अपि पावरसहित तीन हाइड्रोको सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न तीन हाइड्रो कम्पनीको सेयर सूचीकृत भएको छ । आज(फागुन ९ गते) एकैदिन सानिमा माइ हाइड्रोपावर, अपि पावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत भएको हो । जसमध्ये दुई कम्पनी सानिमा माई हाइड्रो र रिडी हाइड्रोको बोनस र अपि पावरको हकप्रद सेयर सूचीकृत भएको छ । सानिमा माइको १० प्रतिशित अर्थात २५ लाख ५३ हजार १०० कित्ता बोनस सेयर थपिएको हाे । त्यस्तै, रिडी हाइड्रोको ५ प्रतिशत अर्थात २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे । त्यसैगरी, अपि पावरको सबैभन्दा बढी अर्थात ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यससँगै यी तीन वटै कम्पनीको सो मात्राको सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

आईपीओ जारी गर्न ज्योति लाइफ इन्स्योरेन्सले पायो अनुमति

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत फागुन ७ गते नै बोर्डबाट अनुमति पाएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत सो मात्राको सेयर बिक्री गर्ने छ । कम्पनीले साे मात्राकाे सेयर जारी गर्न गत मंसिरकाे अन्तिम सातातिर नियामक निकाय धिताेपत्र बाेर्डमा फाइल पठाएकाे थियाे । सम्बन्धित समाचार ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोडको आईपीओ जारी गर्दै, फाइल धितोपत्र बोर्डमा

दुई हाइड्रोको सेयर मूल्यमा सर्किट, सबैभन्दा बढी कारोबार हुनेमा निफ्रा अगाडि

काठमाडौं । आइतबार कारोबार खुलेको केही समयमै दुई हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन नियमति बजार खुलेको २ घण्टाको अवधिमा अपर तामाकोशी हाइड्रोपावर र शिवश्री हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । जसमध्ये अपर तामाकोशीको सेयर मूल्य बढेर प्रतिकित्ता ५३९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ४९ रुपैयाँले बढी हो । आइतबार कम्पनीको ३ लाख ८३ हजार ४ कित्ता सेयर २० करोड ८ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शिवश्री हाइड्रोको सेयर मूल्य १७ रुपैयाँले बढेर प्रतिकित्ता १८७ रुपैयाँ पुगेको छ । जुन अघिल्लाे काराेबारकाे तुलनामा १० प्रतिशतले बढी हाे । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । गत बिहीबारको तुलनामा आइतबार कम्पनीको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता ६०० रुपैयाँ पुगेको छ । यो अवधिमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । २०१ कम्पनीको ५ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल काराेबार मध्ये सबैभन्दा बढी निफ्राकाे सेयर काराेबार भएकाे छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ४९ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । त्यस्तै, सबैभन्दा बढी समीट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । अहिले संस्थाको सेयर मूल्य ४६ रुपैयाँले घटेर प्रतिकित्ता १२८२ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो कारोबारको तुलामा ३.४६ प्रतिशतले घटी हो ।