आरम्भ चौतारी लघुवित्तले बोनस सेयर वितरण गर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । फागुन १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको छ । ८.८५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २८ करोड ६७ लाख रुपैयाँ पुगेको थियो ।

स्थगित भएको निफ्राको सेयर कारोबार पुनः शुरु, मूल्य ९.९३ प्रतिशतले घट्यो

काठमाडौं । स्थगित भएको नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबार पुनः शुरु भएको छ । नेप्सेको गडबडका कारणले बैंकको सेयर कारोबार केही समयको लागि स्थगित भएको थियो । उक्त समस्या समाधान भएसँगै संस्थाको सेयर कारोबार पुनः शुरु भएको छ । कारोबार शुरु भएपछिको कारोबार बैंकको सेयर मूल्य ९.९३ प्रतिशतले घटेर प्रतिकित्ता ५३५ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५९ रुपैयाँले घटी हो । मंगलबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ५९४ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको बजारमा जस्तै बुधबारको बजारमा बैंकको सेयर किन्ने कोहि देखिएका छैनन् तर बेच्नेको भने अधिक चाप देखिएको छ । यो समाचार तयार पार्दासम्म बैंकको ७४ लाख २२१ कित्ता सेयर बिक्रीमा रहेको छ । सम्बन्धित समाचार यसकारण निफ्राको सेयर कारोबार स्थगित

यसकारण निफ्राको सेयर कारोबार स्थगित

काठमाडौं । बुधबारको सेयर बजारमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक(निफ्रा) को सेयर कारोबार स्थगित भएको छ । कम्पनीको सेयर मूल्यमा गडबढ भएसँगै बैंकको सेयर कारोबार स्थगित भएको हो । बजारमा संस्थाकाे अन्तिम कारोबार मूल्य शुन्य हुन गएको छ । नेप्सेकाे गल्तीकाे कारणले अन्तिम कारोबार मूल्य ५९४ रूपैयाँ हुनुपर्नेमा शुन्य हुन गएकाे हाे । त्यसैले संस्थाको सेयर मूल्य शतप्रतिशतले घटेको देखिएको हाे । अघिल्लाे दिन अर्थात मंगलबारको बजारमा बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको थियो । र, अन्तिम कारोबार प्रतिकित्ता ५९४ रुपैयाँमा भएको थियो । तर, नेप्सेको गल्तीको कारण बुधबारकाे बजारमा संस्थाको अन्तिम कारोबार मूल्य शुन्य हुन पुगेको हो । हाल उक्त समस्यालाई समाधान गर्ने प्रयास भइरहेको नेप्सेले जनाएको छ । निफ्राकाे काराेबार स्थगित भएपनि अन्य कम्पनीकाे काराेबारमा भने केही समस्या देखिएकाे छैन । बुधबार साढे १२ बजेसम्ममा नेप्से परिसूचक ३०.४२ अंकले घटेर २५५६ बिन्दुमा झरेको छ । उता सेन्सेटिभ इन्डेक्स भने ९.२२ अंकले बढेर ४७७ बिन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म बजारमा २ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म नेपाल फाइनान्सको सेयर सकारात्म सर्किट लेभलमा कारोबार भएको छ । संस्थाको मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३५३ रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य समूह बाहेक कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् ।