मनास्लु स्कुलले सुरु गर्यो शिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने ‘थ्रीई’ कार्यक्रम

काठमाडौं । मनास्लु स्कुलले कक्षा ११ र १२ का विद्यार्थी लक्षित गरी शिक्षा, उद्यमशीलता र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले ‘थ्रीई कार्यक्रम’ को सुरुवात गरेको छ । स्कुलको सभाकक्षमा आयोजित गरिएको थियो कार्यक्रममा एसईई दिएर बसेका ७ सय जना विद्यार्थी उपस्थित थिए । मनास्लु स्कूलका कार्यकारी अधिकृत (सीईओ) नरेशप्रसाद श्रेष्ठले कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक सीपहरू विकास गर्न विविध अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । थ्रीई पहलले विद्यार्थीहरूलाई रोजगारयोग्य मात्र नभई रोजगार सिर्जना गर्न सक्षम बनाउन लक्ष्य राखेको र यसले अर्थतन्त्रमा योगदान पुर्याउने स्कुलको विश्वास छ । कार्यक्रममा युवा स्टार्टअपहरू र आइसीटीको पनि प्रदर्शनी पनि समावेश गरिएको थियो । जसले विद्यार्थीहरूको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गर्यो । मनास्लु स्कुलको यो कार्यक्रमले माध्यमिक शिक्षालाई पुनः परिभाषित गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारी बजारका लागि आवश्यक सीपहरू प्रदान गर्ने विश्वास लिइएको छ । यस पहलले स्कुललाई उद्यमशीलता र रोजगार योग्यतामा केन्द्रित नवप्रवर्तनशील शिक्षामा अग्रणी बनाउने स्कुलको भनाइ छ ।

इजरायलमा ८ सय कामदारका लागि आवेदन खुल्यो, को-को जान पाउँछन् ?

काठमाडौं । इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले मंगलबार सूचना प्रकाशित गरी दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि ८ सय जनाको लागि आवेदन खुला गरेको हो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन लागिएको हो । विभागका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागु हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिने सूचनामा उल्लेख छ । ८ सय जना माग भएका मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेका र तीन सय जनालाई वैकल्पिकमा राखिने बताइएको छ । २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएका, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेका वा १२ कक्षा पास भएकाले आवेदन दिन सक्ने विभागले जनाएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ । यस काममा जानेको मासिक तलब ५ हजार ८ सय ८० इजरायली मुद्रा तोकिएको छ ।

क्याप्टेन थप्दै यती एयरलाइन्स, २ हजार घण्टा उडान अनुभवीले आवेदन दिन सक्ने

काठमाडौं । यती एयरलाइन्स लिमिटेडले क्याप्टेन मागेको छ । मंगलबार एक सूचना जारी गर्दै यती एयरलाइन्सले लाइन क्याप्टेन मागेको हो । एटीआर७२–५०० तथा एटीआर७२–६०० जहाजको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै एटीआर७२–५०० तथा एटीआर७२–६०० एयरक्राफ्टमा लाइन क्याप्टेनको रूपमा न्यूनतम २ हजार घण्टा उडान गरेको अनुभव हुनु पर्नेछ । इच्छुक योग्य व्यक्तिले १५ दिन अर्थात् असार २५ गतेभित्र आफ्नो व्यक्तिगत विवरण कम्पनीको इमेल [email protected] मा सीभी लगायत अन्य कागजातहरू पठाउन सक्नेछन् । सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र छनोटका लागि बोलाइने कम्पनीको भनाइ छ । थप जानकारीका लागि कम्पनीको मानव संसाधन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।