सरोज सुब्बाको उपचारमा कुनै पनि लापरवाही तथा कमजोरी नभएको मेडिसिटी अस्पतालको स्पष्टिकरण
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले इलामका सरोज सुब्बाको उपचारमा कुनै लापरवाही तथा कमजोरी नभएकाे स्पष्टिकरण दिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै सुब्बाको ज्यान बचाउन हरसम्भव प्रयास गरिएको जनाएकाे छ । अस्पतालका अनुसार गत असोज ४ गते भर्ना भई सफल मृगौला प्रत्यारोपण गराएका सुब्बा १२ गते डिस्चार्ज भएका थिए । त्यसपश्चात ४८ दिनपछि कार्तिक ३० गते बिहान उनी जटिल अवस्थामा आकस्मिक कक्षमा आएकाे र उपचार गर्दागर्दै उनको निधन भएको थियाे । निज मृत्तकको परिवारजनलाई सम्पूर्ण सत्यतथ्य जानकारी गराउँदा परिवारजनले तथ्य बुझ्दाबुझ्दै अन्य व्यक्तिहरूले अस्पताल र चिकित्सकहरूलाई दोषारोपण तथा भम फैलाउँदै गैरकानुनी काम गर्दै आएको अस्पतालले जनाएकाे छ । उपचारको क्रममा कुनै कमीकमजोरी नभएकोले सम्बन्धित निकायहरूमार्फत छानबिन तथा अनुसन्धान गर्न पूर्ण रूपमा अस्पतालले सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको जनाएकाे छ ।
हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठायौं, अब वित्त बढाउनुपर्छ
अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) जारी छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै कोपमा भाग लिन आउनुभएका राष्ट्रप्रमुख रामचन्द्र पौडेलले सम्मेलनलाई सम्बोधन गरी स्वदेश फिर्ता भइसकेको छ । सम्मेलनमा आएका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी पनि स्वदेश फर्किसकेका छन् । सम्मेलनमा यतिबेला प्राविधिक सत्र चलिरहेको छ । नेपाललगायतका विकासोन्मुख मुलुकहरुले पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने, तापमान वृद्धि १.५ डिग्री सेल्सियस कायम राख्नुपर्ने, जलवायु वित्त बढाउनुपर्ने, पर्वत र पृथ्वीको सुरक्षा गर्नुपर्नेलगायतका मुद्दामा पैरिवी गरिरहका छन् । यद्यपि छलफलको निचोड भने आउन बाँकी छ । यी विषयमा केन्द्रित रहेर वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालसँग राष्ट्रिय समाचार समिति (रासस) संवाददाता प्रगति ढकालले गरेकोको कुराकानीको अंश । अजरबैजानको बाकुमा जारी कोप-२९ मा सहभागिता जनाउनुअघि नेपालको तयारी कस्तो थियो ? कोप-२९ मा सहभागिता जनाउनका लागि नेपालले राम्रोसँग पूर्वतयारी गरेको थियो । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको भ्रमण कसरी सफल बनाउने र नेपालका मुद्दालाई कसरी कोप-२९ मा समावेश गराउन सकिन्छ भन्ने विषयमा हामी तयारी साथ आएका थियौ । कोपमा आउनु अघि नै कोपमा प्रस्तुत गरिने विषयमा सरोकारवालासँग व्यापक छलफल गरी उहाँहरुको धारणा समावेश गरी स्थितीपत्र तयार गरेका थियौ । यसका साथै वार्ताकारसँग समेत छलफल गरी सात वटा विषयगत कार्यसमूह बनाएर स्थितीपत्र तयार गरेर ल्याएका थियौ । सम्मेलन सुरु हुनुअघि राष्ट्रिय जलवायु सम्मेलन गरी स्थितीपत्रमा राष्ट्रिय सहमति कायम गरिएको थियो । अहिलेसम्म नेपालको