सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरु गर्याे डिजिटल बीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआईएल–डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल–डिजीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले संयुक्त रुपमा एसपीआईएल–डिजी प्रणालीको शुभारम्भ गरेका हुन् । प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए । प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियासिल रहेको उनको भनाइ छ । एसपीआईएल-डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत् कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बिना बीमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् । यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

चार जलविद्युत आयोजनाका लागि साढे ३६ अर्बको लगानी स्वीकृत

काठमाडौं । सरकारले विभिन्न चार जलविद्युत आयोजनका लागि साढे ३६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार बसेको लगानी बोर्डको ५५ औं बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाइ अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनीबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ । बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

माउन्टेन इनर्जीको सीईओमा दामोदर श्रेष्ठ नियुक्त

काठमाडौं । माउन्टेन इनर्जी नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ईन्जिनियर दामोदर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, कम्पनीको सञ्चालक मनोहर दास मुलले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । साथै भदौ ७ गतेबाट लागू हुने गरी बाँकी अवधिको लागि रिक्त रहेको सञ्चालक पदमा सुनिल प्रसाद राजभण्डारीलाई नियुक्त गरेको कम्पनी सचिव सम बहादुर भट्टले जानकारी दिए ।