
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्रान्जिट’ बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान गर्ने भएको छ ।
भदौ १२ देखि दुई गन्तव्यमा उडानका लागि टिकट बुकिङ खुला गरेको हो ।
नेपाल वायु सेवा निमगले आइतबार विज्ञप्ति प्रकाशन गरेर टिकट बुकिङ खुल्ला गरेको बताएको हो ।
भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरु गरी बजार माग तथा बजार व्यवस्थापनअनुसार उडान संख्या बढाउँदै लैजाने योजना रहेको निगमले बताएको छ ।
उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौं अवतरण गर्ने छ । त्यसपछि ट्रान्जिट भई हङकङ र दिल्ली जाने यात्रु नेवानिकै ‘कनेक्टिङ’ उडानमा चढ्ने छन् ।
यात्रु सुविधाका लागि ‘चेक इन’ गर्ने बेला गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको वायु सेवा निमगले बताएको छ ।