उपस्थिति कस्तो छ ? जवाफः सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रप्रमुख रामचन्द्र पौडेलले गर्नुभएको थियो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, मन्त्रालयका अन्य प्रतिनिधिहरु, अन्तरसरकारी निकायका प्रतिनिधिहरु, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकारलगायतको उपस्थित थियो । केही प्रतिनिधिहरु नेपाल फर्किसक्नुभएको छ भने केही प्रतिनिधिहरु सम्मेलनको दोस्रो सातामा चलिरहेको प्राविधिक सत्रमा नेपालको हितका लागि जलवायुसम्बन्धी ‘एजेन्डा’ कार्यन्वयनमा जोड दिइरहनुभएको छ । मन्त्रालयले महासन्धी र पेरिस सम्झौताअन्तर्गतका सात वटा विषयगत क्षेत्रमा प्रत्येकमा सहसचिवको नेतृत्वमा वार्ता टाली गठन गरी सबै समानान्तर वार्ताहरुमा नेपालको सशक्त उपस्थिति र हस्तक्षेप भइरहेको छ । त्यसैगरी माननीय मन्त्रीज्यूको नेतृत्वमा विभिन्न दातृ राष्ट्र तथा निकायसँग नेपालको हितमा द्विपक्षीय वार्ता समेत भएका छन् । नेपालले कस्ता मुद्दालाई प्रथामिकताका साथ प्रस्तुत गरिरहेको छ ? हामीले यस वर्षको कोपमा पनि हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाइरहेका छौँ । विश्वका ४० भन्दा बढी मुलुकका राष्ट्र प्रमुख तथा एक सय ९६ मुलुकका उच्चपदस्थ प्रतिनिधिहरु सामू नेपालका राष्ट्रपतिले हिमालको सुरक्षाको मुद्दालाई प्रथामिकताका साथ प्रस्तुत गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण समस्या बढेको र यसले निम्ताएको जोखिमका उदाहरण समेत प्रस्तुत गर्नुभएको थियो । जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्राविधिक र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, समावेशितालगायतका विषयगत कार्यपत्र पनि प्रस्तुत गरेका छौँ । जलवायुजन्य सङ्कटका कारण हिमालमा परेको असरका विषयवस्तु कुन तरिकाले उठाइएको छ ? यसपटकको कोपमा पनि विगतमा झै पर्वतीय मुद्दाका विषयमा प्राथमिकताका साथ उठाइएको छ । जलवायु वित्त बढाउन विकासित पक्ष राष्ट्रलाई सहमतिमा ल्याउन प्रयास भइरहेको छ । विगतका सम्मेलनमा जस्तै कोप-२९ मा पनि नेपालले जलवायुका कारण पर्वतीय क्षेत्रमा परेका समस्या न्यूनीकरणका लागि पहल गरिरहेको छ । पर्वतीय क्षेत्रका सुरक्षाका लागि आवाज उठाइरहेको छ । यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाइएको छ । सम्मेलनबाट के अपेक्षा गर्न सकिन्छ ? पेरिस सम्झौता कार्यान्वयनका लागि सकारात्मक निर्णय हुने, कार्बन व्यापारका लागि आधारहरु तय हुने, अनुकूलन तथा जलवायु न्यूनीकरण र जलवायुजन्य हानी नोक्सानीका लागि आवश्यकता पर्ने जलवायु वित्तको परिमाण उल्लेख्य रुपमा बढ्नेमा हाम्रो अपेक्षा छ । कोपमा प्रतिनिधिको भूमिका कसरी बाँडफाँट गरिएको छ ? सम्मेनलनमा २९ वटा बैठक कक्ष छन् । सबैमा समानान्तर छलफल भइरहेको छ । हामीसँग नेपालबाट आएका प्रतिनिधिलाई फरक भूमिका दिएर छलफलमा उपस्थित गराइएको छ । फरक/फरक विषयगत क्षेत्र भएको हुनाले सबैमा हाम्रा उपस्थिति पुर्याउनुपर्ने छ । सात जना सह-सचिवहरुको