सरकारले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दै

काठमाडौं । सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ । मंगलबार सिंहदरबारस्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने जानकारी दिएको हो । सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागेको बताएको छ । सरकारले जेठ १७ र १८ कोशी प्रदेश,१९-२० मधेस प्रदेश,२१–२२ गण्डकी प्रदेशको पोखरा,२३-२४ लुम्बीनी,२५-२६ कर्णाली प्रदेशको सुर्खेत,२७-२८ सुदुरपश्चिम प्रदेशको धनगडी र २९-३० बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए । उनले मंगलबारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरू र रोजगारीको खाजीमा रहेका नेपालीहरू जाेडिन सकिने बताए । सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको उनकाे भनाइ छ । मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताए । उनले श्रमाधान रोजगार मेलामा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको बताए । श्रमाधान रोजगार मेला सरकारको सानो प्रयास मात्रै भएको उनकाे भनाइ छ ।

चेम्बरले वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरको छ । आइतबार चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गर्दै तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको हो । चेम्बरले आर्थिक शिथिलताको अविलम्व अन्त्य, नीतिगत स्थायित्व र निजी क्षेत्रलाई नीतिगत संरक्षण आदि विषयमा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ । चेम्बर निजी क्षेत्रको सबैभन्दा पुरानो र नेतृत्वदायी भुमिकामा रहेको भन्दै आगामी ३ वर्ष कार्ययोजना बनाएको अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । उनले श्रम बजारमा ५ लाख युवा प्रवेश गर्ने भएकाले वार्षिक २० प्रतिशतका दरले थप रोजगारी सिर्जना गर्न पहल गर्ने बताए । दिगो आर्थिक विकासका लागि स्थिर सरकार र नीतिगत स्थायित्वमा जोड दिने चेम्बरको कार्ययोजना रहेको बताए । कालोबजारी ऐन २०३२ मा पुराना र अव्यवहारिक कानूनहरुलाई खारेज गरी नयाँ परिवेश अनुसारको कानून निर्माणको लागि पहल गरिने जानकारी दिए । अध्यक्ष अग्रवालले आगामी ३ वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादनलाई ५६ खर्ब ५ अर्बबाट ७५ खर्ब पुर्याउने गरी औषतमा वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न समन्वयत्मक भुमिका निर्वाह गरिने बताए । पुँजी निर्माण र रोजगारी सिर्जनामा निजी क्षेत्रको हाल ८१ प्रतिशत योगदान रहेको भन्दै औद्योगिक वातावरण र रोजगारी सिर्जनामा संस्थागत पहल गरिने जानकारी दिए । अध्यक्ष अग्रवालले कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापारको १४ प्रतिशतको योगदानलाई वृद्धि गरिने बताए । आर्थिक वर्ष २०८०/०८१मा मुलुकको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमानका आधारमा आगामी ३ वर्षमा प्रतिव्यक्ति आय कम्तिमा २ हजार डलर पुर्याउने कार्ययोजनाका लागि पहल गरिने अध्यक्ष अग्रवालको भनाई छ । उनले सहकारी समस्या समाधानको लागि नीतिगत पहल गर्ने पनि बताए । पूर्वाधारका योजनालाई पाइलट प्रोजेक्टका रुपमा विकास गरी विदेशी लगानीको आकर्षणका लागि पहल गरिने बताए । चेम्बरले रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा प्रोत्साहन गर्न नीतिगत कार्ययोजना बनाउनका लागि पहल गरिने कार्ययोजना बनाएको छ ।

