बैतडी– काठमाडौं एसी बस सञ्चालन, प्रतियात्रु भाडा ६४५ रुपैयाँ
बैतडी, २० असोज । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी– काठमाडौँ एसी (वातानुकूलित) बस सेवा शुरु गरेको छ । यात्रुको मर्कालाई तथा दसैँ तिहारलाई ध्यानमा राखी बिहीबारदेखि बैतडी– काठमाडौं एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिए । बसमा फ्रि वाइफाइ, खाना, पानी र पत्रिकाको समेत व्यवस्था छ । “लामो यात्रामा यात्रुलाई समस्या भएपछि एसी बस सञ्चालन गरेका हौं,” महासचिव कँडेलले भने । बैतडीबाट दैनिक एउटा बस बिहान ७ बजे सदरमुकाम गोठलापानीबाट तथा काठमाडौंबाट बिहान ११ बजे गङ्गबु बसपार्कबाट छुट्ने समितिले जनाएको छ । बैतडीबाट काठमाडौंको भाडा प्रतियात्रु दुई हजार ४३० रुपैयाँ तोकिएको छ । हाललाई बैतडी–काठमाडौं छ वटा एसी बस सञ्चालन भए पनि छिट्टै थप छ वटा बस थप्ने तयारी समितिले गरेको छ । यस्तै समितिले बैतडी–महेन्द्रनगरसम्म समेत पहिलोपटक एसी बस सञ्चालनमा ल्याएको छ । बैतडी र महेन्द्रनगरबाट हरेक दिन साँझ ५ बजे बस छुट्ने छ भने भाडादर प्रतियात्रु ६४५ रुपैयाँ कायम गरिएको छ । सदरमुकाममा अवस्थित बसपार्कमा यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको छ । लामो समयपछि बसपार्क सञ्चालनमा आए पनि यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको बताइएको छ । रासस
डोल्पा र हुम्लामा पुग्यो थ्रीजी सेवा, अब ७५ वटै जिल्लामा, दसै र तिहारको अबसरमा प्रति एमबी १२ पैसामा डाटा अफर
काठमाडौं, २० असोज । आधुनिक सूचना र प्रविधिको सेवा अब डोल्पा र हुम्ला जिल्लामा पनि पुगेको छ । हिजो (असोज १९ गते) डोल्पाको दुनै र आज ‘२० गते’ देखि हुम्लाको सिमिकोटमा थ्रीजी सेवा शुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको कम्पनीले जनाएको छ । थ्रीजी अहिलेसम्म नेपालमा प्रयोगमा आएको प्रविधि मध्ये अत्याधुनिक हो । टेलिकमले फोरजी सेवा सञ्चालनको लागि तयारी गर्दैछ । ‘नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो’ टेलिकमद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल टेलिकमले जीएसएम मोवाइलमा थ्रीजी सेवा २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो । थ्रीजी सेवा मार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । त्यसै गरी कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसा सम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराइरहेको छ । नाइट डाटा अफर राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गते सम्म उपलब्ध गराइने छ । नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि स्पेशल५००एमबी वा स्पेशल१२००एमबी लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा पठाउनु कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीका प्रबक्ता प्रतिभा बैद्यले बताईन् ।
अब नेपालको आफ्नै स्याटेलाइट, अघि बढ्यो प्रक्रिया
काठमाडौं, २० असोज । नेपालले आफ्नै स्याटेलाईट सञ्चालनको प्रक्रिया अघि बढाएको छ । आफ्नै स्याटेलाइट सञ्चालन गर्ने सरकारी नीति अनुसार नेपाल दुर सञ्चार प्राधिकरणले आयस पत्रका लागि सूचना प्रकाशित गरेको हो । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार आसय पत्र बुझाउने कम्पनीहरुमध्येबाट छनौट गरेर विस्तृत परियोजना माग गरिनेछ ।‘नेपालले आफ्नै स्याटेलाइट सञ्चालन गर्ने पुर्व निर्णय कार्यान्वयनको पहिलो चरण सुरु भएको छ, आसय पत्र बुझाउने फर्म तथा कम्पनीमध्येबाट छनौटमा परेका कम्पनीलाई बिजनेश मोडालिटी र टेक्निकल प्रस्तावसहित आउन पुनः सूचना निकाल्छौं’, अर्यालले भने । उनका अनुसार स्याटेलाईट सञ्चालन गरेको अनुभव नेपाली कम्पनीसँग नरहेकाले विदेशी कम्पनीहरुले आवेदन दिनेछन् । हालसम्म नेपालले भारत, लगायतका मुलुकका स्याटेलाईट उपयोग गर्दै आएको छ । त्यस वापत नेपालले बर्षेनी अरबौं रुपैंयाँ बुझाउँदै आएको छ । नेपालको आफ्नै स्याटेलाईट सञ्चालनमा आएपछि अन्तरिक्षमा नेपालको आफ्नै स्पेश हुनेछ ।