अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि
काठमाडौं । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो । सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ । जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले विज्ञप्ति मार्फत उल्लेख गरे । समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाए । यसै गरी बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उनले उल्लेख गरे । बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च को तुलनामा १.१ प्रतिशतले कम रहेको उनले जनाए । एबीएसको तथ्यांक अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ । बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताएका छन् ।
कुसोमको रोजगार मेला सुरु हुँदै, सहभागिताका लागि ३ गतेसम्म कम्पनी दर्ता गर्नुपर्ने
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) प्लेसमेन्ट सेलले यही साउन २४ र २५ गते रोजगार मेला गर्ने भएको छ । कुसोम जब तथा इन्टर्नसिप फेयर (केजेआईएफ) ललितपुरको बालकुमारीस्थित कुसोम परिसरमा हुनेछ । विद्यार्थी र रोजगारदातालाई एउटै मञ्चमा ल्याउन यसपालि पनि मेलालाई निरन्तरता दिन लागेको कुसोम प्लेसमेन्ट सेलले जनाएको छ । कम्पनीका अनुसार मेलाले विद्यार्थीलाई आफ्नो क्षमता र दक्ष प्रदर्शन गर्न तथा कम्पनीको प्रत्यक्ष सम्पर्कमा आउन अवसर प्रदान गर्नेछ । मेलामा कुसोमका स्नातक र स्नातकोत्तर विद्यार्थीले प्रतिष्ठित कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघा गर्ने अवसर पाउनेछन् । विद्यार्थीलाई करियरको सही सुरुवात गराउनु र कम्पनीहरुलाई प्रतिभाशाली कर्मचारी चयनमा सहयोग गर्नु मेलाको मुख्य उदेश्य रहेको छ । मेलामा सूचना प्रविधि, उत्पादन, बैंकिङ, अर्थशास्त्र लगायत विभिन्न क्षेत्रका कम्पनीको सहभागिता रहनेछ। सिप्रदी ट्रेडिङ, इन्फोडेभलपर्स, वरुण बेभरेजेस, लिपफ्रग, बिजनेस ब्रेन्ज जस्ता कम्पनी सहभागी हुने सुनिश्चित भइसकेको छ। इच्छुक कम्पनीले मेलामा सहभागिताका लागि साउन ३ गतेसम्म दर्ता गराइ सक्नुपर्ने कम्पनीले बताएको छ ।
जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन विभागको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आग्रह गरेको छ । महानिर्देशकस्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई निवेदन दिन आग्रह गरिएको हो । विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् । नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ ९दोस्रो संशोधन २०७१० को दफा १६ को उपदफा (२० तथा ९३) बमोजिम सूचीकृत हुन १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको हो । यसअघि सूचिकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ ।