साझा यातायातमा सीईओका लागि दरखास्त आह्वान
काठमाडौं । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले सोमबार सूचना प्रकाशित गर्दै रिक्त रहेको सीईओको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको छ । कम्पनीका अनुसार दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ । त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको, दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म अन्ठाउन्न वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुकले ४५ दिनभित्रमा आवेदन दिन सक्ने कम्पनीको जनाएको छ ।
नेपाली सेनामा ८८ जनालाई आकर्षक रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाली सेनामा प्राविधिक अधिकृत पदका लागि नयाँ भर्ना खुला गरेको छ । नेपाली सेनाले प्राड, प्राविधिक र लेखा सेवातर्फका उपसेनानी पदमा खुला तथा समावेशी प्रतियोगिताबाट कुल ८८ जना नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो । प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल इन्जिनियर, अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा दरखास्त आह्वान गरिएको छ। यसैगरी समाचार सम्पादक/वाचक, फोटोग्राफर, अर्केस्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा पनि नयाँ भर्ना खोलिएको छ। देशभरका विभिन्न स्थानमा रहेका नेपाली सेनाको कार्यालयबाट रोजगारीका लागि आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ । इच्छुक नागरिकले पुस २१ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् । दोब्बर दस्तुर तिरी पुस प२८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।
विदेशको राम्रो जागिर छाडेर बाख्रा र माहुरीपालन, मनग्य आम्दानी
गलकोट । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् । बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थालेका थिए । पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोट मात्रै गरेनन् विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फकिएका थिए । जागिरभन्दा उद्यममा सम्भावना द्खेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । भारतमा पुगेर बजारीकरण विषयमा स्नातकोत्तर पास गरेका उनी बजारीकरण क्षेत्रबाटै मलेसियासमेत पगेका थिए । तीन वर्षको मलेसिया बसाइँ छाडेर गाउँमै कृषि गर्ने उद्देश्यले वन नेपाल फएका थिए । सात वर्षअघि मात्रै रु १० लाख लागतमा बाख्रा र मौरीपालन थालेका वन अहिले मनग्य आम्दानी गर्न सफल भएको बताउछन । धर्मराज बाख्रा फार्म र पुष्पा मौरी फार्म गरी दुई वटा नाममा फार्म सञ्चालन गर्दै आएका उनको बाख्रा फार्मममा एक सय ५० बाख्रा, बोका र पाठापाठी रहेका छन् भने ६० वटा मौरीका घार रहेका छन् । ‘बुबा भारतमै हुनुहुन्थ्यो, एसएलसी पासपछि भारत गए, उतै बजारीकरण विषयमा डिग्री हासिल गरे, उतैबाट मलेसिया पुगे’, वनले भने, ‘मासिक रु तीन लाख आम्दानी हुने जागिर मलेसियामा तीन वर्ष गरे, केही रकम जम्मा गरेर गाउँ फर्कने निधो गरे, सात वर्षअघि पुर्खाले परम्परागतरुपमा गर्दै आएको बाख्रापालन र मौरीपालनलाई व्यवसायीकरण गर्न थाले, अहिले वार्षिक रु १५ लाखसम्मको बाख्रा र मौरीबाट कारोबार गर्दछु ।’ उनले मौरीपालन र बाख्रा फार्म दर्ता गरेर दुई फार्मको मालिक बन्न सफल भएको जनाउँदै वार्षिक ६ देखि आठ लाखसम्म बचत गर्न सफल भएको बताए । पढेलेखेकाभन्दा नपढेकाले मात्रै गर्ने कृषि पेसालाई विस्तारै पढेलेखेकाले अगाल्दा बढी सफल हुने उनको भनाइ छ । उनले पढेलेखेकाले खाने सरकारी जागिरभन्दा मौरीपालन र बाख्रापालनबाट बढी रकम कमाउन थालेको र अन्य युवाले समेत उद्यममा लगानी गर्न आवश्यक रहेको बताए । ‘भारतमै ठूलो कम्पनीको मार्केटिङ जनरल म्यानेजेर थिए, मलेसिया पुगेर त मासिक रु तीन लाख कमाइ हुने जागिर खाए सात वर्षअघि तर नेपालमा नै केही गर्न पर्दछ भनेर लागी परे’, उनले भने, ‘बाख्रापालन व्यवसायभन्दा मौरीपालनबाट धेरै आम्दानी गर्न सकिने अनुभव सँगालेको छु, अहिले बाख्राबाट आफ्नो मेहनतसहित २० देखि ३० प्रतिशत र मौरीपालनबाट ६० प्रतिशत खुद नाफा गर्न सकिने रहेछ ।’ हाल पूर्वाधार, खोर, मौरीका घार र बाख्रासहित झण्डै रु ६० लाखको पुँजी जम्मा भएको उनको भनाइ छ । कमाइ भएको केही प्रतिशत पुँजी वृद्धिमा हाल्दै आएको र अन्य रकम बचत गर्ने गरेको वनले बताए । राज्यले अनुदान दिने नीति सुधार्न आवश्यक रहेको जनाउँदै वनले ५० प्रतिशत अनुदानले किसान झनै समस्यामा परेको बताए । उनले रु १० लाख लगानी गरेको खोरमा रु पाँच लाख राज्यले दिँदा आफ्नो लगानी उठाउन धेरै समय लागेको जानकारी दिँदै असली किसानलाई शतप्रतिशत अनुदान दिनुपर्ने बताए । उनले नेपाल सरकारबाट शून्य ब्याजदरमा रु १५ लाख ऋण ल्याएको जनाउँदै उक्त ऋणले आफूलाई ठूलो राहत पुगेको बताए । अहिले वनको फार्ममा यती सेरेना जातको मौरी रहेका छन् भने खरीजात, जमुनापारी, बोयर क्रसजातका बाख्रा रहेका छन् । उनले मौरीको महलाई प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएका छन् । उत्पादन भएको मौरी र बोकालाई बजारको अभाव भने नभएको उनले बताए । वनको फार्ममा बाबा, आमा, श्रीमतीले समेत सहयोग गरिरहनुभएको छ । बाख्रापालनका लागि स्थानीय घाँस एक सय रोपनीमा रहेको छ भने ३० रोपनी जग्गामा आधुनिक प्रजातिको घाँसखेती गरिएको छ । रासस