नेतृत्वमा सात वटा मुख्य विषयगत क्षेत्रमा सरकारका अधिकारीहरु, जलवायु विज्ञ, नागरिक समाजका प्रतिनिधिलाई समेत सहभागी गराई सबै वार्ता बैठकमा नेपालको उपस्थिति हुने गरी प्रबन्ध मिलाइएको छ । यो वार्ता बैठकको सङ्ख्या र विषयवस्तुको गम्भीरताको तुलानामा हामीलाई विज्ञ प्राविधिक जनशक्तिको अझै कमी भएको महसुस भएको छ । कोपलाई अझै बढी फलदायी बनाउनका लागि विज्ञ र प्राविधिकहरु पनि लिएर हामीले काम गरिरहेका छौँ । सबै प्रतिनिधिले तोकिएको जिम्मेवारीभित्र रहेर काम गरिरहनुभएको छ । रातिको समयमा पनि एकैपटक धेरै वटा समानान्तर वार्ता चलिरहेका छन् । अघिल्लो बैठकको निरन्तरता पछिल्लो बैठकमा हुने हुँदा कुनै पनि बैठक छाड्न सकिने अवस्था छैन । तसर्थ विषयगत कार्यसमूहमा तोकिएका सबै प्रतिनिधि रात अबेरसम्मका बैठकमा सहभागी हुुनुभएकोे छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी पनि कोपमा सहभागी भइ सोमबार मात्रै नेपाल फर्कनुभएको छ । उहाँले पनि विभिन्न देशका प्रतिनिधि, विकास साझेदार निकायसँग भेट गरी नेपालको पक्षमा कुराहरु राख्नुभएको थियो । कोपमा अनावश्यक रुपमा धेरै जनाको उपस्थित गराइयो भनेर आलोचना समेत भइरहेको विषयमा यहाँको के धारणा छ ? बाहिरबाट धेरै जनाको उपस्थिति भयो भनेर आलोचना पनि भइरहेको छ । जसले नेपाली प्रतिनिधिलाई हत्तोसाहित बनाउने काम भएको छ । कोपको प्रक्रिया नबुझी सञ्चारमाध्यममा आएका टिप्पणीले विवाद निम्त्याएको हो भन्ने लाग्छ । सायद कोपमा हुने प्रक्रियाको विषयमा हामीले बुझाउन नसकेको पनि हुनसक्छ । कोपमा कोही ‘नेगोशिएसन’मा भाग लिन जानुहुन्छ । कति जाना आफ्नो विषयगत छलफलमा सहभागी हुनुहुन्छ । यहाँ सबैलाई भूमिका बाँडफाँट गरिएको छ । भूमिका बाँडफाँट नगरी हामीले कसैलाई पनि कोपमा ल्याएका छैनौ । हामीले यहाँबाट अन्तर्राष्ट्रिय जगतमा देखिने र सुनिने गरी काम गरिरहेका छौँ । हाम्रो निरन्तरको प्रयास र सशक्त उपस्थितिका कारण प्रभावकारी बनाउन लागिरहेका छौँ । हामीले समूह बनाएर क्रमबद्ध तरिकाले जिम्मेवारी पनि तोकेर काम गरिरहेका छौ । अर्को कुरा कोपमा जाने वित्तिकै उपलब्धि आइहाल्छ भन्ने पनि होइन । यतिबेला वार्ता निरन्तर रुपमा अगाडि बढिरहेको छ । आज वार्ता गर्ने वित्तिकै नतिजा आउने होइन । यी वार्ताबाट भएका निर्णयका आधारमा जलवायु वित्तका परिमाण बढ्ने, कार्बन व्यापारको आधार तयार हुने र हाम्रो जस्तो अल्पविकसित मुलुकका लागि जलवायु वित्तमा सहज पहुँच हुँदा नेपालको जलवायु अनुकुलनको पक्षमा भावी दिनहरुमा परिमाण प्राप्त हुनेछ । कोपमा द्विपक्षीय नभइ बहुपक्षीय वार्ता हुने हुँदा नेपालको पर्याप्त र सशक्त उपस्थिति हुनु आवश्यक छ । साथै निरन्तर उपस्थिति पनि उत्तिकै महत्वपूर्ण छ । अन्त्यमा केही भन्नु छ ? यो सम्मेलन एउटा प्रक्रियाको पाटो हो । आज सहभागिता भए पनि निरन्तरको वार्तापछि मात्रै निचोड निस्कन्छ । अहिलेसम्म वार्ताकै प्रक्रिया अगाडि बढिरहेको हो । नेपाल एक्लैको प्रयासले मात्रै हामीले उठाएका जलवायुका मुद्दा स्थापित