हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २०७४को असार मसान्तको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । गत मसान्तमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । उक्त पुँजीमा कम्पनीले १५ प्रतिशतका दरले ५ करोड ७७ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ । उक्त निर्णय मंसिर ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी २४औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

नेप्से सामान्य अंकले बढ्दा दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । यस साताको शुरुदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार भने उकालो लागेको छ । आजको नेप्से ३.०८ अंकले उकालो लागेर १४७२.२४ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा केही सुधार आएतापनि कारोबार रकममा भने गिरावट भएको छ । सोमबार ३९ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार जम्मा ३५ करोडको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको ४ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार १५९ कम्पनीको ८ लाख ४२ हजार कित्ता सेयर कारोबार भएको हो । सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन ग्रीन डेभलपमेन्ट बैंक र बिशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ९.८४ र ९.८१ प्रतिशत बढी कमाएका छन् । अघिल्लो दिनको तुलनामा ग्रीन डेभलपमेन्टको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ र बिशाल बजारको सेयर मूल्य प्रतिकित्ता १८५ रुपैयाँले बढेको छ । सोही दिन प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६ प्रतिशत गुमाएका छन् । बजारमा ट्रेडिङ समूहको परिसूचक १५ अंकले बढेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक १४ अंकले घटेको छ ।

एक्सेल डेभलपमेन्ट बैंक र सिभिल बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र सिभिल बैंककोे सेयर मूल्य समायोजन भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोज भएको छ । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ रहेको थियो । सो दिन सिभिल बैंकको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २१२ रुपैयाँ रहेको थियो ।