बीमा कम्पनीको सही विवरण दिने समितिको दावी, जोड्यो नयाँ सर्भर र सफ्टवेयर

काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा आएको छ । साउन १ गते शुक्रवार एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसाथ गर्दै यो चरणमा आइपुगेका हौं, उनले भने, यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नैपर्छ । फिजिकली इन्टरफेशलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने बताउँदै अध्यक्ष सिलवालले यसबाट समयको वचतसँगै इमान्दार व्यवसायिक प्रयास भएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीसँग पटक पटक विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकोले सही विवरण दिने प्रयत्नले नयाँ सफ्टवेयर नयाँ सर्भर ल्याएको बताए । अब कुन कम्पनीको अवस्था कस्तो छ भनेर हेर्न सहज भएको छ, निर्देशक पौडेलले भने, बीमा कम्पनीसँग अब चाँडै जोडिएर यो सफ्टवेयरलाई धेरै भन्दा धेरै चलायमान बनाउनेछौं । यो सूचना प्रविधिको जमाना भएकोले चाँडो भन्दा चाँडो जनतालाई सही जानकारी दिने उनको भनाइ छ । बीमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई भएकोले समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रुपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ । समितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभइ सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट तपशील बमोजिम दैनिक,मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्न सक्नेछन् । यसमा कानून, उजुरी, नियमन, नीति विश्लेषण, परिपालन, दाबी तथा सम्पत्ती शुद्धिकरण, बीमालेख तथा बीमाङ्की, अण्डराइटिङ, वित्तीय लेखा परीक्षण, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्नेछन् । त्यस्तै स्थलगत सुपरिवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, इजाजत, बीमा अभिकर्ता र सर्भेयर, व्यवस्थापन सूचना प्रणालीसम्बन्धी विवरणहरु पनि अनलाइन माध्यमबाटै पेश गर्न सकिनेछ । त्यस्तै समितिको आन्तरिक तथ्यांक व्वस्थापनमा र बीमकहरुबाट प्राप्त हुने विविध प्रकृतिका तथ्यांकहरु व्यवस्थापन गर्नका लागि नयाँ सफ्टवेयर जडान गरिएको हो । यस सफ्टवेयर मार्फत समितिको काम कारबाहीमा सहजता हुनुका साथै बीमकहरुबाट प्राप्त हुने तथ्यांक एवं सूचनाहरु व्यवस्थापनमा सहज हुनेछ । यो समग्र बीमा क्षेत्रलाई नै प्रविधिमैत्री र बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले बीमा समितिमा नयाँ सफ्टवेयर इन्स्योरेन्स लेगुरटरी म्यानेजमेण्ट इन्फर्मेशन सिस्टम (आइआरएमआइएस) जडान गरिएको हो ।

हिमालयन जनरलको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई निरन्तरता दिएको हो । सो सम्बन्धि दुई संस्थाबीच गत असार २८ गते सम्झौता भएको हो । सम्झौता अनुसार क्यापिटलले २०७८ साउन १ गतेदेखि २०२० असार मसान्तसम्म इन्स्योरेन्सको सेयर रजिष्टारको काम गर्ने छ ।

अन्तिम दिन ११ अंकले बढेर आर्थिक वर्षलाई विदा गर्यो सेयर बजारले

काठमाडौं । नेपालको सेयर बजारका लागि ऐतिहासिक वर्ष बनेको चालु आर्थिक वर्षको अन्तिम दिन सामान्य अंकले बढेर बजार बन्द भएको छ । अन्तिम दिन पुँजी बजार मापक नेप्से परिसुचक ११.३३ अंकले बढेको छ । चालु आर्थिक वर्षमा नेप्से परिसुचकले ऐतिहासिक विन्दु पार गरेर ३ हजारभन्दा माथिको विन्दुमा पुगेको थियो । यस्तै, एकै दिन २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको रेकर्ड पनि सेयर बजारले यही चालु आर्थिक वर्षमा राख्यो । सेयर बजारप्रति चालु आर्थिक वर्षमा सर्वसाधारणको आकर्षण पनि धेरै बढेको छ । एउटै कम्पनीको आईपीओमा २२ लाखको हाराहारीमा आवेदन पर्न थालेको छ । अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि ऐतिहासिक रुपमा बढेको छ । आज सेयर बजारमा २२३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार रुपैयाँमा खरिद विक्री भए । आज ११.३३ अंकले बढेर नेप्से परिसुचक २८८३.३८ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीहरुको परिसुचक सेन्सेटिभ इन्डेक्स १.९३ अंकले बढेर ५४१.३१ विन्दुमा पुगेको छ । आजको बजारमा बैंकिङ, ट्रेडिङ, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समुहका उपसुचक पनि बढेका छन् । होटल तथा टुरिजम, डेभलपमेन्ट बैंक, उत्पादनशील, अन्य, जीवन बीमा र इन्भेष्टमेन्ट समुहका सुचक भने घटेका छन् । न्यादी पावर कम्पनीका लगानीकर्ताको सम्पत्ती ९.४ प्रतिशतले बढेको छ । यस्तै, रैराङ हाइड्रोको ८.९१, गणपति माइक्रोफाइनान्सको ७.८८ र मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि करिब ८ प्रतिशतले बढेको छ ।