हुँदैनन् । एलडिसी, जि–७७ र चीनलगायतका समूहबाट मुद्दा कोपमा प्रस्तुत गरिएको छ । हामी नतिजाको पर्खाइमा छौ । हामीले आमागी सम्मेलनमा समेत के गर्ने भनेर अगाडि नै योजना समेत बनाएका छौँ । नेपाली समाज र सञ्चारमाध्यमले दिएका सुझाव र पृष्ठपोषण ग्रहण गरी आगामी कोपमा अझ बढी सुधारसहित प्रभावकारी सहभागिता जनाउने छौँ । हामीले यहाँ उठाएका पर्वतीय मुद्दालाई अहिले अन्य देशले पनि समर्थन गरेका छन् । पर्वतीय क्षेत्रको मुद्दाको हामीले नेतृत्व गरिरहेका छौँ । यो पनि हाम्रा लागि सफलता हो ।
तामाखानीले भरिएको बागलुङको नर्जाखानी, चारजनाको विज्ञ टोलीको अध्ययन जारी
ढोरपाटन (बागलुङ) । चारैतिर अग्ला पहाड । कतै खोंच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो । नर्जाखानी पुग्न कयौं भीर, पहरा र जङ्घार पार गर्नुपर्छ । बस्तीदेखि जङ्गलसम्म जताततै तामाखानी छन् तर उत्खनन हुन नसक्दा नर्जाखानीवासी टुकीमुनिको अँध्यारो बन्नु परेको छ । यहाँका बारीका कान्ला, घरका करेसादेखि जङ्गलका बीचमा पनि तामाखानी छन् । वर्षौं अगाडि तामा निकालिएको ठाउँमा अहिले डोबहरू भेटिन्छन् । ठूला–ठूला सुरुङ र खाडल झाडीले पुरिएको देखिन्छ । तमानखोलाभरि खानैखानी हुँदा पनि अहिलेसम्म कुनै पनि स्थानमा उत्खनन भएको छैन । नर्जाखानीसहित तमानखोलामा बोङ्गाखानी, खुङ्खानी, बोङखानीलगायत धेरै गाउँहरू छन् । तमानखोला गाउँपालिकामा रहेका गाउँको नामको पछाडि खानी जोडिएको छ, ती सबै ठाउँमा सयौं वर्ष अगाडि तामा निकाएको डोबहरू भेटिन्छन् । गाउँमा सयौंको सङ्ख्यामा रहेका डोबहरूमा बेला-बेलामा स्थानीयले स-साना तामाका धाउहरू फेला पर्ने गर्छन् । बारीमा भेटिने तामाखानी उत्खनन् गर्नका लागि स्थानीयले मागसमेत गर्दै आएका छन् । स्थानीयका अनुसार यस क्षेत्रमा करिब १२० वर्ष अगाडिसम्म तामा निकालिएको पाइन्छ । अन्य गाउँको तुलनामा नर्जाखानीमा धेरै खानी रहेको पाइन्छ । नर्जाखानीका ९५ वर्षीय लालबहादुर छन्त्यालले आफ्नो बाउबाजेका पालासम्म यहाँ खानीबाट तामा निकालेको बताए । भीर पहराबाट निकालेको तामा बेचेर अघिल्लो पुस्ताले जीविकोपार्जन गरेको उनको भनाइ छ । ‘पहिले-पहिले पहिरोले बारीका कान्ला भत्किँदा पनि तामाका धाउ भेटिन्थे, अहिले पनि तामाजस्ता देखिने वस्तुहरू धेरै नै भेटिने गर्छन्, यहाँ त जता गयो त्यतै खानीका डोबहरू भेटिन्छन्, ठूला-ठूला खाडलहरू पनि देखिन्छ,’ छन्त्यालले गाउँ नजिकको भीरलाई देखाउँदै भने, ‘ती पारीका भिरपहरा जहाँसुकै खानी छन्, खानीका गणना हुनै सकेको छैन, हाम्रा बाउबाजेले उतिबेलाको जमानामा निकै दुःख गरेर तामा निकाल्नुभएको रहेछ ।’ दशकौं अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्णरूपमा खानी बन्द छन् । स्थानीय पाका व्यक्तिका अनुसार छन्त्याल जातिले तामा उत्खनन गरेर निकाल्ने, दलित जातिले त्यसको धाउ निर्माण गर्ने र थकाली जातिले खाना व्यवस्थापन गर्ने प्रचलन थियो । तामा निकालेको ठाउँबाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकले बसोबास गरेको ठाउँहरूको भग्नावशेषलगायतका वस्तु भेटिने गरेको तमानखोला गाउँपालिका-६ का अध्यक्ष चित्रहादुर छन्त्यालले जानकारी दिए । