बेनीमा ‘वर्षे नाच’ को रौनक

बेनी । सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु भएको वर्षे नाच हरितालिका तीजको दिनसम्म एक महिनाभन्दा बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषामंकाः खलः अन्तर्गतका युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा वर्षे नाच देखाउने गरिएको छ । यस वर्ष लाखे नाच, घोडा नाच, जोग नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताए । अघिल्ला वर्षहरूमा रोपाइँ, धानको बाला, गोरु लगायतका नृत्यसमेत वर्षे नाचमा समावेश गरिएको भए पनि यस वर्ष नाच व्यवस्थापनमा जनशक्ति थोरै भएकाले लाखे, घोडा, जोगीर नागनागिनी नाचलाई प्राथमिकता दिएर देखाउने गरिएको उनको भनाइ छ । पुर्खाले सुरु गरेको परम्परागत नाचलाई तालिम र अभ्यासका माध्यमबाट युवा तथा बालबालिकामा समेत सीप हस्तान्तरण गर्ने गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनी बजारमा दिनहुँजसो साँझपख विभिन्न नाच देखाउन थालेपछी वर्षे नाचको रौनकता बढेको छ । सडक र चोक चोकमा देखाइने वर्षेनाच हेर्न बालबालिका, युवायुवती देखि वृद्धवृद्धासम्म सडकतीर जम्माहुने गर्छन् । वर्षे नाचमा नेवार समुदायका साथै बेनीमा बसोबास गर्ने अन्य जातजातिका युवायुवती र बालबालिकासमेत सहभागी हुने गर्छन् । बेनीकै सांस्कृतिक पहिचानका रुपमा रहेको वर्षे नाचमा नयाँनयाँ कलाकारहरूको आगमनले मौलिक नाचको संरक्षण र निरन्तरतामा सहयोग पुगेको लाखे नाचका संयोजक सन्दिप श्रेष्ठले बताए। परम्परागतरूपमा देखाइदै आएको वर्षे नाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत निरन्तरता दिने गरिएको छ । वर्षे नाचमा समावेश गरिने नागनागिनी नाच नेपालभरमा म्याग्दीमा मात्र देखाउने नाचको रुपमा परिचित छ । जनैपूर्णिमा पर्वको दिनमा वर्षभरी दिवङ्गत भएका नेवार समुदायका व्यक्तिहरूको सम्झनामा सापारु अर्थात् नागनागिनी नाच देखाउने चलन रहेको छ । दुई सय वर्षभन्दा पुरानो वर्षे नाचको निरन्तरताको लागि बेनीमा नयाँ कलाकारलाई तालिम दिने गरिएको छ । परम्परादेखि चलिआएको संस्कृतिको निरन्तरता र मौलिकताको संरक्षणमा युवाहरूको उत्साहजनक सहभागिताले सहयोग पुगेको युवा कलाकार अभिनेश श्रेष्ठले बताए। आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा वर्षे नाचलाई संरक्षण गर्ने दायित्व युवाको काँधमा आएको उनको भनाइ छ । वर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ । खास गरि लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । वर्षे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।

