरुको प्रतिबन्ध नभएको मिस यूनिभर्समा नेपालीको साथै गैर आवासीय नेपाली महिलाहरुले पनि सहभागिता जनाउन पाउनेछन् । सहभागीहरुले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरु प्राप्त गर्ने छन् । सर्वप्रथम असार १८ गते प्रतिस्प्रर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धिहरु छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धिहरु छानिनेछ । त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछ भने उनिहरुको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ । यस पटकको मिस युनिभर्स नेपालको ग्रान्ड फिनालेमा मिस युनिभर्स २०२३ शेन्निस पलासिओसको पनि उपस्थिती रहनेछ । प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरुले २ दिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धिहरुलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीहरुलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस यूनिभर्स नेपाल २०२४को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक रेजिस्ट्रेसन पार्ट्नरको रुपमा खल्ती रहेको छ भने स्किन केयर पार्ट्नरको रुपमा मिस युनिभर्स स्किन केयर रहेको छ । त्यसै गरी नेपाल पर्यटन बोर्ड आधिकारिक टुरिज्म पार्ट्नर रहेको छ ।