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयवासीले तिर्न नसक्दा तामा निकाल्न छोडेको उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको अध्यक्ष छन्त्याल बताउँछन् । ‘हामी सानो हुँदा बुबाले तामाको धाउ निकाल्नु भएको थियो, त्यसमा पूरै तामा थियो, अहिले कसैले पनि निकालेका छैनन्, तत्कालीन सरकारले स्थानीय बासिन्दाले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छोडेको हुन् । ठ्याक्कै यकिन मिति त भएन, तर सय वर्षअघि देखि बन्द भएको अनुमान छ,’ अध्यक्ष छन्त्यालले भने, ‘त्यसबेला अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय र मिहेनत गरेर तामा निकाल्ने गरिन्थ्यो, सरकारले कर धेरै तिर्न आदेश गरेपछि तामा निकाल्ने काम बन्द भएको थियो रे । अब नयाँ तरिकाले उत्खनन गर्नुपर्छ ।’ चारैतिर खानीहरू भएको हुँदा गाउँको नाम नै नर्जाखानी भनिएको स्थानीय तुलबहादुर छन्त्याल बताउँछन् । उनले छन्त्याल जातिलाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिएकाले उनीहरुले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताए । गाउँभरि तामाखानी भए पनि राज्यको ध्यान जान नसक्दा उत्खनन् हुन नसकेको उनको भनाइ छ । छन्त्यालले आफ्ना पुर्खाहरूले खाली खानीमा मात्रै काम गर्ने गरेको हुँदा खेती गर्नसमेत नजानेको बताउँछन् । प्रत्येक ठाउँमा तामाहरु भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्न जरुरी रहेको छन्त्याल बताउँछन्। उनले भने, ‘हाम्रा पुर्खालाई ‘अनपढ वैज्ञानिक’भन्ने गरिन्छ, उतिबेला अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन र पनि खानी पत्ता लगाए, उनीहरूले माटो सुँघेर खानीहरू पत्ता लगाउँथे र उत्खनन गर्ने गर्थे ।’ बूढापाकाले भनेअनुसार उतिबेला छन्त्याल जातका मानिसहरू खेतीपाती गर्न जान्दैनथे, उनीहरूलाई खानीमा गर्ने कामबाहेक अरू आउँदैनथ्यो । गाउँमा बारी खनजोत गर्दा पनि स्थानीयवासीले तामा भेटाउने गर्थे, कतिले त भेटाएको तामाबाट गाग्री, ताउलो लगायतका भाँडाकुँडा पनि बनाउने गरेको उनको भनाइ छ । नर्जाखानीसँगै तमानखोला गाउँपालिका–५ को खुङ्खानीमा पनि धेरै खानी रहेका छन् । यस गाउँ पनि खानी खन्नेहरूकै गाउँका रूपमा लिन्छ । तमानखोलाको धेरै ठाउँमा छन्त्याल समुदायकै बाहुल्यता रहेको छ । खुङ्खानी वरपर खानी नै खानी भएको हुँदा यस ठाउँलाई खुबैखानी भन्ने गरिकामा अहिले त्यसको अपभ्रंश भएर खुङ्खानी भन्न थालिएको स्थानीय बुद्धिबहादुर छन्त्यालले बताए । खानीलाई व्यवस्थित तरिकाले निकाल्न सके विकास निर्माणमा ठूलो टेवा पुग्ने उनी बताउँछन् । ‘पछिल्लो समय खानी उत्खननका लागि धेरै प्रविधिको विकास भएको छ, नयाँ-नयाँ यन्त्र उपकरणहरू आविष्कार भएका छन्, उतिबेलाको हाम्रा पुर्खाहरूले वन जङ्गलमा पाइने बाँस र एउटा निगालोकै भरमा त्यति ठूला-ठूला पहरा काटेर तामा निकाल्नुभएको रहेछ, अहिले राज्यले चाह्यो भने खानी उत्खनन् गर्न धेरै समस्या छैन,’ उनले भने, ‘त्यसबेला छन्त्याल जातिहरू भीर-पहरामा गएर खानी उत्खनन गर्नु हुन्थ्यो रे, उहाँहरूले एउटा निगालामा आगो बालेर सुरुङभित्र पसेर घण्टौंपछि तामा निकाल्नुभएको कुरा अहिले सुनिन्छ ।’ तमानखोला गाउँपालिका-२ बोङ्खानीका जालप्रसाद छन्त्यालले पहिलेदेखि नै यस क्षेत्रमा जनजाति र दलित समुदायले तामाखानीमा काम गरेको बताए । सामान्य घरेलु औजारको प्रयोग गरेर उतिबेला तामा निकाल्ने गरेको उनको भनाइ छ । खासगरी खानीभित्रै पसेर सीप भएका छन्त्याल जातिले तामाका धाउ निकाल्ने, विश्वकर्मा जातिले त्यसको प्रशोधन गर्ने र थकाली जातिले बजारीकरण गर्ने गरेको छन्त्याल बताउँछन् । अहिले आफ्नो घर वरपर ठूलाठूला खानीका सुरुङहरू रहेको उनको भनाइ छ । बोङ्खानीमा पश्चिमबाट आएर छन्त्याल जातिहरूले खानी सञ्चालन गरेको उनले बताए। छन्त्यालले भने, ‘तमानखोलामा जति पनि खानीहरुका नामबाट गाउँ बनेको छ, त्यहाँ धेरैजसो छन्त्याल समुदायको बाहुल्यता रहेको छ, छन्त्याल जाति र खानीको निकै घनिष्ठ सम्बन्ध रहेको छ, पहिला-पहिला हाम्रा अग्रजहरूले खानीबाटै आफ्नो जीविका चलाएका रहेछन् । अहिले आएर समय फेरियो, जुग जमाना फेरियो, त्यसले गर्दा खानीहरु पनि बन्द भए, पहिले उत्खनन् भएका खानीका थुप्रै अवशेषहरु अझै पनि भेटिन्छन् । फेरि उत्खनन गर्न थाल्ने हो भने यहाँका नागरिकको जीवनस्तर उकासिने थियो, आयआर्जनको माध्यम बढ्ने थियो भने रोजगार पनि सिर्जना हुने थियो ।’ तमानखोलासहित बागलुङका धेरै ठाउँको नाम खानीबाट बनेका छन् । बागलुङ नगरपालिका–९ तित्याङमा पनि तामाखानी छ । त्यहाँ पनि तामाको कच्चापदार्थ निकाल्दा ठूलो सुरुङ निर्माण भएको छ । सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानीलगायत थुप्रै खानीका नाम छन् । यी ठाउँहरुमा विगतमा खानी रहेको जानकारहरू बताउँछन् । पहिले खानी रहेको स्थानमा हाल झाडी पलाएर पुरिएको छ। तमानखोलामा अझै बढी खानी रहेको हुँदा स्थानीयले उत्खनन् गर्नका लागि माग गर्दै आइरहेका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोलामा क्षेत्र खानीले घरिएको हुँदा उत्खनन्का लागि केन्द्र सरकारसँग सहकार्य गर्ने बताए । गाउँपालिकाभित्रै धेरै खानी भए पनि के कति छन् भनेर यकिन गर्न नसकेको उनको भनाइ छ । गाउँपालिकाको वडा नं ६ को नर्जाखानीमा रहेको तामाखानी उत्खननका लागि खानी विभागबाट समिति लिएर एउटा विज्ञ टोली अनुसन्धान गरिरहेको उनको भनाइ छ । तामाको परीक्षणका लागि नमूना प्रयोगशालामा पठाएको उनले बताए । भारतका दुईसहित चार जनाको विज्ञ टोलीले नर्जाखानीमा अध्ययन गरिरहेको छ । ‘तीन पटकसम्म विज्ञ टोली आएर यहाँ अनुसन्धान गरेको छ, राम्रो गुणस्तरको तामा निकाल्न सकिने सम्भावना रहेको बताइएको छ । अध्यक्ष बुढा मगरले भने, ‘खानी उत्खनन थालेपछि यहाँबाट ठूलो सङ्ख्याले रोजगार पाउन सक्नेछन्, त्यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नेछौं, नागरिकले रोजगार पाउने छन् भने उनीहरुको जीवनस्तर पनि उकासिनेछ ।’ रासस