दसैं विदा मनाउनले होटल भरिभराउ, पोखरामा पनि आन्तरिक पर्यटककको घुइँचो
काठमाडौं २९, असोज । दसै बिदा मनाउन आउने आन्तरिक पर्यटकले म्याग्दी र मुस्ताङका होटल भरिभराउ भएका छन् । म्याग्दी सदरमुकाम बेनीबजार देखि बेनी–जोमसोम सडक अन्तर्गत पर्ने गलेश्वर, झुरुङ तातोपानी, घांसाका होटल भरिभराउ भएका छन् । लेते, मार्फा, जोमसोम र मुक्तिनाथसम्मका करिब १ सय ५० साना तथा ठूला होटल दशमीको भोलिपल्टदेखि नै भरिभराउ भएका हुन् । बिदा मनाउन आउन विद्यार्थी, नीजि संघसँस्थाका कर्मचारी बढी छन् । यो रुटमा मोटरसाइकल र नीजि सवारीसाधनमा यात्रा गर्ने आन्तरिक पर्यटक धेरै देखिएका छन् । पोखरामा पनि आन्तरिक पर्यटकको होटल खचाखच भएका छन् । पर्यटकीय सिजन सुरु भएपनि दसैं विदामा घुम्न निस्कने आन्तरिक पर्यटकले नै होटलका कोठा भरिएको पोखरा क्षेत्र आन्तरिक पर्यटकको चहलपहल बढेको समाचार शनिबारको अन्नपुर्ण पोस्ट्मा छापिएको छ ।
१२ हजार दृष्टिविहीनले संसार देख्न पाए, ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका
काठमाडौं २९, असोज । नेपालमा आँखादान सुरु भएको २२ वर्षमा करिब १२ हजार दृष्टिविहीनले संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकअनुसार हालसम्म ११ हजार नौ सय ८० दृष्टिविहीनमा आँखाको नानी प्रत्यारोपण गरिएको छ । आँखा दान गरेका व्यक्तिको मृत्युपछि आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिन्छ । आँखा दान गर्ने ११ हजार दुई सय १७ नेपाली नागरिक छन् । त्यस्तै, सात सय ६३ विदेशी नागरिकले आफ्नै देशबाट सहयोगस्वरूप आँखाका नानी नेपाली दृष्टिविहीनलाई उपलब्ध गराएका छन् । हालसम्म आँखा प्रत्यारोपण गरिएकामध्ये ९६ प्रतिशतमा सफल भएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । चार प्रतिशत पनि प्रत्यारोपण गरिएका व्यक्तिले चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दा समस्या हुने गरेको आई बैंकका व्यवस्थापक त्वाएनाले बताए । प्रत्यारोपणपछि लामो समयसम्म अस्पतालमा नै बसेर उपचार गराउनुपर्नेमा हतार गरेर घर जाने र औषधिको राम्रोसँग प्रयोग नगर्नेहरूमा समस्या देखिएको उनले बताए । मृत्युपश्चात् आँखा संकलन गरिएका ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका छन् । उपत्यकाबाहिरबाट २० प्रतिशत आँखा संकलन भएको बैंकले जनाएको छ । काठमाडौंबाहिर विराटनगर, पोखरा, कैलाली र वीरगन्जमा आँखा संकलन केन्द्र छन् । संकलित आँखा आवश्यकताअनुसार प्रत्यारोपण गर्ने पूर्वाधार भएका सबै जिल्लामा पठाइने गरेको त्वाएनाले बताए । पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पनि आँखादान गरेका थिए । मृत्युपश्चात् उनको आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिएको थियो । त्यस्तै, कम्युनिस्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेती, साहित्यकार जगदीश घिमिरे, अभिनेत्री शान्ति मास्के, हास्य कलाकार हरिवंश आचार्यकी प्रथम पत्नी मिरा आचार्य, पूर्वप्रधानमन्त्री माधव नेपालका पिता मंगलकुमार उपाध्यायले पनि मृत्युपश्चात् आँखादान गरेका छन् ।
शिक्षकबाट अवकासपछिको तलब फिर्ता, तीन वर्षमा पाँच सय शिक्षकबाट सात करोड असुल
काठमाडौं २९, असोज । विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ । शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२/७३ मा १ सय ३३ जनाले ६० वर्ष उमेर काटेपछि पनि काम गरेको पाइएपछि किताबखानाले तलब फिर्ता गराएको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुंगानाका अनुसार गत आर्थिक वर्षमा एक सय ३३ जनाबाट दुई करोड २० लाख १६ हजार रुपैयाँ असुल गरिएको छ । कान्तिपुर दैनिकबाट ।