समाजसेवी पाण्डेलाई ‘वर्ल्ड पीस एम्बेसडर अवार्ड’
काठमाडौं । ‘वर्ल्ड पीस अवार्ड २०२४’ नेपालका कृष्ण पाण्डेले प्राप्त गरेका छन् । स्वीडेनको राजधानी स्टकहोम भएको कार्यक्रममा विश्वभरिका ११ अत्यन्त प्रभावशाली व्यक्तिहरूलाई शान्ति, समाज सेवा र सामाजिक सुरक्षा क्षेत्रमा उल्लेखनीय योगदानको मान्यता स्वरूप ’वर्ल्ड पीस एम्बेसडर अवार्ड’ प्रदान गरिएको हो । पाण्डे जो युनाइटेड इकोनोमिक फोरम, एक्सप्लोर प्रोडक्टिव चेम्बर अफ कमर्स, एक्सप्लोर हेल्थकेयर प्रालि, भेगानो डेली, र इपिसिसि ग्लोबल लिमिटेडका संस्थापक अध्यक्ष हुन् । समाजका विभिन्न क्षेत्रहरूमा गरेको योगदानको लागि उनी सम्मानित भएका हुन् । पुरस्कार पाएपछि पाण्डेले भने, ‘यो पुरस्कार प्राप्त गर्नु मेरो जीवनको एक महत्वपूर्ण क्षण हो, यो पुरस्कार मेरो व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण नेपालको लागि एक ठूलो गौरवको कुरा हो।’ समारोहमा, अमेरिका, स्वीडेन, मंगोलिया, भारत, नेपाल, जर्मनी, फ्रान्स, जोर्डन, युके र मलेसिया लगायतका विभिन्न राष्ट्रहरूका प्रभावशाली व्यक्तिहरूलाई सम्मान गरिएको थियो । उनीहरूको सामाजिक क्षेत्रको योगदान र मानवीय प्रयासहरूलाई पुरस्कृत गर्दै एक साझा उद्देश्य र मानवीय मूल्यहरूका लागि प्रोत्साहन गरिएको थियो।
नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ बारे छानबिन सुरु
बाँके । बाँकेको नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले रंगशालामा पुगेर छानबिन सुरु गरेको छ । निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्र्याक उप्किएको विषय बाहिर सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमितिले रंगशालामा पुगेर छानबिन गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालयका प्रमुख महेश चन्दले बताए । उनका अनुसार सेन्थेटिक ट्र्याक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्र्याक उप्कियो सो बारेमा सुक्ष्म अनुसन्धान भइरहेको छ । अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्र्याकको ‘डि एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जमेको पाइएको बताए । ‘हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ, यसमा केही कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौं,’ उनले भने । निर्माण कम्पनीका प्राविधिक मनिषकुमार शाहले यो नेपालमा यस्तो पहिलो घट्ना भएको जनाउँदै के कति कारणले भयो ? आफूहरूले पनि खोजी गरिरहेको बताए । उनले सेन्थेटिक ट्र्याक निर्माण गुणस्तरीय प्रविधिको प्रयोग गरी गरिएको जनाउँदै कसरी उप्कियो भन्ने विषयमा आफूहरूले पनि बुझ्न नसकेको बताए । राखेपले सेन्थेटिक ट्र्याक निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले गत असार मसान्त (जुन १५) मा मात्र काम सम्पन्न गरेको थियो ।
सुनको सिक्री लुटपाट गर्ने ३ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-६ घर भई काठमाडौं गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बस स्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा हाम्रो टोली र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले निज तीनजनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो ।’ पक्राउ परेका अनिलकुमारमाथि यसअघि विसं २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।