आठ वर्षको अवधिमा चितुवाको आक्रमणबाट १४ बालबालिकाले ज्यान गुमाए

डुम्रे । पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ । गत असार १२ गते आफ्नै बारीमा घाँस काट्दै गोका म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयका सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले जानकारी दिए। पछिल्लो आठ वर्षको तथ्यांकअनुसार जिल्लामा चितुवाको मानवमाथिको आक्रमण वृद्धि हुँदै छ । विसं २०७९ भदौमा व्यास नगरपालिका–११ राति डिल्लीमाया गुरुङ र शंकर गुरुङलाई घरको डिढीमा चितुवाले आक्रमण गरी घाइते बनाएकामा छोरा शंकरको ज्यान गयो । सोही वर्षको कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङलाई घरको आँगनमा खेलिरहेको बेला आत्रलमण गरी ज्यान गएको विश्वकर्माले जानकारी दिए। सोही वर्षको कात्तिक १५ गते व्यास–१२ छिर्कनका चित्रबहादुर कुँवर थापाको नाति सात वर्षीय अभिनव कुँवर, जेठ २९ गते बन्दीपुर–१ का भिमलाल गरौजा पिढीँमा सुतिरहेको अवस्थामा चितुवाको आक्रमणबाट घाइते भएका थिए। घाइते गरौजाको उपचारको क्रममा मृत्यु भएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए । साथै २०७८ असोजमा बन्दीपुर–५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार विसं २०७७ साउनमा शुक्लागण्डकी नगरपालिका–२ का नारन राना, २०७६ माघमा बन्दीपुर–४ का ११ वर्षीय ईसाक परियार, सोही वर्षको पुसमा आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–३ का एक वर्ष नौ महिनाका बालक रविन नेपालीको चितुवाको आक्रमणबाट ज्यान गएको थियो । सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०७६ कात्तिकमा भानु नगरपालिका–२ का ऋतिक रोका, असोजमा भानु–१ का कुशल बानियाँ, जेठमा भानु–२ का आठ वर्षीया बालिका पुष्पा अधिकारी, २०७५ मङ्सिरमा भानु–२ का १० वर्षीय अमृत गुरुङ, कात्तिकमा भानु–४ का चार वर्षीया रञ्जिता लम्साल र २०७४ फागुनमा भानु–२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाले ज्यान लिएको थियो । विसं २०७९ असारमा बन्दीपुर–१ प्युघरका प्रेमबहादुर बगाले मगरको पाँच वर्षीय छोरा सुप्रिम थापा चिुतवाको आक्रमणबाट घाइते भएका थिए । विश्वकर्माले जिल्लामा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्न थालेको बताए। उनले भने, ‘करिब आठ वर्षयत चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्यांकमा उल्लेख छ । भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।’ सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०८० जेठ ४ मा व्यास–८ का गोरे विकले भालुलाई धपाउने क्रममा आक्रमणमा परी घाइते भएका थिए । भालु, बाँदर र चितुवाको आक्रमणबाट १७ जना घाइते भएका घाइते भएका डिभिजन वन कार्यालयले जनाएको छ । ‘कानुनी रुपमा मानवसँगै हरेक प्राणीको बाँच्न पाउने अधिकार हुन्छ । वन्यजन्तुको बासस्थान र आहाराको अभावले मानवमाथिको आक्रमण बढ्दै गएको हो’, उनले भने । वन्यजन्तुका लागि वनजङ्गलमा पर्याप्त आहार नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जानुले मानव वन्यजन्तुको द्वन्द्व बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माको बुझाइ छ । यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकार भएकासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा वृक्षारोपण गर्न प्रोत्साहन गरिरहेको उनले बताए । चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ । ‘विगतमा चितुवाको आक्रमण अत्यधिक भएको समयमा क्यामरा ट्रयापिङमार्फत अवलोकन गरिएको थियो । उक्त समयमा भानुका जङ्गलमा चितुवा बाहेक अन्य वन्यजन्तु देखिएका थिएनन् । आहार, बासस्थान र पानीको खोजीमा मानव बस्ती पसेपछि मानवमाथि आक्रमण गर्न थालेका हुन्’, सहायक डिभिजन वन अधिकृत विश्वकर्माले भने । विगतको तुलनामा अहिले मानव वन्यजन्तुको द्वन्द्वमा कमी आएको उनले जानकारी दिए । वनजङ्गल नजिक बस्ती उचित नहुने भन्दै अव्यवस्थित मानव बस्ती बढ्नाले वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए। यसको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्नेमा उनले जोड दिए । ‘वन्यजन्तुको आहार, पानी, बासस्थानको व्यवस्था र संरक्षणका विषयमा मानव सचेत भई वन्यजन्तुको आहारलाई मानवले उपयोग नगर्ने हो भने समस्या समाधान हुँदै जानेछ’, उनले भने । रासस

अलैँची र सुन्तला उत्पादन बढाउन सुपर जोन कार्यक्रम

सङ्खुवासभा । कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो । उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागू गरिएको उनले बताए। सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरे । परियोजनाका लागि चालु आर्थिक वर्षमा पूँजीगततर्फ २० लाख र चालुतर्फ चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए । सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनी चिस्यान केन्द्र स्थापना कार्यक्रमका लागि रु २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा रु २१ लाख विनियोजन गरिएको उनले जानकारी दिए। चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् । अलैँची सुपर जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्‍याउँदै आएको छ ।