तरकारी खेतीबाट नाम र दाम दुवै, वार्षिक १२ लाखसम्म आम्दानी

गलकोट । कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका(९ तित्याङका पदम खत्री यतिबेला तरकारी खेतीमा रमाएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनी जिल्लामा उत्कृष्ट किसानका रूपमा सम्मान समेत पाइसकेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रूपमा नगदसहित सम्मान गरेको थियो । घर निर्माणलगायतका काममा मजदुरी गर्ने उनी १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय छन् । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती सुरु गरेका खत्री यतिबेला जिल्लाकै सफल किसानका रूपमा परिचित छन् । उनले अहिले १८ रोपनी जग्गामा तरकारीखेती गरिरहेका छन् । उनीसँग फर्ममा ८ वटा साना र ठूला प्लाष्टिक टनेल छन् । अधिकांश दौतरीहरू पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारी खेतीमै सक्रिय छन् । तरकारीखेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए । ‘तरकारीखेतीबाटै वार्षिक १० देखि १२ लाखसम्म आम्दानी भइरहेको छ,’ उनले भने, ‘तरकारी खेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन ।’ उनले तरकारीखेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताए । उनले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहनस्वरुप पुरस्कार प्राप्त गरिसकेका छन् । ‘एक रोपनी जग्गाबाट सुरु भएको तरकारीखेती अहिले १८ रोपनीमा पुगेको छ, अहिले दाम मात्रै हैन नाम समेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे, अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ,’ उनले भने, ‘पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु ।’ अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती गरिरहेका छन् । आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिए । खत्री एग्रो फार्ममा हालसम्म १२ लाख लगानी गरिसकेका छन् ।  उनले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र विऊ बिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिए । हाल उनले तरकारीखेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गरेका छन् । उनले एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् । रासस

मदन पुरस्कारका लागि ५ पुस्तक छनाेट, पुरस्कार राशि कति ?

काठमाडौं । यस वर्षको मदन पुरस्कारका लागि ५ कृति छनोटमा परेका छन् । ३०४ पुस्तकमध्येबाट पाँच कृति छानिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । उत्कृष्ट ५ मा परेका कृतिमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ छन् । यी ५ कृतिहरूमध्येबाट एउटालाई विसं २०८० सालको मदन पुरस्कार प्रदान गरिनेछ । २०७५ सालबाट मदन पुरस्कारको राशि ४ लाख रुपैयाँ रहँदै आएको छ ।

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीड देख्न सकिन्छ । साउने सोमबारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र वार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ । काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।