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै थिए । परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा छैन, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प थियो । त्यसैले ज्यालामजदुरी गरेर उनको जीविको चल्यो तर पछिल्लो तीन वर्षयता भने उनको काम बदलिएको छ । त्यसले ‘दाम’ पनि राम्रै कमाई भइरहेको छ । त्यो काम हो—ब्याण्डबाजा बजाउने । उनीमात्रै होइन सो शिविरका नौजना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्याण्डबाजा बजाएर जीविको चलाइरहेका छन् । ‘स्थानीयस्तरमा विवाह हुने तर ब्याण्डबाजा बजाउने मान्छे नपाएर टाढाटाढाबाट महङ्ग रकम तिरेर बोलाउनुपर्ने अवस्था थियो’, रानाले भने, ‘त्यो समस्या टार्न हामीले सीप सिक्यौ, पछि स्थानीय युवा मिलेर ब्याण्डबाजा बजाउने काम गरिरहेका छौँँ । त्यसबाट राम्रै आम्दानी भइरहेको छ ।’ उनका अनुसार सो समूहले एउटा विवाहमा ब्याण्डबाजा बजाएबापत २० हजारदेखि ३० हजार रुपैयाँसम्म ज्याला लिने गरेका छन् । प्रत्येक वर्ष सिजनमा औषतमा २० भन्दा बढी विवाहलगायतका समारोहमा बाजा बजाउने माग आउने गरेको छ । सोही समूहका अर्का सदस्य रामप्रवेश रानाले अहिले ब्याण्डबजा बजाएर जोहो गरेको आम्दानीले परिवारको लालनपालन र बच्चाहरूको पठनपाठनमा निकै सघाउ पुगेको बताए । केही वर्षअघि हातमा सीप भए पनि पर्याप्त बाजा नहुँदा धेरैले आफ्नो समूहलाई काम नदिने गरेकामा स्थानीय तहले बाजा खरिदका लागि सहयोग गरेपछि अहिले भने भ्याइनभ्याइँ भएको उनको भनाइ छ । ‘पहिलो थोरै बाजा हुँदा धेरै माग आउँदैनथ्यो । वडा कार्यालयले बाजा उपलव्ध गराएपछि माग पनि बढेको छ र हाम्रो आम्दानी पनि’, रानाले भने । ब्याण्डबाजा बजाउने समूहका वीरा रानाले पनि ब्याण्डबाजा बजाउन थालेपछि आफ्नो परिवारका लागि हातमुखजोर्ने समस्या टर्दै गएको बताए । वडा कार्यालयबाट बाजा पाएपछि त काम गर्न सहज हुनुका साथै माग धेरै आउन थालेकाले आम्दानी पनि बढ्न थालेको उनले बताए । ‘रानाथारु समुदायमात्रै होइन पहाडीलगायतका गीत बाजामार्फत गाउन जान्ने र बाजागाजा पनि भएकाले अहिले धेरै ठाउँबाट माग आउन थालेको छ । त्यसैले विवाहको समयमा माग धौधौ हुने गरेको छ’, वीराले भने । छङ्गा राना बाजाको व्यवस्था गरिदिन वडा कार्यालयलाई माग गरेपछि सुनुवाइ भएकामा निकै खुसी छन् । ‘बजाउने सीप भए पनि बाजा थिएनन् । त्यसैले माग पनि आउँथेन’, रानाले भने, ‘वडा कार्यालयले ५० हजार रुपैयाँमा बाजा खरिद गरिदिएपछि हामी नौजनालाई नै सहज भएको छ ।’ वडा अध्यक्ष अर्जुन साउदले मुक्तकमैया युवालाई स्वरोजगार बनाउन आवश्यक रकमको व्यवस्था मिलाई बैण्डबाजा खरिद गरिएको बताए । ‘गत वर्ष सालघारी मुक्तकमैया बस्तीका युवाका लागि वडाकै रकम खर्चेर बैण्डबाजा खरिद गर्यौंँ’, उनले भने, ‘यस वर्षको बजेटबाट बाणिका मुक्तकमैया युवाका लागि बैण्डबाजा खरिद गरेका हौँ । यसपछि बंकका युवाको मागअनुसार पञ्चेबाजा उपलब्ध गराउने योजना छ ।’ हाल बाणी मुक्तकमैया शिविरका बैण्डबाजा बजाउने युवासँग ट्रम्पट, ओवाउ, ब्रास, सहनाई, तम्बुर, ड्रम, झुनझुनालगायतका बाजा छन् । विवाहको समयमा ब्याण्डबाजा बजाउने युवाहरूले अरु बेला कपाल काट्ने, राजमिस्त्री, किराना पसल, तरकारी खेतीलगायतका काम गरी आम्दानी गर्दै आएका रामनाथ रानाले बताए । ‘विवाहको समयमा बाजा बजाएर आउने रकमले घरखर्च चल्ने गरेको छ’, उनले भने, ‘अन्य व्यवसाय गरी आएको आम्दानी बैंक, समूह र सहकारीमा बचत गर्दै आएका छौँ ।’ बैण्डबाजा बजाउने कार्य भने ति युवाले घरमै अभ्यास गरेर सिकेका हुन् । ‘सुरूमा अरुले बजाएको देखेर हामीले सिकेको थियौँ, त्यसपछि भारतीय बजारबाट बाजा खरिद गरेर घरमै अभ्यास गर्यौँ । आखिर इच्छाशक्ति भयो भने त हुँदो रहेछ नि !’, रामप्रसादले भने । धेरै युवाहरूले काम पाइएन भनेर गुनासो गरिरहेका हुन्छन् । पहिलेदेखि नै बाजा बजाने काम गर्दै आएका कतिपय समुदायका युवाहरूसमेत यो पेशाबाट पलाएन भइरहेका छन् तर यहाँका मुक्तकमैया युवाहरू भने ब्याण्डबाजा बजाएर राम्रो आम्दानी गरिरहेका छन् । यस कार्यको यहाँ निकै प्रशंसा भइरहेको छ । रासस