सेबोनका अध्यक्ष ढुंगानामाथिको छानविन सकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बझाएका हुन् । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रीपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो । जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने धारणा राखे । सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयर बजार घटबढ नहुने उनले बताए ।
बजारमा छायो हरियाली, तीव्र उतारचढावबीच दोहोरो अंकको वृद्धि, कारोबार भने घट्यो
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले बढेको छ । पछिल्लो समययता निरन्तर ओरालो लागेको बजार आज भने उकालो लागेको छ । दिनभर तीव्र उतारचढाव देखिएको मंगलबारको बजार अन्ततः दोहोरो अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ बिन्दुमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतले बढी हो । घटेर न्यूनतम २६१५ बिन्दुसम्म झरेको परिसूचक सोही दिन अधिकतम २७६५ बिन्दुसम्म पुगेको छ । शुरुवातमा ओरालोका बाटो तय गरेपनि अन्ततः हरियो भएर बजार बन्द भएको छ । मंगलबार परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । कारोबार रकम मात्रै नभई संख्या पनि घटेको छ । दिनभरको बजारमा २२३ कम्पनीको एक लाख ५३ हजार कित्ता सेयर ७ अर्ब ३६ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । अघिल्लो दिनको बजारमा भने ८ अर्ब माथिको सेयर कारोबार भएको थियो । कूल कारोबारमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५४ कम्पनीको घटेको छ । त्यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । सेयर मूल्य बढ्नेमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको रहेको छ । पछिल्लो समय लगातार सकारात्मक सर्किट लागेको संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०८८.७० रुपैयाँ पुगेको छ ।
अर्थमन्त्रीको प्रश्नः मन्त्रीले बोलेर सेयर बजार घट्ने हो र ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका व्यक्तिहरुले सेयर बजार घटेकोप्रति आफुमाथि आरोप लागेको बताएका छन् । मंगलबार अर्थशास्त्र केन्द्रिय विभाग त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धि कार्यक्रममा अर्थमन्त्री शर्माले केही व्यक्तिहरुले आफुमाथि बजार घटेको आरोप लागेको बताउँदै त्यस्तो नगर्न पनि आग्रह गरे । ‘मैले यसअघि चार्टर्ड एकाउण्टेडहरुको कार्यक्रममा सेयर बजारको बारेमा थोरै बोलेको थिएँ, मैले बोलेकै कारण सेयर बजार घटेको ममाथि आरोप लाग्यो, के मन्त्री बोल्ने बित्तिकै सेयर बजार घट्ने हो र ? उनले उपस्थितहरुसँग प्रश्न गरे’ सेयर बजारभित्र क-कसले के गरिरहेको छ भन्ने विषयमा अध्ययन नगरी अर्थात थाहै नपाई कसैमाथि आरोप लगाउन नहुने उनकाे भनाई छ। सेयर बजारभित्र के कस्तो भइरहेको छ ? कसले के गरिरहेको छ भनेर थाहा पाउनु पर्छ, मन्त्रीकाे बाेलेकै आधारमा यस्ताे भन्नु हुँदैन, तर, यहाँ कसले के गरिरहेको छ के थाहा,’ उनले भने । यस्तै, उनले उत्पादनमा आधारित अर्थतन्त्रमा ध्यान दिनु पर्ने बताए । उनले उद्योगभन्दा पनि ट्रेन्डका आधारमा अर्थतन्त्र चलेको बताउँदै त्यसमा सुधार गर्नु पर्ने धारणा पनि राखे । यस्तै, कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले सेयर बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताए । गैर आवासीय नेपाली (एनआरएन)हरु मार्फत लगानी भित्र्याई मर्चेन्ट बैंकिङ च्यानलबाट सेयर बजारमा लगानी ल्याउनु पर्ने उनको धारणा छ । सबैले मिलेर बजारमा लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने बताउँदै उनले बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउनु पर्ने व्यवस्था पनि गर्नु पर्ने बताए । यस्तै, उनले विदेशीबाट सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याई नेपाली मुद्रामा कर्जा प्रवाह गर्दा उत्पन्न हुने जोखिम राष्ट्र बैंकले व्यवस्थापन गर्ने गरी हेजिङ सम्बन्धी नीतिगत व्यवस्था गरिनु पर्ने पनि धारणा राखे ।