टेलिकमले चीनवाट अप्टिकल फाइबर ल्यायो

काठमाडौं, २९ असार । नेपालको दुरसञ्चार सेवालाई भारतीय परनिर्भरतावाट मुक्त गर्न नेपाल र चीनविच अप्टिकल फाइबर जडान सम्पन्न भएसंगै व्यापारीक कारोवारका लागि पनि काम अगाडि बढिरहेको छ। टेलिकमले व्यापारिक प्रयोजनका लागि साउनदेखि ल्याउने तयारी गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। यसका लागि टेलिकमले चाइना टेलिकमसंग व्यापारिक सम्झौता समेत गरिसकेको छ। चाइना टेलिकम कर्पोरेसन लिमिटेडसंग सेवा खरिद र सेवा मर्मतका लागि संझौता भइसकेको  बैद्यले जानकारी दिइन्। यो संझौता संगसंगै नेपालमा चलिरहेको इनेटरनेट पनि सस्तो र कुनै पनि बेला भारत तर्फ फाइवरको समस्या भयो भने विकल्प हुनेछ। अब नेपाल टेलिकम र चीनको चाइना टेलिकमसंग अन्तरदेशिय प्रशारणलाइन विस्तार गर्नका लागि बाटो खुलेको छ भने चीनबाट नेपाल हुँदै दक्षिण एसियासंग छोटो दुरीमा अप्टिकल फाइबर मार्फत तीब्र गतिको इन्टरनेटसंग जोडिनका लागि सजिलो भएको छ।

नेकपा एमाले पर्यटन विभागको सचिवमा चन्द्र रिजाल

काठमाडौ, २९ असार। नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन व्वसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यस अघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य थिए । बुधबार नेकपा एमाले केन्द्रिय कार्यालयमा आयोजित विभागको पहिलो बैठकले रिजाललाई सर्वसम्मत सचिव चयन गरेको विभागका सदस्य कृष्णहरि खत्रीले जानकारी दिए । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता विभागका प्रमुख सूर्य थापाले गरेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सरकारको समर्थन फिर्ता लिने र अविश्वास प्रस्तावको परिक्षण व्यवस्थापिका संसदबाटै गर्ने बताए । को हुन् चन्द्रप्रसाद रिजाल ? अनेरास्ववियुमा लामो समय राजनीति गरेका चन्द्रप्रसाद रिजाल, नेकपा एमाले उद्योग विभागको पूर्व सदस्य, एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दुई कार्यकाल सफल अध्यक्ष हुन् । त्यस्तै पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापीत छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल ९टान० को ३७ औँ केन्द्रिय वार्षिक साधारणसभा सँगै सन् २०१५ देखि २०१७ सम्मका लागि उनी टानको अध्यक्ष छन् ।

६२ हजार चालकले स्मार्ट कार्ड मागे, यातायात व्यवस्था विभागले दिन सकेन

काठमाडौं, २९ असार । यातायात व्यवस्था विभागले सेवाग्राहीको मागअनुसार ‘स्मार्ट कार्ड’ वितरण गर्न सकेको छैन । चालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि ६२ हजारले राजस्व तिरेको सवारी चालक अनुमतिपत्र बागमती कार्यालयले जनाएको छ । ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र लिनका लागि मोटरसाइकल रु ७००, कार जिपलाई रु एक हजार र ठूला सवारीका लागि रु दुई हजार शुल्क तोकिएको कार्यालय प्रमुख चेतप्रसाद उप्रेतीले जानकारी दिए । “६२ हजारले राजस्व तिरेर ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिन प्रतीक्षा गरेपनि ४९ हजार मात्र छापिएर आएको छ, मागअनुसार ‘स्मार्ट कार्ड’ नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने अवस्था छ, अहिलेसम्म ४२ हजारलाई वितरण गरेका छौँ”–उनले भने । ‘स्मार्ट कार्ड’ छपाइको काम विभागको केन्द्रीय कार्यालय मीनभवनमा भइरहेको छ । तीनवटा यन्त्रबाट ‘स्मार्ट कार्ड’ छाप्ने काम भइरहे पनि माग पूर्ति हुन नसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ ‘स्मार्ट कार्ड’ नेपालका लागि नयाँ प्रविधि भएकाले मागअनुसार छापेर वितरण गर्न नसकिएको स्वीकारेका छन् । “विभागले २०७२ मङ्सिर २० गतेदेखि ‘स्मार्ट कार्ड’ को दरखास्त लिन सुरु ग¥यो, एक हप्तापछि छाप्न सुरु गरेको हो”–उनले भने । भारतको मद्रास ठेकेदार कम्पनीले रु १५ करोडको लागतमा ‘स्मार्ट कार्ड’ छाप्ने तीनवटा लेजर इन्ग्रेडिङ मेसिन, हार्डवेयर सामग्री र एक लाख ६० हजार ‘स्मार्ट कार्ड’ छाप्ने कागज ल्याएको थियो । हाल यातायातको बागमती कार्यालयबाट मात्र ‘स्मार्ट कार्ड’ वितरण भइरहेको छ । पाँच वर्षभित्रमा हस्तलिखितलगायत अन्य प्रकृतिका चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तन गर्ने विभागको योजना छ । अहिले नयाँ निवेदन दिने, प्रतिलिपि लिने र नवीकरण गर्नेलाई ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र मात्र दिइएको यातायात व्यवस्था कार्यालय बागमतीले जनाएको छ । रासस