दीपेन्द्रसिंह ऐरीलाई अर्को लाभ, बन्ने भए ओमोडाको ब्रान्ड एम्बेस्डर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बन्ने भएका छन् । ऐरीलाई ओमोडाको ब्रान्ड एम्बेस्डर बनाउन लागिएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको ब्रान्डका लागि नेपालकाे आधिकारिक बिक्रेता रहेको छ । सोही दिन नै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिने पनि कार्यक्रम रहेको छ । साथै उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । दीपेन्द्रले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

न्यु इयर इभमा द क्लिफमा प्रकाश सपुतको लाइभ प्रस्तुति हुने

काठमाडौं । आगामी ३१ डिसेम्बरका दिन कुष्माको द क्लिफमा प्रकाश सपुतले सङ्गीतिक प्रस्तुति दिने भएका छन् । सो अवसरमा द क्लिफ रिसोर्टमा बस्न २० प्रतिशत छुटमा बुकिङ भइरहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । न्यु इयर इभ कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपुतको प्रस्तुतिसँगै, फायर डान्स र लाइभ म्युजिकको मज्जा लिन पाइनेछ । नयाँ वर्षमा क्लिफमा जाने अतिथि र आसपासका स्थानीयलाई समेत लक्षित गर्दै उनीहरूको मनोरञ्जनका लागि सपुतलाई निम्त्याइएको हो । कार्यक्रम साँझ ६ बजे सुरू हुने क्लिफले जनाएको छ । सो कार्यक्रममा सहभागि हुनका लागि पहिल्यै अर्ली बर्ड टिकट लिँदा ३‌ सय‌ रुपैयाँ तोकिएको छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । क्लिफले नयाँ वर्षको अवसरमा यसअघि नाइट बन्जीजम्प लगायतका कार्यक्रमहरु गरेको थियो ।

बुधबार हायात रिजेन्सीमा सोनु निगमको प्रस्तुति : टिकट एक लाखसम्म, १० हजार दर्शकबाट ५ करोड उठाउने तयारी

काठमाडौं । बलिउडका चर्चित गायक सोनु निगमको बुधबार काठमाडौंमा कन्सर्ट हुने भएको छ । क्रिसमस डेको अवसरमा पुस १० गते बुधबार हायात रिजेन्सी होटलको मैदानमा ‘सोनु निगम लाइभ इन नेपाल’ हुन लागेको हो । नेपाली टच नेपालले आयोजना गर्न लागेको कन्सर्टका लागि टिकट बिक्री भइरहेको छ । आयोजकले ७० प्रतिशत टिकट बिक्री भइसकेको जानकारी दिएको छ । आयोजकले न्यूनतम ५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म टिकट शुल्क तोकेको छ । कन्सर्टमा प्रवेश गर्नका लागि जर्नल लागि पाँच हजार, प्लाटिनम टिकटको ७ हजार, भीआईपीको लागि १८ हजार र भीभीआईपीको लागि एक लाख रुपैयाँ शुल्क तोकेको छ । कन्सर्टमा सोनुले भारतीयसहित उनले स्वर दिएका ’उकाली ओराली गर्दै’, ’फूलको डाली–डालीमा’ जस्ता नेपाली गाउने बताइएको छ । कन्सर्टमा १० हजार दर्शकको उपस्थिति रहने आयोजकले जानकारी दिएकाे छ । सोनु निगम कन्सर्टकै दिन काठमाडौं आउने तयारी छ। उनको बसाइँ कति दिनको हुने आयोजकले खुलाएको छैन । अहिले कन्सर्टका लागि स्टेज निर्माणको काम धमाधम चलिरहेको छ । टिकटबाटै आयोजकले ५ हरोड रुपैयाँ असुल गर्ने योजना बनाएको छ । सोनुलाई कति शुल्क तिरेर नेपाल ल्याइँदैछ भन्ने विषय भने खुलाएको छैन । यो कन्सर्टको मुख्य प्रायोजक दिपल गाडी रहेकाे छ ।