सार्वजनिक सेवाको गुणस्तर मापन गर्न सर्वेक्षण
काठमाडौं, २६ असार । सरकारी कार्यालयले सम्पादन गर्ने सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयता मापनका लागि नौ जिल्लामा सर्वेक्षण सुरु भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक सेवा प्रदायक संस्थाका कामको गुणस्तरीयता मापनका लागि सिराहा, रौतहट, भक्तपुर, दोलखा, बागलुङ, रुपन्देही, बाँके, दाङ र दार्चुलामा अध्ययन सुरु गरेको हो । गत दुई महिनादेखि सुरु भएको सर्वेक्षण पुस मसान्तमा सम्पन्न हुनेछ । टिआइ नेपालले सन् २०१५ मा पहिलो पटक यी जिल्लामा सर्वेक्षण गरेको कार्यकारी निर्देशक आशिष थापाले राससलाई जानकारी दिनुभयो । “पहिलो पटकको सर्वेक्षणमा सरकारी सेवा प्रवाह समस्याग्रस्त पाइयो, गत वर्षको नौ जिल्लाको अध्ययनमा कार्यालयमा नागरिक बडापत्र राखे पनि त्यसअनुरुप काम नभएको सेवाग्राहीको गुनासो थियो”– उनले भने । गत वर्षभन्दा यस पटक सेवा प्रवाहमा कति सुधार आयो रु भन्ने तुलनाका लागि सर्वेक्षण गरिएको टिआइ नेपालले जनाएको छ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा प्रकाश भट्टराईले सर्वेक्षणको संयोजन गर्नेछन् । रासस
नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा
काठमाडौं, २६ असार । कम्पनी ऐन विपरित नेपाल टेलिकम नियमावली संसोधन गरी सरकारले प्रवन्ध निर्देशक (एमडी) नियूक्ती गर्न लागेको भन्दै नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । नेपाल टेलिकम कर्मचारी यूनियनले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । पहिलो चरणमा २२ बुँदे माग राख्दै असार १६ गतेदेखि २४ गतेसम्म केन्द्रीय कार्यालयमा धर्ना बसेको यूनियनले दोस्रो चरण असार २६ देखि साउन २ गतेसम्मको प्रचारात्मक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रममा असार २६ गतेदेखि केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र विभागिय स्तरमा तुल, पोष्टर, ब्यानर र अपिल टास्दै कानूनी र तथा संबैधानिक निकायको लिखित ध्यान आर्कषित गर्ने र असार २७ गतेदेखि साउन २ गतेसम्म यूनियनको मागको विषयमा जानकारी गराउने रहेको छ । दोस्रो चरणको कार्यक्रमबाट पनि माग संबोधन नभए अझै कडा कार्यक्रम ल्याउने पत्रकार सम्मेलनमार्फत यूनियनले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजकुमार मेहताले यसरी नियूक्त गरिएका प्रवन्ध निर्देशक कम्पनी र सेयर धनिप्रति जिम्मेवार नहुँदा भ्रष्टाचार बढी हुने सम्भावना ब्यक्त गर्दै यस्तो गरे सञ्चालक समिति पंगु भएर अन्तत कम्पनी नै अराजक स्थितिमा पुग्ने आशंका ब्यक्त गरे । उनले अहिलेको योजना टेलिकमलाई धारासायी बनाएर निजी कम्पनीहरुलाई पोस्ने षडयन्त्र भएको आरोप समेत लगाए । क्षेत्रीय अध्यक्ष एवम कानून विभाग प्रमुख उत्तम श्रेष्ठले कम्पनी ऐन अनुसार सञ्चालक समितिले सञ्चालकहरु मध्येबाटै प्रवन्ध निर्देशक चयन गर्ने ब्यवस्था हुँदा हुँदै साधारण सभामा प्रस्ताव नै नल्याई नियमावली संसोधन गरेर प्रवन्ध निर्देशक मन्त्री परिषदले नियूक्त गर्ने र उसको काम कर्तब्य अधिकार सञ्चारमन्त्रीले तोक्ने गरी ब्यवस्था भएको भन्दै यस्तो ब्यवस्था टेलिकमलाई धरासायी बनाउने नियतले ल्याएको आरोप लगाए । यूनियनका महासचिव धिरेन्द्रप्रसाद दत्तले सञ्चालक समितिको अधिकारलाई छलकपट तरिकाले मन्त्रालयलाई बुझाए र कम्पनी र सेयरधनिको अधिकार हनन गरिएको दावी गर्दै यो टेलिकममा रणनीतिक साझेदार नभित्र्याउने षडयन्त्र भएको ठोकुवा गरे ।
नेपाल–भारत मैत्री बस सेवा सोमबारदेखि सञ्चालन, बस भाडा तीन हजार ५२० रुपैयाँ
पोखरा, २६ असार । नेपाल– भारत मैत्री बस सेवा सोमबारबाट सञ्चालन हुने भएको छ । मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोको संयुक्त प्रयासमा पोखरा–दिल्ली र दिल्ली–पोखराका लागि बस सञ्चालन गर्न लागिएको ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । गत जेठ ३१ गते बस सञ्चालन गर्नेबारे सम्झौता भएको थियो । पोखराको पर्यटन बसपार्कबाट बस दैनिक बिहान ९ बजे छुट्नेछ । बस पोखरा, स्याङ्जा, वालिङ, बुटवल, सुनौली सीमा हुँदै गोरखपुर, लखनऊ, दिल्ली पुग्नेछ । दिल्लीबाट समेत दैनिक बिहान ९ बजे बस छुट्ने अधिकारीले बताए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत सुरु हुने उक्त सेवामा नेपाल र भारतका तर्फबाट चार–चार वटा बस सञ्चालन हुनेछन् । बसको बस भाडा तीन हजार ५२० रुपैयाँ तय गरिएको छ । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो । सोही सम्झौताअनुसार काठमाडौं–दिल्ली र काठमाडौं–बनारसका लागि बस सञ्चालन भइरहेको छ । मोर्डन इराले २०६४ सालदेखि नेपालका विभिन्न स्थानमा बस सेवा सञ्चालन गरिरहेको छ । सोमबार सुरु हुने नेपाल भारतमैत्री बस सेवाको गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस