व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान तीन सय २८ जनाले नयाँ पास लिएका तथा आठ सय ७८ जनाले पुराना पास नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका लागि जाने हुम्लीलाई एक वर्षसम्म मान्य हुने पास स्थानीय प्रशासनले प्रदान गर्दै आएको छ । नेपाल र चीन सरकारको सहमतिमा उक्त व्यवस्था भएको हो । चीनले गत वैशाख १८ गते हिल्साबाट आवागमनको अनुमति दिएपछि बर्सेनि पास बनाउने सेवाग्राहीको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्ने गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । जिल्लाको उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट धेरै सेवाग्राही आउने गरेका छन् । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चङ्खेली र अदानचुली गाउँपालिकाबाट पनि सर्वसाधारण ‘सीमा पास’ बनाउन आउने गरेका उनले भने । नेपालीले फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायत सामान ताक्लाकोटमा बेच्ने गरेका छन्भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री आयात हुने गरेको छ । रासस

प्लाइउड उद्योगमा ३ सय स्थानीयलाई रोजगारी

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताए । ‘कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,’ उनले भने । स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताए । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उनले जोड दिए । सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताइन् । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उनले बताइन् । उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएको प्रति उनलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उनले बताइन् । ‘ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ,’ उनले भनिन् । उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताए । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उनले जानकारी दिए । उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब ५ लाख रुपैयाँ घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, ‘हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ, घाटामा गएको उद्योगले अहिले तत्काल मजदुरको पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्था छैन, तर परिस्थिति सुध्रिनासाथ मजदुरको सेवा सुविधा र सङ्ख्या बढाउँदै लैजाने हाम्रो सोच छ ।’ ट्रेड युनियन गठनले कर्मचारी विभाजित उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ । अहिले सञ्चालन हुँदा दैनिक पाँच लाख रुपैयाँ घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक १० लाख रुपैयाँभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उनले अनुरोध गरेका छन् । स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा नरहेका गैरमजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् । उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर सङ्घले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले सङ्घको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताए । उनले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाए । ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताए । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उनको आरोप छ । ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदुर उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् । रासस

सीप मेला आयोजना गर्दै काठमाडौं महानगर, १५ हजारलाई रोजगारमूलक तालिम दिने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरिएको जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्नेगरी कामपा सामाजिक विकास विभाग र महासङ्घबीच सम्झौता भइसकेको विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिए ।उनका अनुसार वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सीप मेला’ बाट १० क्षेत्रका ३६ पेसासम्बन्धी दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ । तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासङ्घको हुने कोइरालाले बताए । कामपाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज कामपालाई  बुझाउनुपर्ने उनको भनाइ छ । ‘मेलाले, छरिएर रहेका सीपलाई एकीकृत गर्ने र सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउने लक्ष्य पूरा गराउन मद्दत गर्नेछ’, प्रमुख कोइरालाले भने, ‘१८ वर्ष उमेर पूरा भएका ५८ वर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन पाउनेछन् ।’ उनका अनुसार १५ हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर पाँच हजारलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो । तालिममा १० क्षेत्र निर्धारण ‘अहिले तर्जुमा गरिएका तालिमका क्षेत्रमध्ये हलुका सवारीसाधन एउटा हो । यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारीसाधनमा मोटरबाइक र स्कुटर रिपेयर तालिम यसअन्तर्गत राखिएका छन्’, प्रमुख कोइरालाले भने । निर्माण क्षेत्रअन्तर्गत सिकर्मी, टाइल एण्ड मार्बल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधाअन्तर्गत चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, बेकरीसम्बन्धी, सूचना प्रविधिअन्तर्गत डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सिसीटिभी क्यामरा जडानसम्बन्धी हुने उनले जानकारी दिए । त्यस्तै, मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण, टेलरिङ, ब्यूटिसियनअन्तर्गत नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल हुनेछ । नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो भने दशौँमा ग्रीन सोलुसन, प्लास्टिक रिसाइक्लिङलगायत छन् । रासस