कञ्चनपुरमा खाद्यको अतिक्रमित जमिन खाली गरियो

बेदकोट । कञ्चनपुरको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा बढी जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली गरिएको छ । सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिक घरटहरा बनाएर व्यापार व्यवसाय सञ्चालन गर्दैआएका व्यापारीले जमिन खाली गरेका हुन् । एक बिघा सात कट्ठा १२ धुर जमिनमा बनाएका झण्डै एक सय ५० संरचना हटाएर जमिन आफूले उपयोग गर्नसक्ने गरी फिर्ता ल्याइएको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख राजु मोक्तानले जानकारी दिए । उनले स्थानीय प्रशासन र कार्यालयको निर्देशनपछि व्यापारीहरूले निर्धारित समयभित्र आफैं संरचना हटाएका बताए । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलीय, सर्बपक्षीय बैठकले खाद्यको जमिनमा भएको अतिक्रमण हटाउने निर्णय गर्दै व्यवसायीलाई एक महिनाको समय दिएको थियो । अतिक्रमित जमिन खाली गराएपछि संरक्षणका लागि तत्काल तारबार लगाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रधान कार्यालय मानव संशाधन विभागका विभायीय प्रबन्धक घनश्याम अर्यालले बताए । ‘तत्काल यो जमिनलाई तारबार गरेर संरक्षक गर्छौँ । जमिन उपयोगका योजना बनाउँदैछौँ,’ उनले भने, ‘आगामी बजेट तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर संरचना बनाउने योजना छ । खाद्यसँग सम्बन्धित पसल सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।’ स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत पहिलो चरणमा नापी, यातायात तथा मालपोत कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन् । महेन्द्रनगर बजार क्षेत्रमै रहेको बाल सङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको छ ।

रोजगारका लागि विदेश पठाइदिने भन्दै ४५ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका–२६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउमध्ये वकिलबहादुर आलेले क्यानडा पठाईदिने भन्दै ६ जना पीडितहरू ३६ लाख तथा धर्मेन्द्रले युके पठाइदिने भन्दै दुई जना पीडितहरुबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वकिलबहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका-६ बाट र धर्मेन्द्रलाई काठमाडौं गोङगबुबाट पक्राउ गरेको प्रवक्ता रेग्मीले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं । बाँके कोहलपुरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गोली लागेर कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने सुशील परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट ११० ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।