यी हुन् मन्त्रिपरिषद बैठकका ४ निर्णय
काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार (आज) बसेको बैठकले विभिन्न ४ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यसैगरी, निजामती सेवा १६ औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यस्तै, सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
पूर्वगृहमन्त्री सुदन गुरुङबारेको छानबिन प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त छानबिन प्रतिवेदनलाई औपचारिक रूपमा स्वीकार गर्ने निर्णय गरेको हो। यसअघि गृहमन्त्री पदमा बहाल रहँदा विभिन्न विवादमा परेपछि चौतर्फी दबाबका बीच गुरुङले आफ्नो पदबाट राजीनामा दिएका थिए । उनीमाथि लागेका आरोप र विवादका विषयमा सत्यतथ्य पत्ता लगाउन सरकारले एक विशेष छानबिन समिति गठन गरेको थियो । समितिले आफ्नो अध्ययन र छानबिन पूरा गरी प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएसँगै आजको मन्त्रिपरिषद् बैठकले त्यसलाई ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारले गर्यो नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन
काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।